एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी
युरोपनेपाली खबर २०७८ भदौ २४ बिहीबार, 09-09-2021


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि कुल आचार्यले उम्मेद्वारी दिने भएका छन्। लामो समयदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता, सम्पत्तिको सुरक्षा, नेपालमा लगानी प्रवर्द्धन र सुरक्षित रोजगारी लगायतका विषयहरु उठाउँदै आएका आचार्यले संघको आगामी कार्यकाल २०२१–२०२३ का लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्था निर्माण गर्ने र विदेशीएका नेपालीहरुको पूँजी, सीप नेपालको विकासमा योगदान गराउने कार्ययोजना आफूसँग भएकाले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी दिन लागेको आचार्यले बताए। 

‘म संघमा लामो समयदेखि निस्वार्थ रुपमा खटिँदै आएको मान्छे हुँ, गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा जोडिएको संस्थालाई व्यक्तिगत एवं गुटगत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन भन्ने मेरो स्पष्ट मान्यता रहँदै आएको छ,’ आचार्यले भने, ‘संघलाई संसारभर फैलिएका गैरआवासीय नेपालीको भावनालाई समेटेर साझा थलोको रुपमा विकास गर्नका लागि आदरणीय अग्रजहरु, संसारभर रहनुभएका एनआरएनकर्मी मित्रहरु एवं शुभचिन्तकहरुको आग्रह अनुसार मैले संघको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्धारी दिने निर्णय गरेको छु।’

अध्यक्षका प्रत्यासी आचार्यले अब केही दिनभित्रै औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने समेत तयारी गरेका छन्। संघको संस्थागत सुशासन, गैरआवासीय नेपालीहरुको हकहित, विदेसिएका नेपाली कामदारको पेशागत सुरक्षा,  विदेशमा रहेको पुँजी र सीप नेपाल भित्र्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताए। उनले संविधानमा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकतालाई प्राथमिकतामा राखेका छन्। 

संविधानको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिलाउन संस्थागत पलह गर्ने, थाइल्याण्ड, म्यानमार लगायतका देशमा लामो समयदेखि बसोबास गरिरहेका नेपाली मुलका नागरिकलाई नेपाल सरकारसँग पहल गरि पिपुल अफ नेपाली ओरिजिनको मान्यता दिलाउन पहल गर्ने उनको उद्देश्य छ। त्यसैगरि वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन मध्यपूर्वमा रहेका नेपालीहरुले झेल्दै आएका श्रम स्विकृती लगायतका समस्या हटाउन सरकारसँग पहल गर्ने, सरकारसँगको साझेदारीमा सीप विकास केन्द्रहरु स्थापना गर्ने, कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी गर्न सघाउन एक एनआरएनए एक रोजगार अभियान सुरु गर्ने, प्रवासमा काम गर्ने नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको योजनामा सहभागी गराउन पहल गर्ने योजना छन्। 

त्यसैगरि नेपालमा लगानी प्रवर्द्धन, विदेशमा रहेका नेपालीको सीप, ज्ञान र प्रविधि नेपालमा हस्तान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने, विदेशमा रहेका युवाहरुलाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहिन गर्न विभिन्न कार्यक्रम गर्ने योजना समेत आचार्यले अघि सारेका छन्। 

‘संघलाई स्पष्ट कार्ययोजनासहित पारदर्शी रुपमा अघि बढाउने, गैरआवासीय नेपाली नागरिकता र सम्पत्तिको अधिकारलाई व्यवहारमा स्थापीत गर्ने, नेपालमा वैदेशिक लगानी वृद्धि गर्दै पर्यटन तथा पूर्वाधार क्षेत्रको विकासमा सरकारसँग हातेमालो गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित बनाउने मुद्दाहरु मेरो प्राथमिकतामा छन्,’ आचार्यले भने।

सन् २००३ देखि गैह्रआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए। त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए। संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १ सय ४७ मतान्तरले पराजित भएका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित