चाटर्ड एकाउन्टेन्टहरुको अन्तरराष्ट्रिय संस्थामा उम्मेदवार बन्दै बेलायतका दाहाल

चाटर्ड एकाउन्टेन्टहरुको अन्तरराष्ट्रिय संस्थामा उम्मेदवार  बन्दै बेलायतका दाहाल
११ जुलाइ २०२०

लण्डन । बेलायतका एकजना स्थापित चाटर्ड एकाउन्टेन्ट एवम वरिष्ठ लेखापरीक्षक कृष्णप्रसाद दाहाल संसारभरका प्रोफेसनल एकाउन्टेन्टहरुको प्रतिनिधिमुलक गरिमामय संस्थामा उम्मेदवार बन्ने भएका छन् ।

दाहालले एकाउन्टेन्टहरुको अन्तरराष्ट्रिय संस्था एशोसिएसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसीए) को काउन्सिल सदस्यमा उम्मेदवारी दिने भएका हुन् । हाल उनि एसिसीएको ग्लोबल फोरुम तथा लन्डन हयारो प्यानलका समेत सदस्य छन ।

विश्वभरका ७ लाख बढी प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरु सदस्य रहेको यो संगठनमा सक्रिय सदस्यहरु मात्रै अहिले २ लाख २७ हजार छन् ।

यहि संस्थाको विभिन्न देशका तर्फबाट आउँदो अक्टोबरमा काउन्सिल निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने बताउंदै दाहालले विश्वभरका प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरु आबद्ध प्रतिष्ठित संस्थाको काउन्सिल मेम्बरका रुपमा संस्थालाई अझ बढि समावेशी, ग्लोबल र प्रभावशाली रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दाहाल नेपालका चार्टड एकाउन्टेन्टहरुको संस्था आइक्यानका पूर्व काउन्सिल मेम्बर समेत हुन् । उनी विगत १५ वर्षदेखि बेलायतमै रहेर काम गर्दै आएका छन् । उनी लण्डनस्थित फोकस सोमर अडिट एण्ड ट्याक्स एकाउन्टेन्ट्स लिमिटेडका मैनैजिंग पार्टनर हुन्।

'विकास र बिस्तारको ठूलो सम्भावना बोकेको यो ग्लोबल संस्थाको सदस्यको रुपमा म निकै गौरवान्वित छु ।

म सम्पुर्ण सदस्य प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरुलाई आव्हान गर्न चाहन्छु कि मलाई काउन्सिल मेम्बरमा निर्वाचित गरेर संस्थामा योगदान गर्ने मौका दिनुहोस्' भन्दै दाहालले अपील गरेका छन्, 'संस्थाको ग्लोबल पहिचान, व्यवसायिक मुल्य, मान्यता, ग्लोबल विज्ञता, प्राविधिक सीप र च्यारिटी स्पिरिटलाई परिस्कृत गर्दै विश्वभर उत्कृष्ट व्यवसायिक शिक्षाको बिस्तार गर्ने अभियानमा म आफ्नो अनुभव र क्षमता लगानी गर्न चाहन्छु ।’

दाहालले विभिन्न ३ वटा मुल एजेण्डासहित आफुलाई सदस्य एकाउन्टेन्टहरुमाझ प्रस्तुत गरेका छन् । एसिसीएलाई विश्वका हरेक क्षेत्र र मुलुकमा रिकगनाइज गराउन पहल गर्ने, एसिसीए शिक्षा र सदस्यताको लागि लाग्ने शुल्क ठाउं र त्यहांको आर्थिक क्षमताअनुसार समायोजन गराउने तथा विकासशिल देशहरुका क्षमतावान विद्यार्थीलाई प्रोत्साहन गर्न संस्थाबाट आवश्यक सहयोग गराउने लगायतका एजेण्डा अघि सारेका छन् ।

एसिसीएको काउन्सिल निर्वाचनमा संस्थाका सबै मुलुकका सदस्यहरुले अनलाइनबाटै मत दिन सक्नेछन् । आगामी अक्टोबरको १ तारिख खुला हुने अनलाइन मतदान नोभेम्बर १२ तारिखमा बन्द हुनेछ ।

यस अघिको सन् २०१८ को निर्वाचनम़ा उनले करिब १५०० मत ल्याएर राम्रो प्रभाव छोड्न सफल भएका थिए। यस पल्ट उनको एसिसीएमा संलग्नता बढेको र अझ प्रभाकारी ढंगले विश्वभरका सदस्यहरुको नजिक पुग्न सक्ने हुनाले उनको सम्भावना उच्च रहेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित