परराष्ट्रमा जानु बाध्यता : कुल आचार्य

परराष्ट्रमा जानु बाध्यता : कुल आचार्य
युरोपनेपाली खबर २०७८ असोज ०१ शुक्रबार, 17-09-2021


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याएको जनाएका छन्।

संघको आसन्न महाधिवेशनका लागि गरिएको प्रतिनिधि चयनमा संस्थापन पक्षले जबरजस्ती गरेपछि केही सदस्यहरु न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको आचार्यले स्पष्ट पारेका छन् । उनले पटक पटक आइसीसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि परराष्ट्र मन्त्रालय जानु वाध्यता भएको बताए ।

‘साथीहरु रहरले नभई वाध्यताले परराष्ट्र मन्त्रालय जानु भएको हो । पटक पटक आइसीसीमा उजुरी गर्दा र निवेदन दर्ता गर्दासमेत कुनै सुनुवाइ नभएपछि उहा हरु बाध्य भएर अनियमितता विरुद्ध मन्त्रालय जानु भएको हो । उहांहरु न्यायका लागि जानु भएको हो, यसलाई अन्यथा मान्नु हुँदैन,’ उनले भने ।

बिहीबार साँझ विभिन्न संचारमाध्यमसंग आबद्ध पत्रकारहरुसँग भर्चुअल अनौपचारिक छलफल गर्दै अध्यक्षका उम्मेदवार आचार्यले भने, ‘हामी हाम्रो पक्षमा निर्णय होस् भन्ने चाहना राख्दैनौं, संस्थाको पक्षमा निर्णय होस् भन्ने चाहन्छौं, संस्थालाई मर्यादा भित्र राख्न मात्रै खोजेका हौं ।’

संघले आइसीसीका पदाधिकारीहरुले तोकिएको म्याद भन्दा पछि छुट्टै नियमावली बनाएर विधानकै उल्लंघन गरेको जनाए ।

संघका सल्लाहकारसमेत रहेका आचार्यले केही पदाधिकारीहरु संस्थामा आफ्नो स्वार्थसिद्धि गर्न लागेको आरोप लगाए । सहमतिमा तयार पारिएको विधानलाई अपव्याख्या गर्दै आफूखुसी नियमावली बनाउने र समयसीमाको समेत वास्ता नगर्ने काम केही पदाधिकारीले गरेको उनको भनाइ थियो ।

विवादित एनसीसीहरुका बारेमा केही नबोल्ने र जहाँ विधिसम्मत निर्वाचन भएका छन्, तीनै एनसीसीलाई विवादित एनसीसीका रुपमा चित्रण गर्ने काम भएको उनले दाबी गरे । आइसीसीकै अधिकांश पदाधिकारी र सदस्यहरु आइसीसीको निर्णय र निर्देशनका बारेमा बेखबर रहेको उनले बताए । ‘सचिवालयमा सल्लाह हुँदैन, पदाधिकारीबीच छलफल हुँदैन, कसले कसरी र किन यसो गरिरहेको छ ?’ उनले प्रश्न गरे ।

गैर आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले संघले परराष्ट्र मन्त्रालयसँग मिलेर नै काम गर्नुपर्ने बताए । ‘संघको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘सरकार कुन पार्टीको हुन्छ भन्ने कुरा गौण हो ।’

विधानको अपव्याख्या

जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नभएको बताए ।

सोही अन्तरक्रियामा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष एवम् आगामी महाधिवेशनमा महासचिवका उम्मेदवार डा. केशव पौडेलले नेतृत्वले विवादित ठाउँलाई बेवास्ता गर्ने र नियमसम्मत रुपमा अधिवेशन भएका देशका प्रतिनिधिहरुलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको बताए ।

‘परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्नुमा कुनै तुक छैन,’ पौडेलले भने, ‘जसरी विशेष महाधिवेशन जबरजस्तीमा गरिएको थियो, अहिले पनि जबरजस्तीमै महाधिवेशन गर्न खोजिँदै छ, जुन स्वीकार्य छैन ।’

पौडेलले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउनु पर्ने आफुहरुको माग रहेको बताउँदै निष्पक्ष निर्वाचन हुन नदिन भ्रम सिर्जना गर्ने काम भइरहेको पनि दाबी गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित