एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा
युरोपनेपाली खबर २०७८ असार १८ शुक्रबार, 02-07-2021


काठमाडौं । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् ।

२०७१ सालको असारमा भएको एमाले महाधिवेशनबाट वैकल्पिक, आमन्त्रित र पदेनसहित २०५ जना निर्वाचित केन्द्रीय सदस्य थिए । तीमध्ये केहीको निधन भइसकेको छ । अहिले २०३ जना निर्वाचित केन्द्रीय सदस्य छन् ।

नवौं महाधिवेशनमा शतप्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने विधानमा थियो । तर, नेकपा माओवादी केन्द्रसँगको एकतापछि एमालेबाट केन्द्रीय सदस्य थपिएका थिए । केन्द्रीय सदस्यको चुनाव हारेका महेश बस्नेत, खगराज अधिकारी, गोकुल बाँस्कोटालगायतलाई पनि मनोनित गरिएको थियो । तत्कालीन नेकपामा रहँदाका जो एमालेको नवौं महाधिवेशनमा निर्वाचित भएका थिएनन् केन्द्रीय सदस्यमा उनीहरुको संख्या उल्लेख्य छ । एमालेको केन्द्रीय सदस्यमा रहेका माओवादी केन्द्र र एमालेमा रहँदा केन्द्रीय सदस्य नभएकाहरुको संख्या ३८ जना छ ।

एमालेभित्र नवौं महाधिवेशनबाट निर्वाचितलाई मात्र केन्द्रीय सदस्य मान्ने वा नेकपा हुँदा केन्द्रीय सदस्य भएका ३८ जनालाई पनि जोडेर कुल २४१ लाई मान्नेबारे विवाद छ । नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा र इश्वर पोखरेल महासचिवमा निर्वाचित भएका थिए । ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए । एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । तीमध्ये ६० प्रतिशत ओली पक्षमा छन् । बाँकी ४० प्रतिशत जति नेपाल पक्षमा छन् ।

पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता अवस्था फेरबदल भइसकेको छ । अहिले नवौं महाधिवेशनको केन्द्रीय कमिटी सदस्यमध्ये केहीको मृत्यु भइसकेको छ । कतिपयले गुट परिवर्तन गरेका छन् । निर्वाचित पदाधिकारीमध्ये केपी ओलीसहित उनको खेमामा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ्ग मात्र उनको पक्षमा छन् । उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।

माधव नेपालको खेमामा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य छन् । विधान अनुसार स्वतः वरिष्ठ नेता भएका झलनाथ खनाल पनि उनकै पक्षमा छन् । माधव नेपाल पछि मात्र वरिष्ठ नेता बनाइएका थिए । एमालेको नवौं महाधिवेशन २०७१ सालमा भएको थियो । दशौं महाधिवेशन हुन सकेको छैन । माओवादीसँगको एकतापछि महाधिवेशन गर्ने भनिएपनि हुन सकेको थिएन । २३ फागुन २०७७ मा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।

नवौं महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई ५६ मतान्तरले पराजित गरी अध्यक्ष बनेका थिए । त्यतिबेला उनलाई तत्कालीन अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतमको पनि साथ थियो । गौतमले खुलेरै ओलीलाई साथ दिएका थिए । अहिले दुवै नेता ओलीबाट टाढा छन् । महासचिवमा १५ मतान्तरले ईश्वर पोखरेलले सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । पोखरेल ओली समूहबाट महासचिवको उम्मेदवार बन्दा पाण्डे माधव नेपाल समूहबाट मैदानमा उत्रिएका थिए । दुवै अहिले पनि एउटै समूहमा छन् ।

उपाध्यक्षमा सर्वाधिक मत भिम रावलले ल्याएका थिए । त्यसपछि वामदेव गौतम, विद्यादेवी भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले मत पाएका थिए । गौतम र भण्डारी ओली खेमाबाट र बाँकी नेपाल खेमाबाट उम्मेदवार बनेका थिए । भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्ष पद खाली छ । उपाध्यक्षका उम्मेदवारमध्ये ओली समूहका प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ साह पराजित भएका थिए । नेपाल समूहका राजेन्द्रप्रसाद पाण्डे र लालबाबु पण्डित पनि पराजित भएका थिए । अहिले पण्डित ओली समूहमा गइसकेका छन् ।

उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल विजयी भएका थिए । भुसाल नेपाल समूहबाट र पौडेल ओली समूहबाट उम्मेदवार भएका थिए । दुवै अहिले पनि सोही समूहमा छन् । उपमहासचिवमा ओली समूहका शंकर पोखरेल र नेपाल समूहका रघुजी पन्त पराजित भएका थिए । सचिवमा ओली समूहबाट प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग विजयी भएका थिए । उक्त समूहबाट उम्मेदवार बनेका विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ पराजित भएका थिए । नेपाल समूहबाट गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य विजयी भएका थिए । सोही समूहबाट उम्मेदवार बनेका परशुराम मेघी गुरुङ्ग र वेदुराम भुषाल पराजित भएका थिए ।

त्यतिबेला सुवास नेम्वाङ सभामुख भएकाले कुनै पदमा उम्मेदवार भएनन् । उनलाई पछि स्थायी कमिटी सदस्यमा मनोनित गरिएको थियो । केन्द्रीय सदस्यको खुलातर्फको ३५ सिटमा सर्वाधिक मत माधवकुमार नेपाललाई प्राप्त भएको थियो । अध्यक्षमा १००३ मत पाएका नेपालले केन्द्रीय सदस्यमा १११३ मत पाएका थिए । त्यसपछि सर्वाधिक मत सुरेन्द्र पाण्डेले १०९६ पाएका थिए । यो उनले महासचिवमा पाएको १०३० भन्दा ६६ मत बढी हो ।

तेस्रो लोकप्रीय मत रविन्द्र अधिकारीले १०८६ पाएका थिए । त्यसपछिको लोकप्रीय मत राजेन्द्रप्रसाद पाण्डे, लालबाबु पण्डित, ठाकुर गैरे, प्रकाश ज्वाला, टंक कार्की, अरुण नेपाल, डा. विजयकुमार पौडेललगायतले पाएका थिए । हालै उपप्रधानमन्त्रीबाट पदमुक्त भएका रघुवीर महासेठ, गृहमन्त्रीबाट पदमुक्त भएका खगराज अधिकारी, एमालेका चर्चित नेता महेश बस्नेत केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

महिलातर्फको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्रीले सर्वाधिक लोकप्रीय मत पाएकी थिइन् । त्यसपछि राधा ज्ञवाली, पद्मा अर्याल, थममाया थापा, जयन्ती राई, श्रीमाया थकालीले लोकप्रीय मत पाएका थिए । जनजातितर्फको केन्द्रीय सदस्यमा लोकप्रीय मत पाउनेहरुमा क्रमशः दलबहादुर राना, शेरधन राई, यज्ञराज सुनुवार, पार्वत गुरुङ्ग, सानुकुमार श्रेष्ठ, वैजनाथ चौधरी, शेरबहादुर तामाङ, खगेन्द्र राई, लिलानाथ श्रेष्ठ, ज्ञानबहादुर भुजेल र डम्बरसिंह सम्वाहाम्फे थिए ।

एमालेको वैकल्पिक, आमन्त्रित र पदेनसहित २०५ जना निर्वाचित केन्द्रीय सदस्य थिए । तीमध्ये केहीको निधन भइसकेको छ । अहिले ओलीले कमिटीमा पछि थपेकालाई पनि डाकेर निर्णयहरु लिन लागेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित