युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड र चेकलाई स्तब्ध बनाउँदै डेनमार्क सेमिफाइनलमा

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड र चेकलाई स्तब्ध बनाउँदै डेनमार्क सेमिफाइनलमा
युरोपनेपाली खबर २०७८ असार २० आइतबार 04-07-2021


एजेन्सी – कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड ४-० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो ।

केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गरेको छ । आक्रमणमा इंग्ल्यान्डले थप अवसर सिर्जना गरेपनि युक्रेनी गोलरक्षक बाधक बनेका छन् ।

दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खाएपछि युक्रेन सम्हालिन सकेन । त्यसको केहि मिनेटमा नै केनले हेडरमार्फत गोल गर्दै अग्रता बढाएपछि युक्रेनले रक्षात्मक खेल खेलेको थियो । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । अब इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।

खेलको चौथो मिनेटमा नै इंग्ल्यान्डले केनको गोलमा अग्रता लिएको थियो । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको थ्रु पासलाई केनले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक बुस्कानलाई लाग्दै गोलमा परिणत भएको थियो ।

२७ औं मिनेटमा स्टर्लिङको प्रहारलाई युक्रेनी डिफेन्डर क्रिस्तोभले रोकेपछि इंग्ल्यान्डको डरलाग्दो आक्रमण रोकिएको थियो । त्यसको दुई मिनेटपछि लुक शाको फ्रिकिकमा केनको हेडर पोस्टभन्दा माथिबाट गयो । ३३ औं मिनेटमा डेक्लन राइसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बुस्कानले मुस्किलले विफल पारे ।

३७ औं मिनेटमा युक्रेनले काउन्टर अट्याकमा बढाएको आक्रमणमा जिन्चेन्कोले गरेको अन्तिम प्रहारलाई मेसन माउन्टले रोकेका थिए । ४० औं मिनेटमा शाको पासमा जेडन सान्चोको प्रहारमा पनि बुस्कान नै बाधक बने ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै ह्यारी मगाएरले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरे । शाले बायाँ विंगबाट दिएको क्रसमा केनले हेडरमार्फत गोल गरे । उनको हेडर गोलरक्षक बुस्कानको खुट्टा मुनिबाट गोल भएको थियो ।

६२ औं मिनेटमा केनले पेनाल्टी क्षेत्र नजिकबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुस्कानले डाइभ दिँदै विफल पारे । त्यसै बचाउबाट आएको कर्नरमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० ले अघि बढाए । माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरे ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ ।

डेनमार्कले आज नै भएको तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक बाधक बनेका थिए । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पार्यो ।

दोस्रो हाफको सुरुवातमा नै चेकले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । त्यसपछि लगातार आक्रमण गरेको चेकले डेनमार्कको रक्षापंक्ति चिर्न भने सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन । अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन् ।

खेलको पाँचौ मिनेटमा नै डेनमार्कले थोमस डिलेनीको गोलमा अग्रता लियो । स्ट्राइगर लार्सनको कर्नसमा डिलेनीको हेडर भुइमा लाग्दै गोल भएको थियो । गोलरक्षक टोमस भाच्लिकले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् । त्यसको दुई मिनेट अघि डिलेनीले नै आफ्नो पेनाल्टी क्षेत्रमा भल्दिमिर सौफालको प्रहार रोक्दै खतरा टारेका थिए ।

१३ औं मिनेटमा पिएर एमिल होएबिएरले दिएको थ्रु पासमा मार्टिन डाम्सगार्ड केहि ढिला बलसम्म पुग्दा भाच्लिकले नियन्त्रणमा लिए । २२ औं मिनेटमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । मासोपुस्तको थ्रु पासमा होलेसको प्रहारलाई स्माइकलले अघि बढ्दै विफल परेका थिए ।

२७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बाहिर प्रहार गर्दा डेनमार्कले अग्रता बढाउन सकेन । ३८ औं मिनेटमा डाम्सगार्डको शक्तिशाली प्रहारमा भाच्लिक बाधक बने । ४२ औं मिनेटमा भने डेनमार्क अग्रता दोब्बर पार्न सफल रहयो । जोकिम माहलेले बायाँ विंगबाट आफ्नो दायाँ खुट्टाको बाहिरि भागबाट दिएको क्रसलाई कास्पर डोलबर्गले पहिलो टचमा नै गोलको दिशा दिँदै २-० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काए । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरे ।

६२ औं मिनेटमा वैकल्पिक फरवार्ड युसुफ पाउल्सेनको प्रहारलाई चेकका कप्तान टोमस सुचेकले रोकेका थिए । पेनाल्टी क्षेत्रभित्र बल रोकेपछि पाउल्सेनको खुट्टाले सुचेकको टाउकोमा चोट लागेको थियो । ६९ औं मिनेटमा भाच्लिकले पाउल्सेनको प्रहार विफल पार्दै खेल २-१ को स्थितिमा कायम राखे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा क्रेमेन्चिकको प्रयास पोस्टभन्दा निकै टाढाबाट गएपछि चेकको खेल बराबरी गर्ने सम्भावना सकिएको थियो । अन्तिम समयमा बाराकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित