युरो २०२० को समूहको अन्तिम चरणका खेलहरू भइरहेका छन्। समूह चरणका खेलसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लाग्नेछ।
अहिलेसम्म चार टिमले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्। इटाली, नेदरल्यान्ड्स, बेल्जियम, वेल्स अन्तिम १६ मा पुगेका हुन्। बाँकी १२ स्थानको टुंगो समूहको अन्तिम चरणको खेलपछि लाग्नेछ।
६ समूहमा प्रतिस्पर्धा भइरहेको युरो २०२० को शीर्ष दुईदुई टिम गरी १२ टिम स्वत: अन्तिम १६ मा पुग्नेछन्।
६ समूहमध्ये ४ समूहका तेस्रो हुने टिमलाई पनि अन्तिम १६ मा पुग्ने अवसर छ। त्यसका लागि ६ समूहमा तेस्रो हुने टिममध्ये उत्कृष्ट चारमा पर्नु पर्नेछ।
समूहमा तेस्रो भएर अन्तिम १६ मा पुग्ने ४ टिमको टुंगो लगाउँदा पहिलो आधार जोडेको अंकलाई मानिनेछ। त्यसपछि गोलअन्तर, गरेको गोल, जित, प्राप्त कार्ड र युरो छनोट वरीयतालाई क्रमश: आधार मानिनेछ।
जारी युरो २०२० मा बलिया मानिएका इंग्ल्यान्ड र स्पेन अझै अन्तिम १६ का लागि बलियो स्थानमा छैनन्।
अझ समूह ‘एफ’ को भिडन्त अझ रोचक छ। जहाँ साविक विजेता पोर्चुगलसहित पूर्वविजेताहरू जर्मनी र फ्रान्स छन्। समूहमा रहेको हंगेरीले पनि अन्तिम १६ का लागि आफ्नो दाबेदारी प्रस्तुत गरिरेहको छ।
समूह ‘एफ’ मा दुई चरणको खेल सकिदा एक जित र एक बराबरी खेलेको फ्रान्स चार अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको जर्मनीको ३ अंक छ। ३ अंक नै जोडेको पोर्चुगल तेस्रो स्थानमा छ। फ्रान्सलाई बराबरीमा रोकेको हंगेरीको एक अंक छ।
समूहको अन्तिम चरणमा पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। यस्तै जर्मनीले हंगेरीसँग भिड्नेछ।
यो समूहमा फ्रान्स र जर्मनी अन्तिम १६ मा पुग्ने बलियो अवस्थामा देखिएका छन्। किनभने जर्मनीले अन्तिम खेलमा घरेलु मैदानमा खेल्दैछ भने फ्रान्सले चार अंक जोडिसकेको अवस्थामा छ।
पोर्चुगल अन्तिम १६ मा पुग्छ वा पुग्दैन भन्ने फुटबलप्रेमीलाई चासो छ। किनभने पोर्चुगल साविक विजेता हो भने कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा छ।
जर्मनीले हंगेरीलाई हराएको अवस्थामा पोर्चुगलका लागि सहज हुन सक्छ। किनभने पोर्चुगल अन्तिम खेलमा फ्रान्ससँग पराजित भए पनि उत्कृष्ट तेस्रो टिम बन्न सक्ने अवस्था छ।
तर, हंगेरीले जर्मनीलाई हराए वा बराबरी खेलेको अवस्थामा पोर्चुगल बाहिरिन सक्छ। अन्तिम खेलमा फ्रान्सलाई हराए पोर्चुगल स्वत: अन्तिम १६ मा पुग्नेछ।
बराबरी खेले पनि पोर्चुगल अन्तिम १६ मा पुग्न सक्छ। पोर्चुगल आफू हारेको अवस्थामा भने हंगेरीको हारको कामना गर्नु पर्नेछ र उत्कृष्ट तेस्रो भएर अन्तिम १६ पुग्ने आसा गर्नु पर्नेछ।
FOUNDER/CHIEF EDITOR :