केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या धेरै देखिए पनि तल्लो तहमा त्यस्तो छैन : ओली (योहो टिभीलाई दिएको ताजा अन्तर्वार्ताको पूर्ण पाठ)

केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या धेरै देखिए पनि तल्लो तहमा त्यस्तो छैन : ओली (योहो टिभीलाई दिएको ताजा अन्तर्वार्ताको पूर्ण पाठ)
युरोपनेपाली खबर २०७७ पुष ८, 23 -12-2020


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन भएको स्वीकार गरेका छन्। बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सार्वजनिक रूपमा उनले एकीकरण सफल नभएको भन्दै दुई वटा पार्टी जति गरे पनि मिल्न नसकेको बताए।

‘प्रचण्डजी र मैले दुई वटा पार्टी एकता गरेका थियौं, दुई पार्टी मिलाएर लैजाने भनेका थियौँ, तर आज प्रचण्डजी र म मिलेनौं,’ उनले भने।

केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि तल्लो तहमा केही पनि नभएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।

‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन । मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल। हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन्,’ उनले भने।

प्रचण्ड- नेपाल समूह चुनावमा जान डराएको ओलीको आरोप थियो। ‘उहाँले ९९ मा पुगेको ठान्नु भयो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो। तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले  अन्तर्वार्तामा भनेका छन्, ‘म धेरै बहस गर्न चाहन्नँ उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन? यति आत्तिनु भएको किन? चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो? जनतासँग यस्तो त्रास किन? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ।’

उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा अझै पनि रहेको भन्दै प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने बताए।

पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने र नसक्ने उनले बताए।

‘उहाँ (प्रचण्ड) ले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला। मैले पनि आफ्नो पार्टी लिएर जाने हो। हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होलान्। तर विभाजन भएको माधव नेपाल र झलनाथसँग होइन।  प्रचण्डजीसँग हो’, उनले भने ।

उनले प्रचण्डले पार्टी कार्यालयमा आफ्नो दाबी नगर्ने स्पष्ट पारे। ‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ। पेरिसडाँडाको सम्पत्तिमा म हकदावी गर्दिनँ,’ उनले भने।

प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपाललेसमेत दाबी गर्न नमिल्ने उनले तर्क गरे। 'उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ नि त। प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्‍यो नि’, ओलीले भने।

कांग्रेस नेता रामचन्द्र पौडेललाई सभापति बन्न ओलीको सुझाव :

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई सभापति हुन सुझाएका छन्। 

बुधबार साँझ एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले पछिल्लो समय पौडेल आफ्नो निर्वाचन क्षेत्रमा पनि कमजोर भएको भन्दै सभापति बनेर चुनाव जित्न सुझाएका हुन्।

काँग्रेसका नेता रामचन्द्र पौडेल आफै चुनाव हार्ने अवस्थामा रहेकाले मात्रै उनले सरकारको निर्णयको विरोध गरेको उनले दावी गरे।

‘पौडेलले निर्वाचनमा उठे हार्ने निश्चित भएकाले अहिले उनी कांग्रेसको सभापति हुन खोजिरहेका छन्’, उनले भने,‘सभापति भएर देखाउनुहोस्।

उनले काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय भएको पनि बताए। ‘काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय हो । नेकपा विभाजित जस्तो अवस्थामा छ । यो अवस्थामा लाभ लिन सकिन्छ भन्ने दृष्टिकोण काँग्रेसमा छ,’ ओलीले भने।

उनले निर्वाचन आयोगसहितका सरोकारवाला निकायले आवश्यक तयारी थालिसकेको भन्दै अदालतमा परेको मुद्दाको टुंगो लागेपछि थप स्पष्ट हुने बताए।

प्रचण्डले मलाई निकाल्नु भनेको भाडामा बस्नेले घरबेटीलाई निकालेको जस्तै हो :

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको बताएका छन्।

बुधबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले  प्रचण्डभन्दा अगाडिदेखि नै आफू राजनीतिमा लागेको भन्दै अहिले उनले कारवाही गर्न नमिल्ने बताएका छन्। ‘प्रचण्डले पार्टीमा मलाई कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएन र?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन्।

उनले आफूले कम्युनिस्ट आन्दोलनमा गरेको त्याग र तपस्याले यो हैसियतमा पुगेको बताए।

ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे।  बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो। ‘तपाईंलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्काशन गर्ने ? चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन। प्रचण्डभन्दा कम्तिमा एक दशक अगाडि राजनीतिमा लागेका हुँ । एकदशक अगाडि पार्टी सदस्यता लिएको होला’, ओलीले भने।

ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आचरणमाथिसमेत टिप्पणी गरेका छन् ।

अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डले मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने गरेको आरोपसमेत लगाए।

उनले प्रचण्डको यो पहिलेदेखिकै स्वभाव भएको भनेका छन्।

ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका हुन्।

ओलीले भने, ‘विभाजन भएको प्रचण्डजी र मेरो हो। पेरिसडाँडामा मेरो हकदाबी छैन। बल्खु र पेरिसडाँडाको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ। मैले प्रचण्डजीसँग विभाजन गरेको हो। नेपाल, झलनाथ वा नारायणकाजीसँग विभाजन गरेको हैन।’

यसअघि नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेकपाले राजधानीमा एक भेला गरेर केपी ओलीलाई अध्यक्षबाट निस्कासित गरिसकेको छ।

ओलीले बैठकमा नआएपछि र विभिन्न समयमा दिएका अभिव्यक्ति गलत देखिएपछि आफूले प्रवक्ता फेरेको खुलासा गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फेर्न बाध्य भएको बताएका छन् ।

यसअघि सोमबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गर्ने निर्णय गर्दै प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको थियो ।

ओलीले प्रचण्ड बैठकमा नआउनुको कारण आफूलाई थाहा नभएको बताएका छन्। अहिले नेकपामा विवाद गरेर प्रचण्ड नेपालसमूहले ठिक नगरेको ओलीले बताएका हुन् ।

‘हिजो त उहाँहरु सोफामा बस्ने कुरामा पनि इस्यू निकाल्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हिजो बालुवाटारमा मिटिङमा त म अपरेसन गरेर फर्किएपछि पनि सहज सोफामा बस्न दिइएको थिएन नि।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनावमा जाने निर्णय गरिसकेकाले देश अब चुनावमा होमिएको बताएका छन् ।

उनले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले निर्वाचनमा जाने घोषणा गरेपछि देश निर्वाचनमा गएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बेलायतको उदाहरण दिँदै आफूले गरेको काम पनि ठिक भएको बताएका छन्। उनले अब देशमा चुनाव हुने निश्चित भइसकेको बताए।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा छापेपछि आफूमाथि घेराबन्दी गरिएको बताएका छन्।

उनले भारतले मिचेको नेपालको भूमी समेटेर आफूले नक्सा छापेपछि आफूमाथि प्रहार भएको बताएका हुन् ।

आफ्नै पार्टीका नेताहरुले पनि यो कदमपछि आफूलाई समस्यामा पारेको बताउँदै उनले आफ्नो पहिलो कार्यकालमा पनि चीनसँग नजिक भएपछि घेराबन्दी गरिएको स्मरण गरे।

प्रदेश र स्थानीय तहमा चलखेल गरे थप कदम चाल्छु : 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी दिएका छन्। बुधबार साँझ योहो टिभीलाई एक अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

सत्तारूढ दल नेकपाको केन्द्रमा देखिएको विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले यस्तो बताएका हुन्।

ओलीले प्रदेश र स्थानीय तहमा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्ने समेत चेतावनी दिए।

‘अविश्वासका नाममा विभाजन गर्ने र एकल पार्टीको बहुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बार्गेनिङ तथा तमासामा फस्ने अवस्था आउनुहुन्न। यहीँ भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’ ओलीले भने।

केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अलग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ ।

ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्थामा छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित