अष्ट्रेलियामा गत तीन दिनमा तीन नेपाली विद्यार्थीको निधन

अष्ट्रेलियामा गत तीन दिनमा तीन नेपाली विद्यार्थीको निधन
युरोपनेपाली खबर २०७८ भदौ ६ आइतबार, 22-08-2021


सन्तान पढोस्, बढोस्, सुकर्म गरोस् यही नै हरेक बाबुआमाको इच्छा हुन्छ । घरखेत धरौटी राखेर नाम, दाम कमाओस् भनेर लगानी गर्ने बाउआमाको त्यो समर्पण डग्न नदिने अभीष्ट सन्तानको हुन्छ । ‘तँ चिता म पु¥याउँछु’ भन्ने दैवी लीला ठीक उल्टो हुने रहेछ । सोचे जस्तो हुन्न जीवन भने झै तीन नेपाली विद्यार्थीको जीवनले गत साता अष्ट्रेलियाको भूमिबाट पूर्णविराम लगाएको छ ।

अध्ययनको शिलशिलामा पर्थमा रहेका सम्राट तामाङ्ग, सिड्नीकी रश्मि लेखक र रिजनल साउथवेल्समा रहेकी अर्की एक नेपाली विद्यार्थीको गतसाता निधन भएको छ ।

रामेछाप स्थायी घर भएका तामाङ्गको शनिबार पर्थकै एक अस्पतालमा निधन भएको हो । त्यस्तै लिभर क्यान्सरले पिडित रश्मि लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार निधन भएको हो । त्यसैगरी रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युवतीको शनिबार राति निधन भएको खबर पाएको गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) का अध्यक्ष नन्द गुरुङ्गले एएनजेड खबरलाई जानकारी दिएका छन् ।

सम्राट तामाङ्ग दुई वर्ष अघि विद्यार्थी भिषामा अष्ट्रेलिया आएका थिए । रामेछापबाट सुरु भएको सम्राटको त्यो पाइला अस्ट्रेलियाको धरा टेक्नु आफैंमा अभूतपूर्व उपलब्धि थियो । थोरै आफ्नो र धेरै नियतिको लाठी बर्षंदा उनको जीवनले अनपेक्षित युटर्न लियो । एउटा हट्टाकट्टा युवा एकाएक अस्पतालको ‘कोमा’मा पाहुना बन्यो र हिजो त्यही अस्पतालको शैय्याबाट उनको जीवनको प्राण पखेरु उड्यो । तामाङ्गका परिवारकै आग्रहमा पश्चिम अस्ट्रेलियावासी सम्राटको जीवन बचाउने महाअभियानका जुटेका थिए । अभियन्ताहरुले जीवन संघर्षमा रहेको एउटा उम्दा युवाको जीवन रक्षाका लागि सक्रिय सहभागिता जनाइदिन अपिल गरेका थिए । सहयोगी मनका लागि एनआरएनए पश्चिम अस्ट्रेलियाको खातामा रकम जम्मा गर्न सकिने प्रबन्ध पनि मिलाइएको थियो । तर सुन्दर भविश्यको सपना बोकेर अष्ट्रेलिया आएका तामाङ्गको निधनले पर्थवासीहरु विक्षिप्त बनेको एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक दिपक बस्नेत बताउँछन् ।

यता सिड्नीमा रहेकी रश्मि लेखकको उपचारको क्रममै निधन भएको खबरले यहाँको नेपाली समाज विक्षिप्त बनेको छ । हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका नन्द गुरुङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गर्दै भनेका छन् आफूले सपथ ग्रहण गरेकै दिनको २४ घण्टाका आसपासमा तीन नेपाली भाईबहिनीको निधनको खबर पाउँदा म दुःखित बनेको छु ।’ त्यसो त रश्मिको उपचारका क्रममा एनआरएनएले सहयोग गरेको थियो भने निधन भएको खबरसँगै अन्तिम संस्कारका कार्यका लागि समेत सहयोग गरिसकेको पनि गुरुङ्गले बताए ।

अष्ट्रेलियामा नेपालीहरुको संख्यामा द्रुततर गतिमा बृद्धि भएसँगै यहाँ विभिन्न प्रकारका मानसिक रोग, दीर्घ रोग, आर्थिक अभाव, जुवाको लत, सवारी दुर्घटना र समुन्द्रमा डुबेर नेपालीहरुको निधन हुने संख्यापनि त्यतिकै बढेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित