युरो कप : आज पोर्चुगल-हंगेरी, फ्रान्स र जर्मनीबीच भिडन्त, रोनाल्डोले बनाउन सक्नेछन् यी रेकर्ड

युरो कप : आज पोर्चुगल-हंगेरी, फ्रान्स र जर्मनीबीच भिडन्त, रोनाल्डोले बनाउन सक्नेछन् यी रेकर्ड
युरोपनेपाली खबर २०७८ असार १ मंगलबार 15-06-2021


युरो २०२० अन्तर्गत आज पहिलो चरणका खेल सकिँदैछन्। आज समूह 'एफ' का दुई खेल हुँदैछन्। 

राति ९:४५ बजे साविक विजेता पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ। खेलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो लक्ष्य युरो कप जित्ने भएको बताएका छन्। 

पोर्चुगलले युरोका लागि राम्रो तयारी गरेको बताउँदै रोनाल्डोले पहिलो खेल जित्नु महत्वपूर्ण हुने बताए।

पोर्चुगल र हंगेरीबीच अहिलेसम्म १३ खेल भएका छन्। जसमा पोर्चुगल अपराजित छ। १३ मध्ये पोर्चुगलले ९ जित निकाल्दा ४ खेल बराबरीमा सकिएका छन्। 

हंगेरीले १० भन्दा बढी खेलमा प्रतिस्पर्धा गरेका प्रतिद्वन्द्वी मध्ये पोर्चुगललाई मात्र पराजित गर्न सकेको छैन।

आजको दोस्रो खेलमा बलिया प्रतिस्पर्धी फ्रान्स र जर्मनीबीच खेल हुँदैछ। जर्मनीको म्युनिखमा हुने खेल राति १२:४५ बजे सुरू हुनेछ।

दुई पूर्व विश्व विजेताबीच हुने खेल समूह चरणको बहुप्रतिक्षित खेल हो।

फ्रान्सको टिममा करिम बेन्जिमा फर्किएका छन्। बेन्जिमासँगै एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पे टिममा हुँदा फ्रेन्च टिममा सकारात्मक प्रभाव पर्नेछ। 

फ्रान्सविरुद्धको खेलअघि जर्मनीका प्रशिक्षक जोचिम लोले दुवै टिमसँग उत्कृष्ट अंग्रपक्ति भएकाले प्रत्येक सेकेन्ड खेलमा केन्द्रीत हुनु पर्ने बताएका छन्। 

जर्मनीविरुद्ध खेलका पछिल्ला पाँच खेलमा फ्रान्स अपराजित छ। पाँच मध्ये फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएका छन्।

हंगेरीविरुद्धको खेलमा रोनाल्डोले बनाउन सक्नेछन् यी रेकर्ड 

युरो २०२० अन्तर्गत मंगलबार पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ। राति ९:४५ बजे हुने खेलमा हंगेरीविरुद्ध मैदान उत्रिएसँगै पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाउनेछन्।

उनी पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडी बन्नेछन्। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्।

चार संस्करणको युरो कप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।

हंगेरीविरुद्ध गोल गरे उनले अर्को रेकर्ड बनाउनेछन्। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन्। उनले चार युरो कपमा उनले ९ गोल गरेका छन्। रोनाल्डोले यसअघि फ्रान्सका प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान बराबरी गरेका थिए।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए। 

यस्तै रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरो कपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। 

रोनाल्डोको नाममा युरो कपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि छ। उनले चार संस्करणमा २१ खेल खेलिसकेका छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित