इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा

इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा
युरोपनेपाली खबर २०७८ असार ६ आइतबार, 20-06-2021


एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो ।

वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहयो । वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो । यसअघि वेल्स र स्विट्जरल्यान्डको खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।

स्विट्जरल्यान्डले भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । ४ अंक जोडेको कारण पनि टोलीको सम्भावना बलियो देखिन्छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

वेल्सविरुद्ध खेलको ३९ औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । मार्को भेराट्टीको फ्रिकिकमा पेस्सिनाले हल्का बलको दिशा परिवर्तन गर्दा गोलरक्षक ड्यानी वार्ड झुक्किन पुग्दा इटाली खेलमा अघि बढेको थियो ।

त्यसअघि आन्द्रीए बेलोट्टी र राफाएल टोलोइले अवसर सदुपयोग गर्न नसक्दा इटाली अघि बढ्न सकेको थिएन । वेल्सले पनि काउन्टर अट्याकमा केहि आक्रमण बुनेको थियो । तर कप्तान ग्यारेथ बेलबाट अपेक्षित फिनिसिङ हुन नसक्दा खेल बराबरीमा रहेको थियो ।

दोस्रो हाफको सुरुवातमा नै इटालीको अग्रता दोब्बर पार्ने प्रयासमा पोस्ट बाधक बन्न पुग्यो । ५३ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले गोलरक्षक वार्ड बिट भएपनि पोस्टमा लाग्दै उक्त प्रहार बाहिर गएको थियो ।

त्यसको २ मिनेटपछि नै वेल्स १० खेलाडीमा समेटियो । इथान अम्पादुले बर्नार्डेस्कीलाई मिडफिल्डमा गरेको ट्याकलमा रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । अम्पादुले सिधै उनको बुटमा कुल्चिन पुग्दा रेफ्रीले उनलाई बाहिर पठाएका थिए ।

७५ औं मिनेटमा कप्तान बेलको प्रहार बाहिर जाँदा वेल्सले खेलमा पुनरागमन गर्न सकेन । किएफ मुरले हेडरमार्फत निकालेको सहज पासमा अनमार्क रहेका बेलको प्रहारले पोस्टको दिशा लिन सकेन ।

त्यस्तै जेर्डान शाकिरीले २ गोल गरेपछि स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गर्न सफल रहयो । स्विट्जरल्यान्डले खेलको छैटौं मिनेटमा नै हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । स्टिभन जुबरको पासमा उनले सुन्दर फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा शाकिरीले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । शकिरीले आफ्नो बायाँ खुट्टाले गरेको प्रहारलाई गोलरक्षक उगुर्कान साकिरले बचाउने कुनै अवसर नै पाएनन् ।

दोस्रो हाफमा टर्कीले आक्रमणमा जोड दिँदै खेलमा फर्कने प्रयास गरेको थियो । ६२ औं मिनेटमा इरफान च्यान काभेचीले गोल अन्तर घटाउँदै टर्कीलाई खेलमा फर्कने संकेत दिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।

६८ औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डको २ गोलको अग्रता पुन: स्थापना गरे । जुबरले झाकासँग पास सासाटफेर गर्दै बनाएको मुभमा गोल सम्भव भएको थियो । जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई जितनजिक पुर्याएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित