एनआरएनए अध्यक्षमा रविना थापा र महासचिवमा विनय अधिकारीको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापा र महासचिवमा विनय अधिकारीको उम्मेदवारी घोषणा
युरोपनेपाली खबर २०७८ असोज ७ बिहीबार, 23-09-2021


युरोप । गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनको टीमबाट विनय अधिकारीले महासचिवमा उम्मेदवार दिने भएका छन् ।

दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा रसियाका डा. बद्री केसी र बेलायतका कुल आचार्यले पनि उम्मेदवारी दिने तयारी गर्दै आएका छन् । थापा र आचार्यलाई  कांग्रेस निकट र डा. बद्री केसीलाई बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको रुपमा हेरिदै आएको छ ।

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’

थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन् । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ थापाले भनिन् ।

उनले परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको बताइन् । ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ’ थापाले भनिन् ।

कार्यक्रममा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट नै महिला उपाध्यक्षमा चुनाव जितेकी थिइन् । तर आउँदो अक्टोबरमा हुने संघको दशौं महाधिवेशनमा कांग्रेस निकट ठानिएका थापा र आचार्य  तथा बाम- लोकतान्त्रिकका  केसीले  उम्मेदवारी दिएमा एनआरएनको आगामी नेतृत्वका त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित