के हो अक्सिमिटर ? किन प्रयोग गर्ने र कति पर्छ मूल्य ?

के हो अक्सिमिटर ?  किन प्रयोग गर्ने र कति पर्छ मूल्य ?
युरोपनेपाली खबर २०७८ जेठ १ शनिबार, 15-05-2021


कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी अक्सिजनको मात्रा घटेको रहेछ ।

दोस्रो भेरियन्टको कोरोना भाइरसको महामारी बढिरहेको छ । अहिलेको स्वास्थ्य प्रणालीले अस्पतालमा बिरामी राख्न सक्ने अवस्था नरहेको भनेर सरकारले हात उठाइसकेको अवस्थामा घरमै आइसोलेसनमा बस्दा आफ्नो शरीरमा अक्सिजनको मात्रा कसरी परीक्षण गर्ने त ?

डा. पुनका अनुसार मानव शरीरमा अक्सिजनको तह घट्दै गएको अवस्थामा फोक्सोमा निमोनियाको असर बढ्दै गएको हुन्छ । जतिबेला मान्छेले आफ्नो शरीरमा अक्सिजनको मात्रा घटेको महसुस गर्छ, त्योबेलासम्म उसमा जोखिमको मात्रा बढ्दै गएको हुन्छ । त्यसैले त्यही अक्सिजनको मात्रा शरीरमा कम भएको महसुस गर्नुभन्दा पहिले नै त्यसको मात्रा पत्ता लगाउने प्रविधि हो, अक्सिमिटर ।

अक्सिमिटरले लक्षण नदेखिएका बिरामीको रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्ने काम गर्छ । यही अक्सिमेटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ ।

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

डा. पुन कोरोनाको सम्भावना देखेर क्वारेन्टिनमा बसेका र आइसोलेसनमा बसेकाले समेत सम्भव भएसम्म अक्सिमिटरको प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

अहिले कोरोना भाइरसको महामारी बढिरहेको बेलामा अक्सिजनको अभावले धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढिरहेको बेला शुरुमा नै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुने उनी बताउँछन् ।

यो प्रविधिमार्फत् गरिने परीक्षणले हृदय र फोक्सोको कार्यलाई कुनै असर परेनपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिन्छ ।

यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो । यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ ।

आज प्रायःजसो प्रयोग हुने अक्सिमेटरहरूलाई पल्स अक्सिमिटरहरू भनिन्छ । यसले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्छ ।

पल्स अक्सिमिटरका फाइदा

बजारमा थरीथरीका पल्स अक्सिमिटर पाइन्छ । यसका आफ्नै छुट्टै विशेषता हुन्छन् । तर यसको फाइदा भने समान खालको हुन्छ ।

सबैभन्दा मुख्य फाइदा भनेको त फोक्सोमा निमोनियाको मात्रा आकाशिनुपूर्व नै यो प्रविधिको प्रयोगले हामीलाई सचेत गराउन मद्दत गर्र्छ । पल्स अक्सिमिटरले शरीरको स्वास्थ्य परीक्षणमा निम्न फाइदा गर्छ ।

समयको साथमा अक्सिजनको मात्राबारे निरीक्षण गर्न

विशेषगरी नवजात शिशुहरूमा अक्सिजनको कमीका कारण खतरनाक स्थितिबारे सूचना दिन

दीर्घकालीन श्वासप्रश्वास वा हृदयसम्बन्धी समस्या भएका मानिसहरूको मानसिक स्थितिको विश्लेषण गर्न ।

पूरक अक्सिजनको लागि आवश्यकता मूल्यांकन गर्न ।

बजारमा ६ सयदेखि पाँच हजारसम्मको अक्सिमिटर

अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरी भेगमा निषेधाज्ञा जारी गरिएको छ । अतः अक्सिमिटर अनलाइन सपिङबाट खरिद गर्न सकिन्छ । जुन कम्पनी अनुसार ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको मूल्य तोकिएको छ ।

अनलाइन सपिङ कम्पनी सस्तो डिलले बजारमा ६०० रूपैयाँमा नै अक्सिमिटर बेच्ने गरेको छ । कम्पनीले तयार पारेको मूल्यसूची अनुसार डिजिटल फिंगर पल्स अक्सिमिटरलाई ५९९ रुपैयाँ तोकेको छ ।

त्यस्तै, अर्को अनलाइन सपिङ कम्पनी दराजले रगतमा अक्सिजनको मात्रा परीक्षण गर्ने अक्सिमिटरको १४ सयदेखि ५ हजार मूल्यसम्मको अक्सिमिटर बजारमा ल्याएको छ । दराजले एनयूडीजीई एलके–८८ पोर्टेबल फिंगरटिप पल्स अक्सिमिटरको हालको बजार मूल्य १ हजार ४९९ तोकेको छ ।

त्यस्तै, स्वीस डिजाइन रोसम्याक्स अक्सिमिटरलाई ४ हजार ९९९ मूल्य तोकिएको छ । त्योभन्दा सस्तो रोसम्याक्स फिंगरटिप पल्स अक्सिमिटर एसबी १०० को बजार मूल्य ४ हजार ८५० रूपैयाँ तोकिएको छ । चिकित्सकहरु जुनसुकै मूल्यको किनेपनि सकेसम्म नियमित आफ्नो शरीरमा अक्सिजनको मात्रा परीक्षण गरिरहनुपर्ने बताउँछन् ।

जानकारहरुका अनुसार घरेलु प्रयोगको लागि खरिद गरिने अक्सिमिटर र अस्पतालमा चिकित्सकहरुले प्रयोग गर्ने अक्सिमिटरको गुणस्तर भिन्न हुन्छ । तर कोरोनाका कारण शरीरमा अक्सिजनको मात्रा परीक्षण गर्नको लागि भने धेरै गुणस्तरको अक्सिमिटर आवश्यक हुँदैन । घरमा आफैंले प्रयोग गर्ने अक्सिमिटरले केवल पल्स अक्सिजन र हृदयको गति मापन गर्छ । जबकि अस्पतालमा प्रयोग गरिने भिन्न खालको यो प्रविधिमा भने यसको रिपोर्ट प्रिन्ट हुने खालको प्रविधि हन्छ । यद्यपि केही पल्स अक्सिमिटर सहायक उपकरणहरू अहिले स्मार्टफोनमा पनि जोड्ने गरिएको पाइन्छ ।

के हो अक्सिजनको लेभल ?

रगतमा अक्सिजनको मात्रालाई पर्सेन्टेजको आधारमा नाप्ने गरिन्छ । शरीरमा रातो रक्त समूहको आधारमा शरीरमा अक्सिजन स्याचुरेसनलाई पर्सेन्टेजमा बताउने गरिन्छ । उदाहरणको लागि यदि कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत देखाएको छ भने रगतमा अक्सिजनको मात्रा केवल ४ प्रतिशतको कमी छ ।

कति हुन्छ स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ?

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

कसरी गर्ने अक्सिजनको लेभल परीक्षण ?

अक्सिजनको लेभल परीक्षणको लागि उपयुक्त विधि भनेको अक्सिमिटरको प्रविधि उपयुक्त हुन्छ । यसको बीचमा औंला राख्दा यसभित्र एक किसिमको बत्ती बलेको देखिन्छ । यसले रक्तकोषको रंग र त्यसको हलचललाई ‘डिटेक्ट’ गर्ने गर्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित