युरोपका विभिन्न मुलुक र क्यानाडा पठाइदिने भन्दै साढे २ करोड ठगेर कर्मा फरार

युरोपका विभिन्न मुलुक र क्यानाडा  पठाइदिने भन्दै साढे २ करोड ठगेर कर्मा फरार
युरोपनेपाली खबर २०७८ साउन २१ शुक्रबार, 06-08-2021


लगातारको वर्षाले चिसो बढाए पनि काठमाडौंमा जाडो छैन । तर ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका पवन बस्नेत गत आइतबार बाक्लो ज्याकेट, पन्जा, बाक्लो मोजा र उनीको न्यानो टोपी किन्ने ताकमा थिए ।

चुच्चेपाटीको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कर्मा तामाङले उनलाई भनेका थिए, ‘केटा हो, भोलि क्रोएसिया उड्ने हो । उता साह्रै जाडो छ । बाक्लो न्यानो कपडा किनिराख्नू ।’ दक्षिण–पूर्वी युरोपको क्रोएसियामा तापक्रम २०–२१ डिग्री सेल्सियस छ भन्ने कुरा पवनलाई के थाहा ?

क्रोएसिया उड्ने भनिएको अघिल्लो दिन बिहान कन्सल्टेन्सीको कार्यालयमा पुग्दा पवनले आफूजस्तै दर्जनौं तन्नेरीलाई देखे । धेरैजसोको हातमा पैसा बुझाएको कागजात थियो, अनुहारमा भने चर्को आक्रोश देखिन्थ्यो । पवनले एकैछिनमा थाहा पाइहाले, क्रोएसिया, इस्टोनिया, क्यानडालगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई सयभन्दा बढीसँग पैसा उठाएर कर्मा टाप ठोकिसकेछन् । पवनको अनुहारबाट उत्साहको रङ उडिहाल्यो ।

खिजीदेम्बा गाउँपालिकाको गाडी चलाउने पवन एक जना साथीमार्फत क्रोएसिया जाने आकर्षक अफर सुनेर हान्निएर काठमाडौं आएका थिए । आफन्त र चिनेजानेकासँग हारगुहार गरेर जुटाएको ४ लाख रुपैयाँ उनले कर्मालाई बुझाएका छन् । पवनले सुनाए, ‘मेरो गाउँका ५ जनाको मात्रै २१ लाख फसेको छ ।’ उनीहरूमध्ये तीन जनालाई ड्राइभिङ र दुईलाई प्याकिङको काम दिलाइदिने र मासिक ६ सय युरो तलब आउने आश्वासन कर्माले दिएका थिए । उनीहरू अहिले फसेको रकम के हुने भन्ने चिन्ताले पिरोलिएका छन् ।

छथर गाउँपालिका ४ धनकुटाका हेमबहादुर तामाङ इस्टोनिया उड्ने आशा बोकेर कोरोना कहरका माझ गत साता काठमाडौं आएका थिए । कर्माले उनलाई आउने शनिबार उडाइदिने भन्दै पटकपटक गरेर २ लाख ८० हजार रुपैयाँ बुझेका थिए । हेम र उनको गाउँ छिमेकका चार जनाले गरेर कर्मालाई झन्डै १६ लाख रुपैयाँ बुझाएका छन् । हेमले घरबाटै मनी ट्रान्सफरमार्फत र काठमाडौं कार्यालयमा आईवरी कर्मालाई पैसा बुझाएका थिए । उनीहरूलाई इस्टोनियमा मासु काट्ने र प्याकिङ गर्ने काम मिलाइदिने र त्यसबापत मासिक ८ सय ५० युरो तलब हुने आश्वासन कर्माले देखाएका थिए ।

‘गत आइतबार अफिसमा पुग्दा झन्डै सय जना जति पीडित पो भेटिए । अफिसमा पनि ताल्चा मारेर मान्छे फरार भएछ,’ हेमले सुनाए, ‘केहीले प्रहरीमा उजुरी गरेका छन् । हामी भने के गर्ने भन्ने अलमलमै छौं ।’ कान्तिपुरलाई प्राप्त कागजातअनुसार नुवाकोट स्थायी ठेगाना भएका कर्माले उक्त कन्सल्टेन्सी २०७६ साउन २७ गते आन्तरिक राजस्व विभागमा दर्ता गरेर सञ्चालन गरेको देखिन्छ । विभिन्न युरोपेली देश उडाइदिने आश्वासन देखाएर उनले करिब सय जनालाई ठगेको छन् । पीडितले छुट्टाछुट्टै तयार पारेको विवरण हेर्दा कर्माले ती सबैबाट करिब साढे २ करोड रुपैयाँ उठाएको देखिन्छ । पीडितले १ लाख देखि ८ लाख रुपैयाँसम्म कर्मालाई बुझाएका थिए । धेरैजसो पीडित पूर्वी पहाडी जिल्लाका छन् । तीमध्ये धेरैजसो साक्षरता कम भएका र बेरोजगार छन् ।

आफूहरू ठगिएको थाहा पाएपछि पवनलगायतका युवा महानगरीय प्रहरी वृत्त बौद्ध पुगेका थिए । पवनका अनुसार वृत्तले उनीहरूलाई वैदेशिक रोजगारी ठगी भएकाले श्रम कार्यालयमा सुझाव दियो । त्यसपछि उनीहरू श्रम कार्यालय पुगे । तर श्रमका अधिकारीहरूले उनीहरूलाई यस्तो मुद्दा प्रहरीले नै हेर्ने भएकाले काठमाडौं प्रहरी परिसर टेकु जानू भनेर फर्काइदिए । उनीहरू फेरि टेकु पुगे । प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले कर्माविरुद्ध वैदेशिक रोजगारी ठगीमा दुई दिनअघि नै मुद्दा दर्ता भएको बताए ।

आफू र भाइसहित ३ जनाको १२ लाख फसाएका ओखलढुंगा खिजीदेम्बाका वीरबहादुर मगरले प्रहरीले कर्माका बारेमा केही पत्ता लगाई नसकेको बताए । उनले भने, ‘प्रहरीले राम्ररी खोजिदिए पैसा आउँथ्यो कि ! नत्र त अनेकतिर ऋण धन गरेर उठाएको पैसा कसरी तिर्न सकिएला र ?’

इकान्तिपुर ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित