एक अर्ब ५३ करोडले लगाए अहिलेसम्म भ्याक्सिन, तर विपन्न देश अझै प्रतिक्षामा

एक अर्ब ५३ करोडले लगाए अहिलेसम्म भ्याक्सिन, तर विपन्न देश अझै प्रतिक्षामा
युरोपनेपाली खबर २०७८ जेठ ९ आइतबार, 23-05-2021

कोरोना भाइरस महामारीबाट सुरक्षित रहने एक मात्र उपाय नै यसविरुद्ध भ्याक्सिन (खोप) लगाउनु हो । जति धेरैले खोप लगाउँछन्, त्यति नै कोरोना भाइरसमाथि जित प्राप्त हुन्छ । अहिले विश्वभरि कोरोनाको दोस्रो लहर फैलिरहेको छ । खोेप अभियान पनि सँगसँगै चलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका एक सय ७६ देशमा मात्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन पुगेको छ । तर, विश्वका सबै देशमा भ्याक्सिन नपुग्नु दुर्भाग्य पनि हो ।

आर्थिक रूपमा कमजोर देशहरू अझै पनि भ्याक्सिनबाट वञ्चित छन् । भ्याक्सिन पुगेका देशमा पनि चाहिने मात्रामा आपूर्ति हुन सकेको छैन । बेलायत, दक्षिण अफ्रिका र ब्राजिल, भारतमा देखिएका भाइरसका नयाँ भेरियन्टविरुद्ध भ्याक्सिन प्रभावकारी हुने नहुने अन्योल छ । तर, डब्लुएचओले भने नयाँ भेरियन्टविरुद्ध लड्न भ्याक्सिन अनिवार्य गरेकोे छ । 

डब्लुएचओले भ्याक्सिन उत्पादन गरिरहेका कम्पनीहरूलाई बढीभन्दा बढी उत्पादन गर्न भनेको छ । सोहीअनुसार भ्याक्सिन तीव ग्रतिमा उत्पादन पनि भइरहेको छ । कोभिड–१९ डाटा एक्सप्लोरअनुसार अहिलेसम्म विश्वभरि एक अर्ब ५३ करोड मानिसले भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् । जनसंख्याकै आधारमा धेरै जनघनत्व भएको एसियामा ७० करोड ७० लाख भन्दा बढीले भ्याक्सिन लगाइसकेका छन् । यसैगरी उत्तर अमेरिकामा २ करोड ६० लाख र युरोपमा २१ करोड भन्दा बढीले भ्याक्सिन लगाइसकेका छन् । 

विश्वको धेरै जनसंख्या भएको चीनमा ४३ करोड ५० लाख भ्याक्सिनको पहुँचमा आइसकेका छन् । चीनपछि भारतमा एक सय ८ करोड ५१ लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन् । 

भारतको अवस्थाबाट विश्व नै चिन्तित 

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट विश्व नै चिन्तित बनेको छ । नयाँ भेरियन्टमाथि नियन्त्रण लिन नसक्दा गत महिना भारतमा तीन सातासम्म लगातार दैनिक साढे दुई लाखदेखि चार लाखसम्म संक्रमित थपिए । यहाँ कोरोनाको दोस्रो लहर यति भयावह बन्यो कि संक्रमितसँगै कोरोनाबाट निधन हुने संख्या पनि ह्वात्तै बढ्यो ।

भारतको अवस्था देखेर डब्लुएचओले कोरोनाको दोस्रो लहरबाट सुरक्षित रहन यसविरुद्धको भ्याक्सिन अनिवार्य लगाउन आग्रह ग¥यो । डब्लुएचओले भारत सरकारलाई खोप अभियान तत्काल तीव्र गतिमा चलाउन निर्देशन नै दिएको छ । भारतको जस्तो अवस्था सामना गर्न नपरोस् भनेर विकसित देशहरूले खोप कार्यक्रम तीव्र बनाएका छन् । पछिल्लो एक महिनामा विकसित देशहरूले भ्याक्सिन उत्पादन मात्र नभएर प्रयोगमा समेत वृद्धि गरेका छन् । उनीहरूले अविकसित देशहरूमा समेत भ्याक्सिन पठाउन थालेका छन् । 

भ्याक्सिन वितरणको नेतृत्व गर्ने अमेरिकाको प्रतिबद्धता 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने बताएका छन् । राष्ट्रपति बाइडेनले कोरोनामाथि जित निकाल्ने एक मात्र विकल्प भ्याक्सिन भएको र जबसम्म सबैको पहुचमा भ्याक्सिन पुग्दैन तबसम्म महामारी अन्त्य नहुने प्रस्टाएका छन् । यसकारण अविकसित राष्ट्रहरूलाई अमेरिकाले आठ करोड डोज खोप अनुदान दिने उनले घोषणा गरेका छन् । 

राष्ट्रपति बाइडेनले घुमारो रूपमा मानिसको ज्यान रक्षा गर्ने भ्याक्सिनमा व्यापार गर्न नहुने बताएका छन् । अहिले विश्वमा चीन र रसियाद्वारा उत्पादिन भ्याक्सिन बढी प्रयोगमा छन् । उनीहरूले सामाजिक कार्यभन्दा व्यापार गरेको आरोप बाइडेनको छ ।

विवादित बन्यो एस्ट्राजेनेका भ्याक्सिन

अहिले विश्वभर अमेरिका, चीन, रसिया, जर्मनी तथा भारतद्वारा उत्पादित भ्याक्सिन प्रयोगमा छन् । त्यसमध्ये पनि अक्सफोर्डले उत्पादन गरेको एस्ट्राजेनेका भ्याक्सिन युरोपमा धेरैले लगाएका छन् । तर, एस्ट्राजेनेका भ्याक्सिन लगाएपछि शरीरमा समस्या आउने रिपोर्ट भएपछि विवादमा परेको थियो । 

डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरियाले केही समयका लागि भ्याक्सिनमाथि रोक लगाए । एस्ट्राजेनेका भ्याक्सिन लगाएकाहरूको रक्तनलीमा रगत जम्ने (ब्लड क्लटिंग) समस्या देखिएको थियो । ‘ब्लड क्लटिंग’का कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा अवरोध आउनाले हृदय, मस्तिष्कलगायतका अंगमा आवश्यक मात्रामा रगत पुग्न पाउँदैन । 

पछि डब्लुएचओको विशेषज्ञ टोलीले एस्ट्राजेनेका खोप अनुसन्धान नै गरेको थियो । अनुसन्धानबाट भ्याक्सिनमा कुनै खराबी नभएको पुष्टि गर्दै पुनः खोप लगाउने अनुमति दियो । त्यसपछि मात्र युरोपलगायत अन्य देशहरूमा एस्ट्राजेनेका सञ्चालनमा आएको हो । 

हरेक दिन २ करोड ५० लाखले लगाउँछन् भ्याक्सिन

कोभिड–१९ डाटा एक्सप्लोरअनुसार २ डिसेम्बर २०२० देखि कोरोनाविरुद्धको खोप अनुमति दिइयो । विवाद र लामो परीक्षणबीच डब्लुएचओले विभिन्न कम्पनीका खोपलाई अनुमति प्रदान गरेको हो । एक सय ७६ देशमा भ्याक्सिनको पहुँचमा छ । प्रतिदिन विश्वभर २ करोड ५० लाखले खोप लगाइरहेका छन् । सुरुवाती चरणमा यो त्यति प्रभावकारी बन्न सकेन । अनुमति पाएको एक महिनाभित्र विश्वभरि केवल ४४ लाख ८१ हजार एक सय सातजनाले मात्रै पहिलो डोज खोप लगाएका थिए । १९ मेसम्म विश्वको जनसंख्याको ९.२ प्रतिशतले पहिलो तथा ४.७ प्रतिशतले दुवै डोज भ्याक्सिन लगाएका छन् ।

यी हुन् धेरै लगाइएका भ्याक्सिन

स्पुतनिक भी

गत ११ अगस्टमा रसियाले स्पुतनिक भी नामको खोप निर्माण ग¥यो । यो भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत रहेको रसियाको दाबी छ । पहिलोपटक यो भ्याक्सिन प्रयोग गरेको २१ दिनपछि दोस्रोपटक लगाउनुपर्छ । यो भ्याक्सिन विश्वभर प्रयोग गर्न सकिने दाबी रसियाको छ । यो भ्याक्सिनले मानव शरीरमा बलियो एन्टिबडी र सेलुलर इम्युन रेस्पोन्स दिने क्षमता राख्छ । 

फाइजर

फाइजर र बायोन्टेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित छ । ६ देशमा विभिन्न चरणको परीक्षणपछि मात्र फाइजरलाई अनुमति दिइएको हो । भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ । यसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ । यो भ्याक्सिन तीन साताको फरकमा दुईपटक लगाउनुपर्छ । 

मोडर्ना

अमेरिकी कम्पनीले बनाएको मोडर्ना भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत रहेको छ । बायोएन्डटेक कम्पनीले विकास गरेको फाइजर भ्याक्सिनले शरीरभित्र मानव कोषिकामा रहेका भाइरसको जिनेटिक मटेरियल्सको स–साना कणलाई प्रभाव पार्छ । शरीरमा यसले भाइरल प्रोटिनको उत्पादन गर्ने भएकाले कोरोना भाइरसको नक्कल गरेर इम्युन सिस्टमलाई भाइरस पहिचान गर्न सहयोग पुर्‍याउँछ ।

अक्सफोर्ड

बेलायतको विश्वविद्यालय युनिभर्सिटी अफ अक्सफोर्डले तयार पारेको भ्याक्सिनको नाम नै अक्सफोर्ड हो । अक्सफोर्ड भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्छ । 

कोभिसिल्ड

भारतले निर्माण गरेको कोरोनाविरुद्धको खोप कोभिसिल्ड हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले यो खोप उत्पादन गरेको हो । गत ४ जुनमा भारत सरकारले यो भ्याक्सिनलाई अनुमति दिएको थियो । भारतमै विभिन्न चरणमा यसको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा यसको प्रभावकारिता ७०–९० प्रतिशत देखिएको छ । आइसिएमआर र बायोटेक कम्पनीले तेस्रो चरणमा कोभिसिल्ड १८–९८ वर्ष उमेर समूहमा परीक्षण गरेका थिए । यो भ्याक्सिन दुईपटक लगाउनुपर्छ । पहिलो र दोस्रो खोपबीचको ग्याप तीन महिना हुनुपर्ने जनाइएको छ ।

कोभ्याक्सिन

भारतको बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास भएको भ्याक्सिनको नाम कोभ्याक्सिन हो । यो कम्पनी २४ वर्ष पुरानो हो । कम्पनीले सुरुमा चार करोड डोज खोप उत्पादन गरेको थियो । चार साताभित्र यो खोप दुईपटक लिनुपर्छ । भारत सरकारले कोभ्याक्सिन विभिन्न चरणमा परीक्षण भइरहेको अवस्थामै आपत्कालीन रूपमा अनुमति प्रदान गरेको हो । कम्पनीले यसको प्रभावकारिता ८० प्रतिशत रहेको जनाएको छ ।

सिनोभ्याक

चीनको बेइजिङमा रहेको चर्चित औषधि निर्माता सिनोभ्याक कम्पनीले तयार पारेको खोपको नाम सिनोभ्याक हो । सिनोभ्याकले रोगप्रति कुनै गम्भीर प्रतिक्रिया उत्पन्न नहुने गरी मृत भाइरल कणहरूको मद्दतले मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउने गर्छ । यसको प्रभावकारिता ८०–९० प्रतिशत रहेको छ । 

भेरोसेल 

बेइजिङ बायोलोजिक प्रोडक्ट इन्स्टिच्युटले बनाएको भ्याक्सिन भेरोसेल हो । भेरोसेल पनि अन्य खोपजस्तै दुई डोज लगाउनुपर्छ । भेरोसेल विभिन्न चरणको परीक्षणपछि मात्र अनुमति पाएको हो । तेस्रो चरणको ट्रायलमा यसको प्रभावकारिता ८६ प्रतिशत देखिएको थियो । तर, कम्पनी सिनोफार्मले समग्रमा भेरोसेलको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको जनाएको छ । 

 एजेन्सीहरूको सहयोगमा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: [email protected]
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित