एनआरएनए प्रतिनिधि छनोट : विधानविपरीत आएका प्रतिनिधिहरु अस्वीकार, सेल्फी अनिवार्य, तीन दिनभित्र अपटेड गर्न निर्देशन

एनआरएनए प्रतिनिधि छनोट : विधानविपरीत आएका प्रतिनिधिहरु अस्वीकार, सेल्फी अनिवार्य, तीन दिनभित्र अपटेड गर्न निर्देशन
युरोपनेपाली खबर २०७८ भदौ ११ शुक्रबार, 27-08-2021


पोर्चुगल । गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा सहभागि हुने मतदाताहरुको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिइएको छ । अन्तराष्ट्रिय समन्वय परिषद्ले विधानविपरीत आएका प्रतिनिधिहरुको नामावलीलाई अस्वीकार गर्दै प्रक्रिया पुर्याएर तीन दिनभित्र मतदाताहरुको विवरण पुनः पठाउन निर्देशन दिएको हो ।

यसअघि संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई अगष्ट १५ सम्म केन्द्रीय प्रतिनिधिहरुको विवरण पठाउन भनेको थियो । तर कतीपय एनसिसीहरुमा प्रतिनिधिको विषयमा विवाद भएपछि विधानभन्दा बाहिरबाट पनि नामावली आएको भन्दै संघले थप तीन दिनको समयसीमा तोकेको हो ।

संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदान प्रक्रियामा सहभागी हुने प्रतिनिधिहरुले लिखित विवरणहरु सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र पठाउन संघले निर्देशन दिएको हो ।

‘आवश्यक विवरण नपुगेका प्रतिनिधिहरुको जानकारी एनसिसिमा पठाईसकेकोले सम्बन्धित एनसिसि सँग सम्पर्क गरी मागिएको विवरण सचिवालयको आधिकारीक इमेलमा पठाउन हुन अनुरोध गरिन्छ । विवरणमा गैर आवासीय नेपालीको हैसियत खुल्ने कागजातहरु, हालसालै खिचेको फोटो, सम्बन्धित प्रतिनिधिहरुको इमेल, फोन नम्बर मागिएको समेत जानकारी गराउँदछौ’, जारी विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, पहिले सेल्फी अपलोड नगरेको भए सेल्फी अनिवार्य रुपमा Smart NRNA Android/IOS Mobile App बाट अपलोड गर्न पनि आग्रह गरेको छ ।

विधानको उपदफा १३.७ (ग) अनुसार ६५ प्रतिशत प्रतिनिधिहरु र महिला, युवा सहित गैर आवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट १० प्रतिशत वर्तमान राष्ट्रिय समन्वय परिषद्ले मिति १५ अगष्ट २०२१ भित्र सिफारिस गरेको नामावलीलाई भने मान्यता दिइने विज्ञप्तिमा जनाइएको छ ।

उता विधानको उपदफा १३.७ (क) अनुसार निर्वाचित हुने २५ प्रतिशत प्रतिनिधिहरुको सम्बन्धमा केही राष्ट्रिय समन्वय परिषदहरुमा समस्या देखिएकोले सम्बन्धित राष्ट्रिय समन्वय परिषदहरुलाई पत्राचार समेत गरिएको संघले उल्लेख गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित