एमाले वरिष्ठ नेत खनाल उपचारका लागि एपोलोमा

एमाले वरिष्ठ नेत खनाल उपचारका लागि एपोलोमा
युरोपनेपाली खबर २०७८ असार २ बुधबार, 16-06-2021

           पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली लगिएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उनको उपचार हुने नर्भिक अस्पतालले जनाएको छ ।


बुधबार दिउँसो साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो ।


दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार भइरहेको थियो ।


उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।


उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


हेमोग्लोबिनको मात्रा घटेपछि नेता खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको र शरीर शिथिल र उनी कामिरहेको देखिएको नर्भिक अस्पतालले उल्लेख गरेको छ ।


चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।

                                                                                                    प्रेस वक्तव्य !!!

आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु, 

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु । 

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । 

हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु । 

धन्यवाद !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित