फिफा बरियताको एक नम्बर बेल्जियमलाई पराजित गर्दै इटाली र स्वीजरल्याण्डलाई स्तब्ध बनाउदै टाइब्रेकरमा स्पेन सेमिफाइनलमा

फिफा बरियताको एक नम्बर बेल्जियमलाई पराजित गर्दै इटाली र  स्वीजरल्याण्डलाई स्तब्ध बनाउदै टाइब्रेकरमा स्पेन  सेमिफाइनलमा
युरोपनेपाली खबर २०७८ असार १९ शनिबार, 03-07-2021


एजेन्सी – बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई सानदार बचाउ गर्दै खेलमा कायम राखे । त्यसअघि इटालीका लिओनार्डो बोनुचिले गोल गरेपनि रेफ्रीले भीएआरको सहयोग लिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् । तर इटालीले त्यसपछि खेलमा दबाब कायम गर्दै २ गोलको गर्दै अग्रता लियो । इन्ज्युरी समयमा बेल्जियमले पेनाल्टीमा एक गोल भने फर्कायो ।

दोस्रो हाफमा बेल्जियमल गोल गर्नका लागि सुवर्ण अवसर सिर्जना गरेपनि रोमेलु लुकाकुले बिर्सनलायक प्रदर्शन गर्दा बराबरी गोल हुन सकेन । लुकाकुले दुई सुन्दर अवसरमा सहज प्रयास गर्नबाट चुक्दा इटालीको अग्रता कायम रहेको थियो । बेल्जियमले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो ।

खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको चुनौती चिर्दै शक्तिशाली प्रहारमा गोल गरेका थिए । मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपछि उनको प्रहार गोल भएको थियो ।

४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा कायम नै राखे । इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई विपरित दिशामा पठाउँदै गोल गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् । डोकुले दिएको पासमा डे ब्रुएनको लो क्रसलाई लुकाकुले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार डिफेन्डर लिओनार्डो स्पिनाजोलालाई लाग्दै फर्केको थियो । उक्त रिबाउन्डमा लुकाकुले बायाँ खुट्टा चलाउन नसक्दा बेल्जियम बराबर गर्नबाट चुक्यो ।

७० औं मिनेटमा नासेर चाडलीको क्रसमा लुकाकुले हेडर सम्पर्क गराउन सकेनन् । उनको पछि रहेका थोर्गन हाजार्डको प्रहार पनि पोस्टमा रहन सकेन । ७६ औं मिनेटमा लुकाकुको प्रहारलाई रोक्दै जर्जिन्होले इटालीको अग्रता जोगाए । यससँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३२ खेलमा पुर्याएको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । त्यसअघि स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो । स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन ।

दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन । स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहयो ।

अतिरिक्त समयमा गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा नै राखेका थिए । दोस्रो हाफमा पनि स्वीस डिफेन्सले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भयो । टाइब्रेकरमा स्पेनले पहिलो प्रहार चुकाउँदै सोमरले अर्को बचाउ गरेपनि स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो ।

टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए । गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए । सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए ।

स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए । तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे । जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो । चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो ।

मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए । उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

त्यसअघि खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले गरेको प्रहार गोल भएको थियो । उनको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै पोस्टतर्फ गएपछि गोलरक्षक यान सोमरले उक्त प्रहार रोक्ने कुनै अवसर नै पाएनन् ।

१७ औं मिनेटमा कोकेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । २५ औं मिनेटमा कोकेकै कर्नरमा सेजार एज्पिलीक्वेटा हेडरलाई सोमरले सहजै बचाए । ३४ औं मिनेटमा कप्तान जेर्दान शाकिरीको कर्नरमा म्यानुएल अकान्जीको हेडरले पोस्टको दिशा लिन सकेन । ३९ औं मिनेटमा शकिरिकै कर्नरमा विडमरले बलसँग राम्रो सम्पर्क गर्न नसक्दा स्विस टोलीले खेलमा फर्कने अवसर गुमायो ।

दोस्रो हाफमा स्पेनले ६८ औं मिनेटमा बराबरी गोल फर्कायो । स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई खेलाएका थिए । कप्तान शाकिरीले आफ्नो समय लिँदै गरेको फिनिस गोल भएपछि खेल बराबरीमा आएको थियो ।

अग्रता लिएको १० मिनेट नबित्दै स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भयो । फ्रुएलरले जेरार्ड मोरेनोलाई गरेको ट्याकलमा रेफ्री माइकल ओलिभरले सिधै रातो कार्ड देखाएपछि स्विस टोली दबाबमा परेको थियो । स्पेनले त्यसपछि आक्रामणमा थप जोड दिएपनि सोमरले दुई राम्रो बचाउ गर्दै खेल अतिरिक्त समयमा पुर्याए ।

सोमरले अतिरिक्त समयमा लगातार बचाउ गर्दै स्पेनलाई अग्रता लिन दिएनन् । ९६ औं मिनेटमा मिकेल ओयाराज्बलको प्रहारलाई उनले पोस्टमाथि पन्च गरिदिए । १ सय १ औं मिनेटमा पनि ओयाराज्बलको प्रहारमा सोमर नै बाधक बनेका थिए । त्यसको दुई मिनेटपछि ओयाराज्बलकै उत्कृष्ट प्रहारलाई सोमरले डाइभ दिँदै बाहिर पठाएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित