चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता, क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा

चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता, क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा
युरोपनेपाली खबर २०७८ असार ८ मंगलबार, 22-06-2021


 युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ । पहिलो हाफमा रहिम स्टर्लिङले गरेको गोलमा इंग्ल्यान्ड १-० ले विजयी रहयो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । चेकको डिफेन्स संयम हुन नपाउँदै गरेको आक्रमणमा स्टर्लिङले अफसाइड ट्रयाप र गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो ।

स्टर्लिङकै गोलमा इंग्ल्यान्डले १२ औं मिनेटमा अग्रता लियो । युरोमा पहिलो पटक सुरुवाती रोजाइमा परेका ज्याक ग्रिलिसको क्रसमा स्टर्लिङले हेडरमार्फत गोल गरेका थिए । २५ औं मिनेटमा इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने प्रयासमा गोलरक्षक भाच्लिक बाधक बने । पेनाल्टी क्षेत्रभित्र केनले बललाई नियन्त्रणमा राख्दै गरेको अन्तिम प्रहार गोलरक्षकले विफल पारेका थिए ।

२७ औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । टोमस होलेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो प्रहारलाई पिकफर्डले दायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए । ३५ औं मिनेटमा टोमस सौचेकले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन नसक्दा चेक खेलमा फर्कन सकेन । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा पाएको बललाई बाहिर प्रहार गरेका थिए ।

दोस्रो हाफमा चेकले केहि आक्रमणको प्रयास गरेपनि इंग्ल्यान्डले खेलमा फर्कने अवसर दिएन । इंग्ल्यान्डले दोस्रो हाफमा गोल गरेपनि अफसाइडका कारण त्यसले मान्यता पाएन । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले गरेको गोललाई भीएआरले अफसाइड दिएको थियो ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्दै समूह डी को विजेता बनेको छ । पराजित चेक ४ अंक जोड्दै भने तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । क्रोएसियाले स्कटल्यान्डलाई ३-१ ले हराएपछि चेक गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको हो ।

युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा प्रवेश गरेको छ ।

निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले पहिलो हाफको ४२ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउन सकेनन् ।

कप्तान लुका मोड्रीचले ६२ औं मिनेटमा दर्शनीय गोल गरेपछि क्रोएसिया पुन: अघि बढेको थियो । मोड्रीचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट आउटसाइड फुटले गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

७७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको जित पक्का गरे । उनले मोड्रीचको कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई २ गोलले अघि राखेका थिए । अन्तिम समयमा स्कटल्यान्डले खेलमा फर्कने संकेत देखाएपनि क्रोएसियाले अग्रता जोगाउन सफल रहयो ।

यस जितले क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । चेक इंग्ल्यान्डसँग १-० ले पराजित भएपछि क्रोएसियालाई फाइदा पुगेको हो । समान ४-४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अघि बढेको हो । यस समूहमा इंग्ल्यान्ड ३ खेलमा ७ अंकसाथ शीर्ष तथा १ अंक जोडेको स्कटल्यान्ड पुछारमा रहयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित