परराष्ट्रको पत्रलाई स्पष्ट पारिन्छ, निर्वाचन रोकिन्न : एनआरएनए

युरोपनेपाली खबर २०७८ भदौ २८ आइतबार, 12-09-2021

 

पोर्चुगल । नेपाल सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित निर्देशन दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे छानविन गर्ने र छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनको काम रोक्न आदेश दिएको हो ।तर संघले भने परराष्ट्रको चासोलाई सम्बोधन गरिने तर निर्वाचन नरोकिने जनाएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै भदौ २५ गते जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्टिय समन्वय परिषद् तथा राष्टिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बांकी काम रोक्नू भनिएको छ ।

नेपाल सरकारले एनआरएनए आईसीसीका लागि प्रतिनिधि छान्ने क्रममा विभिन्न देशहरुमा धांधली भएको भन्ने उजुरीहरु प्राप्त भएको भन्दै त्यस्ता उजुरीहरु छानविन गर्न मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ ।

सहसचिव रेग्मी परराष्ट्र मन्त्रालयको नीति,योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुख हुन् । रेग्मीको समितिमा कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य छन् । यो समितिले कति समयमा प्रतिवेदन बुझाउने भन्ने कुरा निर्देशन पत्रमा केही उल्लेख गरिएको छैन । तर, यो समितिले प्रतिवेदन नबुझाउन्जेलसम्मलाई आईसीसी र एनसीसीका निर्वाचनसम्बन्धी सबै काम रोक्न भने आदेश जारी गरिएको छ ।

सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायत, चेक, स्वीजरल्याण्ड, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अष्ट्रीया, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकहरुमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशहरुका निर्वाचनबारे छानविन गरिने उल्लेख गरिएको छ ।


पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितता बारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आईसीसीलाई लगाइएको छ । जापानको निर्वाचनमा एमआईएस सिष्टम प्रयोग गरेको र त्यसमा आफू पक्षधरलाई जिताउन फर्जी मतको प्रयोग भएको आरोप वामपन्थी पक्षलाई लगाइएको छ ।


गैरआवासीय नेपाली संघ सम्बन्धी नियमावलीवमोजिम नै सरकारले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारको पत्रमा भनिएको छ,“गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम उल्लेखति वियाहरुमा अनुगमन गर्न परराष्ट्र मन्त्रायको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन भएको व्यहोरा मिति २०७८ । ५ ।२५ को निर्णयानुसार अनुरोध गरिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित