प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट हुने

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण  स्कटल्याण्डबाट  हुने
युरोपनेपाली खबर २०७८ असोज ८ शुक्रबार, 24-09-2021


युरोप । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट प्रारम्भ हुने भएको छ।

स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड आउन लागेका हुन्।

बेलायती कूटनीतिज्ञ एवं कोप-२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने बताए।

'मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी छ,' कँडेलले भने, 'नोभेम्बर १ र २ मा ग्लोबल लिडर समिट हुँदैछ। त्यसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछ। प्रधानमन्त्री देउवा सोही समिटमा सहभागी हुनु हुनेछ।'

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी सम्मेलनमा सहभागी हुने चर्चा चलेको थियो। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले निम्तो प्राप्त भए पनि निधो नभएको बताए।

'निम्तो आएको थियो। तर निधो भएको थिएन। विभिन्न समयमा आएका डेलिगेसनहरूले नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता होस् भनेका थिए,' ढकालले भने, ‘कोप-२६ मा सहभागिताबारे सरकारको निर्णय भएको थिएन। अहिले सरकारले प्रधानमन्त्री जाने निर्णय गरिसकेको थाहा पाएका छौं।'

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ। नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ।

संयुक्त राष्ट्रसंघको महासभामा केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनले असर पारेका मुलुकलाई ५.७ बिलियन डलर सहयोग गर्ने घोषणा गरेको ब्लुमबर्गले जनाएको छ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले पनि आफ्नो देश बाहिर कोइलाबाट विद्युत उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरिसकेका छन्। गत महिना सार्वजनिक भएको अन्तर सरकारी समूहको जलवायु परिवर्तनसम्बन्धी अध्ययनले विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमालमा हिउँ घट्ने र गर्मी बढ्ने उल्लेख गरेको थियो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित