युरोकपमा आज अर्को हेभिवेट भिडन्त: पोर्चुगल भर्सेस जर्मनी

युरोकपमा आज अर्को हेभिवेट भिडन्त:  पोर्चुगल भर्सेस जर्मनी
युरोपनेपाली खबर २०७८ असार ५ शनिबार, 19-06-2021


युरोकप २०२० मा समूह एफ ग्रुप अफ डेथको रुपमा छ । जहाँ तीन पूर्व च्याम्पियन छन् । त्यसैले यो समूहको हरेक खेल उत्तिकै प्रतिक्षित र महत्वपूर्ण बनेको छ ।

त्यही समूह डी अन्तर्गत आज पोर्चुगल र जर्मनीबीच खेल हुँदैछ । खेल जर्मनीको घरेलु मैदान म्युनिखमा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

हंगेरीसँगको खेलमा ८४ मिनेटसम्म गोल गर्न नसकेको पोर्चुगलले त्यसपछि ३ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जर्मनी भने आफैंले गरेको गोलमा पराजित बनेको थियो ।

जर्मनीविरुद्ध जित हात पारे पोर्चुगल नकआउट चरणमा पुग्नेछ । तर जर्मनीलाई भने प्रतियोगितामा अघि बढ्न जितको आवश्यकता छ । स्पेनसँग सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी पोर्चुगलसँग पराजित भएमा लगातार दोस्रो पटक ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ ।

सन् २०१८ को विश्वकपमा साविक विजेताको रुपमा रहेको जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनीलाई घरेलु मैदानको केही फाइदा रहे पनि पोर्चुगल पहिलो जितले उच्च मनोबलका साथ मैदान उत्रने छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जर्मनीसँग आफूहरु नडराउने बताएका छन् । ‘म जर्मनीसँग डराएको छैन । मेरो विचारमा दुवै टिमले एक अर्कालाई सम्मान गर्छन् किनकि दुवै टिमसँग खेल जित्न सक्ने शक्ति छ,’ सान्तोसले भने ।

उनले जर्मनीमै गएर जर्मनीविरुद्ध खेल्दा पोर्चुगललाई फेभरेट मान्नु लाइन क्रस गर्नु भएको बताए । यदि खेलाडी त्यो अवस्थामा गए आफूहरुले बराबरी समेत गर्न नसक्ने बताए ।

उता जर्मनीका प्रशिक्षक योकिम लो भने पोर्चुगलसँग खेल्नुअघि निकै सचेत छन् । उनले पोर्चुगलसँग रोनाल्डो बाहेक अट्याकमा अरु खेलाडी समेत रहेको र ठूला खेल जित्न सक्षम रहेको बताएका छन् ।

‘पोर्चुगलसँग अट्याकमा रोनाल्डो मात्र छैनन्,  ४–५ जना क्षमतावान् खेलाडी छन् । उनीहरु आफैं यस्तो ठूला खेलको निर्णय लिन सक्छन् । उनीहरु प्राविधिक रुपमा बलियो छन् । उनीहरुलाई किनारामा राख्न कठिन छ किनकि उनीहरुबाट बल खोस्न कठिन छ ।’

यी दुई टोलीबीच विगत हेर्ने हो भने जर्मनी धेरै अघि छ । पछिल्लो पटक सन् २०१४ को विश्वकपमा जर्मनीले पोर्चुगललाई समूह चरणमा पराजित गरेको थियो ।

सन् २००० को युरोमा पोर्चुगलले जर्मनीलाई हराएको थियो । त्यसयता पोर्चुगलले जर्मनीलाई ठूलो प्रतियोगितामा हराएको छैन । २००६ को विश्वकप तथा २००८ र २०१२ को युरोकपमा जर्मनीले पोर्चुगललाई हराएको थियो ।

अहिलेसम्म यी दुई टोली १८ पटक भिड्दा जर्मनीले १० खेल जितेको छ भने पोर्चुगलले ३ खेल जितेको छ । बाँकी ५ खेल बराबरीमा सकिएको थियो ।

फ्रान्स भर्सेस हङ्गेरी

जर्मनी र पोर्चुगलको हेभिवेट भिडन्तअघि यसै समूहमा रहेका फ्रान्स र हंगेरीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । खेल हंगेरीको घरेलु मैदान पुस्कास एरेनामा हुनेछ ।

पहिलो खेलमा पोर्चुगलविरुद्ध ८४ मिनेट राम्रो खेलेर पनि हंगेरीले घरेलु दर्शकको अघि गोल बेहोरेको थियो ।

उता फ्रान्सले पहिलो खेलमा जर्मनीलाई उसैको मैदानमा हराएको थियो । फ्रान्सले हंगेरीलाई पराजित गरेमा नकआउटमा स्थान बनाउनेछ । हंगेरीका लागि भने नकआउटको सम्भावना कायम राख्न फ्रान्सलाई हराउनुपर्ने दबाब छ ।

फ्रान्स र हंगेरी १६ वर्षपछि भिड्न लागेका हुन् । सन् २००५ मा भएको खेलमा फ्रान्सले हंगेरीलाई २–१ ले पराजित गरेको थियो ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले दुई खेल जित्न सके नकआउटमा छनोट हुने भएकाले त्यही मुख्य लक्ष्य रहेको बताएका छन् । उनले हंगेरीलाई मिहिनेती टिम भनेका छन् । हंगेरीले घरेलु मैदानमा खेलिरहेकोले डेसच्याम्पले पोर्चुगलविरुद्धको जस्तै खेलको अपेक्षा गरेका छन् ।

हंगेरीका प्रशिक्षक मार्को रोसीले विश्वकप च्याम्पियन टिमसँग खेल्नु ठूलो प्रेरणा हुने बताए । उनले फ्रान्स फेभरेट रहेको र एमबाप्पे जस्ता खेलाडी रहेको बताए । उनले लगभग असम्भव जस्तै काम रहेको तैपनि आफ्नो उत्कृष्ट दिने बताए ।

फ्रान्स र हंगेरीबीच विश्वकपमा दुई पटक भेट हुँदा फ्रान्स विजयी भएको छ । सन् १९६४ र १९७२ को युरोकपको क्वालिफाइडमा गरेर यी दुई टोलीबीच चार खेल भएको थियो । जसमा हंगेरीले ३ खेल जित्दा एक खेल बराबरी भएको थियो ।

स्पेन पहिलो जितको खोजीमा

तीन पटकको विजेता स्पेन यस संस्करणमा पहिलो जितको खोजीमा छ । समूह ई अन्तर्गत स्पेनले आज सेभियामा पोल्याण्डसँग खेल्दैछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमै स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । उता पोल्याण्ड भने पहिलो खेलमा स्लोभाकियासँग पराजित भएको थियो ।

दुवै टोली पहिलो जितको खोजीमा छन् । स्पेनको एक अंक छ भने पोल्याण्ड अंकविहीन छ ।

स्पेन र पोल्याण्ड ठूलो प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन् । अहिलेसम्म १० भेटमा स्पेनले १० खेल जितेको छ भने एक खेल पोल्याण्डले जितेको थियो । एक खेल बराबरीमा सकिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित