राष्ट्रियसभा निर्वाचन : देवकोटालाई कलम, थापालाई सूर्य

राष्ट्रियसभा निर्वाचन : देवकोटालाई कलम, थापालाई सूर्य
युरोपनेपाली खबर २०७८ बैशाख २९ बुधबार, 12-05-2021


राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ । देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ ।

‘हामीले अन्तिम नामावलीसमेत प्रकाश गरेका छौं ’, सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले भने । उनका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘चुनाव चिन्ह प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेका छौं ।’, पौडेलले काठमाडौंबाटै मतपत्र छापिएर आउने बताए ।

पौडेलले हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् । उपनिर्वाचनमा प्रदेशसभाका एक सय १० र स्थानीय तहका २३८ गरी कुल ३४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित