यसरी कार्यभार सम्हाल्दैछन् राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले

 यसरी कार्यभार सम्हाल्दैछन् राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले
२०७७ माघ ७ बुधबार, 20-01-2021


❒ जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने, क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण कार्यक्रम

❒ जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिने, कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिने

❒ चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुती,  बाइडेनले २१ तोपको सलामी प्राप्त गर्ने

❒ राती साढे ८ बजे ९० मिनेटको विशेष उत्सवको आयोजना, जो बाइडेन र कमला ह्यारिसको मन्तव्यको साथमा विभिन्न प्रस्तुतीहरु

आज जनवरी २० नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि विशेष समारोहको आयोजना गरिएको छ ।

वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण कार्यक्रम राखिएको छ । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन् ।

विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने जनाइएको छ । तर सपथग्रहण समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा झण्डै २ लाख झण्डाहरु फहराइने भएको छ ।

सपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउनेछ । राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिने कार्यक्रम रहेको छ । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिनेछिन् ।

सपथग्रहणमा जो बाइडेनले भन्नेछन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहणमा कमला ह्यारिसले भन्नेछिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहण समारोहमा पदावधी सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स उपस्थीत हुने भएका छन् । साथै पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बराक ओबामा पनि उपस्थीत हुनेछन् । यात्रा गर्न नसकेका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सपथग्रहण समारोहमा उपस्थीत नहुने भएका छन् ।

सपथग्रहण समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुती रहनेछ । लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् भने जेनिफर लोपेजले सांगितिक प्रस्तुतीकै क्रममा गाउनेछिन् । सपथग्रहणको दिनमा जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक लगायतको प्रस्तुती रहनेछ ।

सपथग्रहणपछि बाइडेनले २१ तोपको सलामी प्राप्त गर्नेछन् । त्यसपछि उनले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बाइडेन र ह्यारिसले उनीहरुका दम्पत्तिसहित संसद भवनको पूर्वतिरको अग्रभागमा सेनाको विशेष परेड अवलोकन गर्नेछन् । परम्परागत रुपमा यो परेड भन्दा अगाडि नयाँ राष्ट्रपतिले पूर्व राष्ट्रपतिलाई सेनाको हेलिकोप्टरसम्म बिदाई गर्ने परम्परा रहेको छ । तर यसपटक डोनाल्ड ट्रम्पले सपथग्रहणमा समारोहमा उपस्थीत नभई त्यो अगाडि नै ह्वाइट हाउस छाड्ने भएका छन् ।

संसदभवनको पूर्वी अग्रभागको परेड अवलोकनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति ह्यारिस लगायत आर्लिंगटनमा रहेको नेशनल सिमेट्रीमा जानेछन् । त्यहाँ उनीहरुले अज्ञात सिपाहीहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पूर्व अमेरिकी राष्ट्रपतिहरु क्लीन्टन, बुस र ओबामा पनि त्यहाँ जानेछन् ।

त्यसपछि राष्ट्रपतिलाई १५ स्ट्रीटबाट ह्वाइटहाउससम्म विशेष इस्कर्टिंगका साथ लगिनेछ । त्यहाँ अमेरिकी सेनाका हरेक शाखाको सहभागिता रहने छ । यसरी ह्वाइटहाउस प्रवेश गर्दैगर्दा अमेरिकाभर विशेष भर्चुअल परेडको आयोजना गरिएको छ ।

राती साढे ८ बजे ९० मिनेटको विशेष उत्सवको आयोजना गरिएको छ । यो कार्यक्रममा जो बाइडेन र कमला ह्यारिसको मन्तव्यको साथमा विभिन्न प्रस्तुतीहरु समेत रहनेछन् । कार्यक्रम अमेरिकाका मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित