युरोप छिर्न खोज्दा मारिएका अनारामको शव १ वर्षपछि नेपाल पुग्यो

युरोप छिर्न खोज्दा मारिएका अनारामको शव १ वर्षपछि नेपाल पुग्यो
युरोपनेपाली खबर २०७८ भदौ ५ शनिबार, 21-08-2021

 

विगत १ वर्षदेखि इराकको कुर्दिस्तानस्थित शवगृहमा अलपत्र परेको एक नेपालीको शव शनिबार बिहान काठमाडौं पुगेको छ। बाग्लुङ निसिखोला गाउँपालिका वडा नम्बर–१ साविक देवीस्थान–३ केटेनी निवासी अनराम विश्वकर्माको शव शनिबार काठमाडौं आइपुगेको हो।

उनी १० सेप्टेम्बर २०२० मा कुर्दिस्तानको एर्विलबाट युरोप प्रवेश गर्ने क्रममा इरानको सीमा नजिकै च्वारता भन्ने ठाउँमा मारिएका थिए। टर्कीको अवैध बाटो प्रयोग गरेर युरोप प्रवेश गर्ने उनको योजना थियो। तर, इराक–इरान सीमामा अज्ञात समूहले गोली चलाउँदा उनको घटनास्थलमै निधन भएको थियो।

उनीसँगै हिँडेका दुई नेपाली पनि घटनामा घाइते भएका थिए। इराक प्रहरीले १७ दिन हिरासतमा राखेर उनीहरूलाई रिहा गरेको थियो भने अनरामको मृत शरीर शवगृह पठाएको थियो।

शव नेपाल फर्काउने विषयमा नेपाल पक्षबाट ठोस पहलकदमी नहुँदा कुर्दिस सरकार नै अलमलमा परेको थियो। कुर्दिस सरकारले लामो समय राख्न नसक्ने र नेपालले तुरुन्त व्यवस्थापन गर्न नसकेको खण्डमा शव वेवारिसे रुपमा फ्याकिदिने भन्दै त्यहाँका नेपाली अगुवाहरुलाई दवाव दिइरहेको थियो।

अनराम श्रम स्वीकृत नगरी इराक पुगेका थिए। श्रम स्वीकृति नलिएको नगरेको भन्दै वैदेशिक रोजगार बोर्डले आफ्नो कार्यविधि भित्र नपर्ने बताएको थियो। अनरामको शव ल्याउन करिब ५ हजार डलर चाहिन्थ्यो।

परिवारको कमजोर आर्थिक अवस्था र सरकार पन्छिएपछि बाग्लुङका सामाजिक अभियान्ताहरुले जनस्तरबाट आर्थिक संकलन अभियान चलाएर अनरामको शव झण्डै एक वर्षपछि शनिबार काठमाडौं ल्याउन सफल भएका हुन्।

अनरामको शव बुझ्न उनका दाई कुलमान विश्वकर्मा विमानस्थल पुगेका थिए । उनले आफूहरुको कमजोर आर्थिक अवस्था र सरकारले चासो नदिँदा भाइको शव १ वर्षसम्म पराइभूमिमा अलपत्र परेको भन्दै दुःख व्यक्त गरे।

विमानस्थलमा सहानुभूतिका लागि नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल समेत पुगेका थिए । उनले एक–एक वर्षसम्म शव अलपत्र पर्नु दुःख व्यक्त गर्दै राज्यले विशेष घटनाहरुमा छुट्टै नीति बनाउनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति नलिइ जाँदा लामो समय लाग्न पुग्यो। यस्ता घटनाहरुमा राज्यले छुट्टै नीति नियम बनाएर द्रुत गतिमा काम गर्नुपर्छ ।’

अनराम तीन वर्षअघि इराक गएका थिए । उनी परिवारका माइला छोरा हुन् । अनराम इराक पुगेको केही समयपछि नेपालमा श्रीमतीको पनि मृत्यु भएको दाइ कुलमानले बताए। मृतक अनराम दम्पत्तिकी एक छोरी छिन् । बुहारीको मृत्युपछि छोरीको रेखदेख दाइ कुलमानले नै गर्दै आएका छन् ।

यसरी भएको थियो घटना

इराकको कुर्दिस्तानमा कार्यरत अनराम विश्वकर्मासहित ३ नेपाली युवा १० सेप्टेम्बर, २०२० मा टर्कीको बाटो हुँदै युरोप छिर्न इरानतर्फ लागेका थिए। उनीहरूलाई कुर्दिस्तानमा रहेका एक बंगाली बिचौलिया आरिफले युरोपमा राम्रो काम र आकर्षक तलब दिलाउने प्रलोभन दिँदै फसाएका थिए।

आरिफ मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गर्दै मानव बेचबिखनमा सक्रिय दलाल मानिन्थे। उनी इराकमा रहेका नेपाली, बंगाली र भारतीय नागरिकलाई प्रलोभन देखाएर पैसा असुल्ने गर्थे।

युरोपमा राम्रो रोजगारी मिलाइदिने भनेपछि ती नेपाली पनि आरिफको फन्दामा परे। इराकबाट प्रहरीसँग सेटिङ गरेर यी दलालहरू इरानको जंगली बाटो हुँदै पहिले टर्की र त्यसपछि अन्य युरोपेली मुलुकमा मानिसहरू पठाउने गर्दथे।

यही अभियानअन्तर्गत १० सेप्टेम्बरमा मृतक विश्वकर्मा र अन्य दुई नेपाली पनि कुर्दिस्तानको एर्विलबाट सुलेमानीका लागि हिँडेका थिए। सुलेमानी पुगिसकेपछि उनीहरू टर्कीका लागि यात्रा गर्ने तय थियो।

एर्विलबाट सुलेमानीका लागि हिँडेका उनीहरू कुर्दिस्तानको दुकान भन्ने ठाउँ पुग्दासम्म आफन्त तथा साथीभाइको सम्पर्कमा थिए। त्यसपछि उनीहरू एकाएक सम्पर्कविहीन भए।

सम्पर्कविहीन भएपछि उनीहरूको खोजी सुरु भएको थियो। यसका लागि दुकानदेखि सुलेमानीसम्मको सम्पूर्ण चेकपोस्टमा खोजतलास भएको थियो।

स्थानीय प्रहरीले उनीहरूको खोजी कार्यलाई तिब्र बनाएपछि १४ सेप्टेम्बरमा हराएका नेपालीहरूको जानकारी प्राप्त भयो। प्रहरीले सुलेमानीको सित्तकभन्दा पछाडि च्वारता भन्ने ठाउँमा ३ नेपाली फेला परेको जानकारी कुर्दिस्तानस्थित नेपाली समाजका अगुवालाई दिएको थियो।

दलालले इराकको सीमा पार गराउँदै गर्दा एक्कासी फायरिङ शुरु भएको र यसमा विश्वकर्माको निधन भएको जानकारी प्रहरीले गराएको थियो। विश्वकर्माको पेटको कोखाबाट गोली छिरेको थियो। अन्धाधुन्ध गोली चलेपछि छल्नलाई चालकले गाडीलाई जंगलतर्फ मोड्दा पल्टेर नालीमा खसेको थियो।

उनीहरुमाथि गोली चलाउने समूहको हालसम्म पनि पहिचान भएको छैन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित