म राष्ट्रपति नभएको भए कोरोनाबिरुद्धको भ्याक्सिन आउन ५ बर्ष लाग्थ्यो : ट्रम्प

म राष्ट्रपति नभएको भए कोरोनाबिरुद्धको भ्याक्सिन आउन ५ बर्ष लाग्थ्यो : ट्रम्प
युरोपनेपाली खबर २०७७ मंसीर २६, 14-12-2020


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति नभएको भए कोरोनाबिरुद्धको भ्याक्सिन आउन ५ बर्ष लाग्ने बताएका छन् । आइतबार फक्स न्यूजमा प्रशारण गरिएको एउटा अन्तरवार्तामा ट्रम्पले भने म राष्ट्रपति नभएको भए पाँचबर्षसम्म भ्याक्सिन आउने थिएन ।

शुक्रबार ट्रम्पले खाद्य तथा औषधी प्रशासनका प्रमुखलाई त्यसैदिन भ्याक्सिन स्वीकृत नगरे राजिनामा दिन चेतावनी सन्देश पठाएका थिए । आफूले भ्याक्सिन उत्पादनमा सलग्न कम्पनीहरुलाई र एफडीएलाई तीब्र गतिमा काम गर्न दवाव श्रृजना गरेका कारण भ्याक्सिन छिटो आउन सम्भव भएको उनले बताए ।

१६ बर्ष र त्यो भन्दा माथिको उमेरकाहरुलाई फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन सकिनेगरी अमेरिकन सीडीसीले औपचारिक रुपमा स्वीकृति प्रदान गरिसकेको छ । जसको अर्थ अब कोरोनाबिरुद्धको फाइजर बायोएनटेक भ्याक्सिन अमेरिकामा वितरणका लागि पूर्णरुपमा बाटो खुलेको छ ।

मिसिगनको फाइजर प्लान्टबाट कोरोनाबिरुद्धका भ्याक्सिन बोकेका ट्रकहरु गन्तब्यतर्फ प्रस्थान गरेकै दिनमा सीडीसीको यो निर्णय आएको हो । भ्याक्सिनका १ लाख ८४ हजार २ सय ७५ शीशीहरु बोकेर ट्रकहरु ५० वटै राज्यतिर प्रस्थान गरेका हुन् । त्यस्तै अन्य अमेरिकी भूभागका लागि पनि भ्याक्सिन पठाइएको छ । भ्याक्सिन सोमबार राज्यहरुमा पुग्नेछ ।

अरु ३ लाख ९० हजार शीशी सोमबार ४ सय वटा बक्समा प्याक गरेर पठाइने भएको छ । ती शीशीहरु मंगलबारसम्म राज्यहरुमा आइपुग्ने जनाइएको छ । हरेक शीशीमा पाँच डोज भ्याक्सिन रहेको फाइजरले जनाएको छ ।

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनका डोजहरु बोकेका ट्रकहरु अमेरिकाका विभिन्न ६३६ स्थानहरुमा आउनेछन् ।

फाइजरले यसैसातामात्र युपीएस र फेडेक्समार्फत २ दशमलव ९ मिलयन भ्याक्सिनका डोजहरु डेलिभर गर्ने भएको छ । अमेरिकाको सैन्य टोलीको स्कर्टिङमा भ्याक्सिनहरु पठाइएको हो । बाटोमा हुनसक्ने सम्भावित असुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

ती डोजहरु छानिएका अस्पताल प्रणालीहरुमा सोमबारसम्म आएपछि सोमबारदेखि नै भ्याक्सिन वितरण सुरु हुने अपेक्षा गरिएको छ ।

फाइजरले मिसिगन, मिजौरी र मासाचुसेट्समा रहेका प्लान्टहरुमा भ्याक्सिनका डोजहरु उत्पादन गरिरहेको छ । फाइजरका भ्याक्सिन यो शताब्दीकै सबैभन्दा खतरनाक महामारीको अन्त्यका लागि सहयोगी सावित हुने अपेक्षा गरिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले शुक्रबार राती कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको हो ।

आपतकालिन अवस्थामा एफडीएले औषधी वा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति दिनुसक्छ । सोही अनुरुप आपतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

यसैबीच अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाको भ्याक्सिन अमेरिकाले आगामी साता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

प्रयोगको स्वीकृति पाएमा मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।

अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । जुन आधाभन्दा कम जनसंख्याका लागिमात्र प्रयाप्त हुनेछ । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित