कन्हैया कुमार कसरी कम्युनिस्टबाट काँग्रेस भए, यस्ता छन् ६ कारण

कन्हैया कुमार कसरी कम्युनिस्टबाट काँग्रेस भए, यस्ता छन् ६ कारण
युरोपनेपाली खबर 10-01-2021


केही समय अघिदेखिको चर्चा र हल्लालाई सत्य सावित गर्दै भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे ।

कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले यसलाई रोक्न कांग्रेस प्रवेश गरेको तर्क गरे । यसअघि कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, व्यापक चर्चाका बाबजुद पनि भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए ।

कम्युनिष्ट प्रशिक्षणबाट हुर्किएका एक जना मेधावी र उदियमान युवा नेता कांग्रेस किन छिरे ?  जवाफ खोज्न दक्षिण एसियाली राजनीति र खासगरी भारतीय राजनीतिका केही प्रसंगहरू कोट्याउनुपर्ने हुन्छ ।

१. कमजोर कम्युनिष्ट र चुनावी परिणामको चिन्ता

अहिले भारतमा कम्युनिष्ट पार्टी निकै कमजोर अवस्थामा छ । कुनैबेला ६८ सिट जितेको पार्टी अहिले संघीय संसदमा केवल ४ सिटमा खुम्चिएको छ । आउने निर्वाचनमा शून्यमा हराउने सम्भावना बलियो छ । अहिले जितेको चारै सिट तामिलनाडुबाट हो । तर यो क्षेत्र कम्युनिष्ट पार्टीको आधार क्षेत्र होइन । बरु केरला, त्रिपुरा, बिहार, पश्चिम बंगाल सापेक्षित रूपमा कम्युनिष्टको आधार क्षेत्र हो । यी ठाउँमा पनि असाध्यै कमजोर भइरहेको बेला तामिलनाडुबाट भर पर्न सक्ने सम्भावना रहेन नै ।

बीजेपीका समर्थकहरूले कन्हैया कांग्रेस छिरेसँगै वैचारिक हमला तीव्र बनाएका छन् । ‘हर नालीका सपना होता है की एक दिन गटर में जाकर मिले,’ कन्हैया कांग्रेस छिरेपछि एक आलोचकले सामाजिक सञ्जालमा लेखेका छन् । यस्ता वैचारिक/राजनीतिक हमला बढ्न सक्छन्, तर उनले अब भौतिक रूपमा भने यसअघि भन्दा सुरक्षा महसुस गर्नेछन् ।

संसदीय निर्वाचनमा उपस्थिति देखाउन सक्ने गरी अब कम्युनिष्ट पार्टीको थोरै आधार बाँकी रहेको केरलामा मात्रै हो । संघीय संसदको त कुरै छाडौं, पश्चिम बंगालमा विधानसभामै कम्युनिष्ट शून्य भए । विधानसभामा साना-साना एकाई हुन्छन् तर पनि एक सिट ल्याउन सकेन ।

त्यसैले कन्हैया कुमारलाई चुनावी राजनीतिक परिणामको पनि चिन्ता हुनसक्छ । आफ्नै जीवनकालमा पार्टीलाई ठूलो बनाएर चुनाव जित्न सक्छु भन्ने आत्मविश्वास उनमा देखिएन । जुन अस्वभाविक पनि होइन । यस्तो पार्टी जहाँ न युवाहरूको भविष्य छ, न भविष्यका लागि कुनै भिजन अर्थात् दूरदृष्टि छ, त्यहाँ बस्न कन्हैयाले इन्कार गरिदिए र कांग्रेसमा छिरे ।

२. विभाजनको उत्कर्षमा कम्युनिष्ट

सर्वहारा वर्गको मुक्तिका लागि संसारका सर्वहाराहरूको एकीकृत आन्दोलनको पैरवी गर्ने कम्युनिष्ट पार्टी आफैं भने विभाजनले टुक्राटुक्रा बनेको छ । नेपालमा जस्तो अवस्था छ, भारतमा पनि त्यस्तै छ । जेएनयूकी विद्यार्थी नेतृ साहिला रसिदका अनुसार भारतमा कम्युनिष्ट पार्टी ३२ वटा टुक्रामा विभक्त छन् । कन्हैया आवद्ध  भारतीय कम्प्युनिष्ट पार्टी (सीपीआई) सीपीएम जत्ति ठूलो पनि छैन ।

कम्युनिष्ट पार्टीमध्ये पहिलो ठूलो दल सीपीएम हो । तेस्रो ठूलो दल सीपीआई एमएलले धैर्यता र मिहिनेत गरेर सिट बढाउन सफल भएको छ । उसले विधानसभामा गठबन्धन गरेर १६ सिट ल्याउन सक्यो । पहिला दोस्रो ठूलो रहेको सीपीआई भने अहिले तीव्र रूपले खुम्चिँदै गइरहेको छ । सपना ठूलो तर सपनालाई विपना बनाउने साधन पार्टी भने साँघुरिँदै गइरहेको छ । कन्हैया कम्युनिष्ट बनिरहन नसक्नुको अर्को कारण यो पनि हो ।

३. सुरक्षाको खोजी

कन्हैयाको राजनीतिक कद र आयतन जति बढ्दै थियो, उनले सत्तारुढ दल बीजेपी र सरकारबाट त्यति नै असुरक्षित महसुस गरे । अहिलेसम्म पनि उनले सुरक्षा खतरा महसुस गर्दै आएका छन् । त्यसैले उनी आफूलाई सुरक्षा दिनसक्ने बलियो संरक्षकको खोजीमा थिए ।

भौतिक हमलाको जोखिम त छँदैथियो, उनलाई भारत सरकारले राहदानी समेत दिएको छैन । मोदी सरकारले उनलाई विदेश जाने अनुमति पनि दिएको छैन । यसरी एउटा सानो पार्टीको शक्तिशाली नेताको आकार ग्रहण गरिरहेका उनीमाथि बीजेपीका भातृ संस्था र सरकारबाटै एकप्रकारको सुरक्षा जोखिम थियो ।

त्यसो त, बीजेपीका समर्थकहरूले कन्हैया कांग्रेस छिरेसँगै वैचारिक हमला तीव्र बनाएका छन् । ‘हर नालीका सपना होता है की एक दिन गटर में जाकर मिले,’ कन्हैया कांग्रेस छिरेपछि एक आलोचकले सामाजिक सञ्जालमा लेखेका छन् । यस्ता वैचारिक/राजनीतिक हमला त बढ्न सक्छन्, तर उनले अब भौतिक रूपमा भने यसअघि भन्दा सुरक्षा महसुस गर्नेछन् ।

साथै, उनले आफ्नो कुरा सुनाउने कार्यकर्ता र शुभचिन्तकको संख्या पनि बढाएका छन् । कुनै पनि नेताको सुरक्षा सही कार्यदिशा र विशाल कार्यकर्ता पंक्तिको सद्भावले नै गर्नसक्छ ।

४. निर्वाचन प्रणाली र आर्थिक व्यवस्थापन 

कन्हैया एक न्यून वर्गीय परिवारका सदस्य हुन् । बिहारको एउटा सामान्य परिवारको मान्छे जेएनयुमा अध्ययनरत रहँदा चर्चाको शिखरमा पुगे । ‘एन्टी-बीजेपी’ दृष्टिकोण राख्ने नागरिक समाजको सद्भाव र सञ्चार माध्यममा स्थान पनि पाएँ । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचारहरू शक्तिशाली ढंगले राख्दै उनी करोडौंको लोकप्रिय नेता बन्न सके । तर लोकप्रियताले मात्रै दक्षिण एसियाली चरित्रको राजनीतिमा टिक्न सम्भव हुँदैन ।

भारतीय राजनीतिमा कैयौं अदृश्य विकृत पाटाहरू छन्, त्यसबाट भागेर राजनीति गर्न मुस्किल छ । निर्वाचन प्रणालीका कारण आर्थिक व्यवस्थापन कठिन काम हुने गरेको छ । जति कमजोर भए पनि भारतमा यस्ता स्रोत व्यवस्थापन गर्न सक्ने बीजेपीपछिको अर्को पार्टी कांग्रेस आई नै हो ।

बीजेपीविरोधी सेन्टिमेन्ट भएका आर्थिक-राजनीतिक शक्ति केन्द्रको सहानुभूति कांग्रेसले पाउन सक्छ । अन्य क्षेत्रीय पार्टीले आफ्नो पकड क्षेत्रमा आर्थिक व्यवस्थापन गर्लान् तर कन्हैयाका लागि संघीय रूपमै प्रभाव देखाउन सक्ने विकल्प कांग्रेस मात्रै हुनसक्थ्यो ।

५. बृहत्तर प्रभावको खोजी 

अहिले जति कमजोर बने पनि सिंगो भारतभर फैलिएको पार्टी कांग्रेस र बीजेपी नै हुन् । भारतमा केन्द्र शासित र अर्ध स्वायत्त गरेर ३४ वटा एकाई छन् । सबै राज्यमा संगठन विस्तार भएको पार्टी बीजेपी र कांग्रेस आई मात्रै हुन् ।

कुनै एउटा प्रदेशमा मात्रै खुम्चिएर राजनीति गर्न शायद कन्हैयालाई मन लागेन । उनले सिंगो भारतको नेतृत्व गर्न सक्ने गरी क्षमता र प्रभाव विस्तार गर्ने विकल्प खोज्न थाले । यसको लागि उपयुक्त पार्टी कांग्रेस नै हुनसक्थ्यो । कांग्रेसले एकप्रकारले नेतृत्व संकटको पनि सामना गरिरहेको छ । त्यहाँ राजनीति गर्ने पर्याप्त स्पेस पनि छ ।

६. प्रगतिशील कांग्रेस !

अब भारतमा विस्तारै मानिसहरूलाई कांग्रेस एक प्रगतिशील शक्ति हो भन्ने लाग्न थालेको छ । खासगरी बीजेपीले कट्टर हिन्दुवादी राजनीति अगाडि बढाएपछि भारतीयहरूलाई यस्तो लाग्न थालेको हो ।

मतदातालाई हिजो लामो समय सत्ता चलाउँदा आर्थिक विकास भएन र लोकतन्त्र सुस्त भयो भन्ने अनुभूति भएको थियो । परिवारवादको आरोप पनि कांग्रेसमाथि लाग्ने गरेको थियो । यही पृष्ठभूमिमा अन्ना हजारे र आम आद्मी पार्टीहरू सतहमा आउन सके । ‘एन्टी कांग्रेस’ आन्दोलनहरू नै भए । यसको फाइदा बीजेपीलाई पनि गयो ।

कुनै पनि पार्टीको उदय र पतनका लागि केही ऐतिहासिक घटनाक्रम जिम्मेवार हुन्छन् । भारतमा बीजेपी उदयका तीन संयोग छन् ।

१. निरन्तरको धैर्यता : बीजेपी अहिलेको अवस्थामा आइपुग्न उसले लामो धैर्यता कायम राख्न सक्नु एउटा महत्वपूर्ण कारण हो । आरएसएसलाई पनि जोडेर हेर्दा बीजेपी करिब एक सय वर्ष लामो इतिहास भएको पार्टी हो । असाध्यै दुःखमा पनि टिकिराख्ने र जोगिइराख्ने धैर्यता बीजेपीले देखाउन सक्यो । बहुदलीय लोकतन्त्रमा देखिने गम्भीर संकटबीच कतिपय पार्टीहरू हराएर गएका इतिहास पनि संसारमा छन् । जस्तै दुःखमा पनि टिक्न सकेकोले बीजेपीप्रति कतिपय मानिसको सकरात्मक धारणा पाइन्छ ।

२. नागरिक आन्दोलन : अन्ना हजारे, स्वामी रामदेव र आम आद्मीले ‘एन्टी-कांग्रेस अभियान’ चलाएर कांग्रेस भनेको भ्रष्टहरूको पार्टी हो भनेर स्थापित गर्न सघाए । केही संयोगहरूले पनि सघाए । प्रियंकाका पति रबर्ट भद्रा त्यतिबेला आर्थिक अनियमितताका केही घटनामा जोडिएका थिए । परिवारवाद थियो नै ।

कन्हैया बदलिएको सन्दर्भमा बीजेपीको विकल्प कांग्रेस मात्रै हुनसक्छ भन्ने निष्कर्षमा पुगे । बुढो रुख काटेर ढाल्नु छ, हातमा चक्कु मात्रै छ । रुखभन्दा पहिला आफ्नै जीवन ढल्ने गरी चक्कुले भीमकाय रुखको फेद चिथोरेर बस्ने कि शक्तिशाली हतियार प्रयोग गरेर काम छिट्टै तमाम गर्ने ? कन्हैयाले दोस्रो विकल्प रोजे ।

३. गुजरात मोडेल र मोदीको उदय : नरेन्द्र मोदी आफ्नो कद अग्लो बनाइरहेका थिए । गुजरात मोडेल सफल हुँदै थियो र यसको आदर्शीकरण भइरहेको थियो । कांग्रेससँग मानिसहरू वाक्कदिक्क भइरहेको बेला मोदी आफ्नो राजनीतिक स्पेस फराकिलो बनाइरहेका थिए । उनको लोकप्रियता चुलियो । फलस्वरूप, कांग्रेसले नराम्ररो पराजय व्यहोर्‍यो ।

कांग्रेसले लामो समय शासन गरिरहेको बेला मान्छेहरू कोल्टे फेर्न चाहन्थे । विकल्पको खोजी यस्तै बेलामा हुने रहेछ । देशभर संगठन भएको बीजेपी बाहेक त्यतिबेला अरु पार्टी सिङ्गो देशको नेतृत्व गर्न तयार नै थिएनन् ।

यो अवस्था अहिले पुनः फेरिएको छ । मानिसहरू पुनः कोल्टे फेर्न चाहन्छन् अथवा विकल्प खोजी गरिरहेका छन् भन्ने संकेत देखा पर्न थालिसकेको छ । जसरी पहिला ‘कांग्रेसविरोधी ध्रुवीकरण’ थियो, अहिले ‘बीजेपीविरोधी ध्रुवीकरण’ शुरु भएको छ । हालसालै नयाँ दिल्लीमा २२ पार्टीहरूको बैठक बस्यो । विपक्षी दलहरूको उक्त बैठकमा आम आद्मी पार्टी पनि सहभागी थियो । आउने चुनावमा बीजेपी बाहेकको सबै पार्टीहरूको एउटै चुनावी गठबन्धन बनाउने कि भन्नेसम्मको छलफल भयो । यस्तो अवस्थामा शक्तिशाली पार्टी त पुनः कांग्रेस नै हुन्छ ।

कन्हैया बदलिएको सन्दर्भमा बीजेपीको विकल्प कांग्रेस मात्रै हुनसक्छ भन्ने निष्कर्षमा पुगे । बुढो रुख काटेर ढाल्नुछ हातमा चक्कु मात्रै छ । रुखभन्दा पहिला आफ्नै जीवन ढल्ने गरी चक्कुले भीमकाय रुखको फेद चिथोरेर बस्ने कि शक्तिशाली हतियार प्रयोग गरेर काम छिट्टै तमाम गर्ने ? कन्हैयाले दोस्रो विकल्प रोजे । पृष्ठभूमिमा यी वस्तुगत अवस्था विकास भइरहँदा कन्हैयालाई ‘पहाड खन्ने दशरथ माझी’ को लोककथाले सम्मोहित बनाउन सकेन ।

६. उस्तैउस्तै कम्युनिष्ट र कांग्रेस

पटकपटकको अवसर सदुपयोग हुन नसकेपछि भारतमा साम्यवादी राजनीति निकै कमजोर बनिसकेको छ । नक्सलवादी आन्दोलनको बेला विचारको कुरा उचाइबाट गरिन्थ्यो । आस्था र निष्ठाको कुरा पार्टी स्थापना र विकासको बेला बढी आदर गर्ने विषय थियो । तर समयक्रमसँगै भारतीय राजनीतिमा कम्युनिष्ट राजनीतिको भाष्य र चरित्र दुवै धुस्रेफुस्रे बन्न पुग्यो । अहिले न आदर्शअनुसारको चरित्र भएका नेता छन् न प्रखर वक्ता र वैचारिक उचाइ भएका नेता ।

जात र वर्णव्यवस्थाले थिलथिलो भएको समाज छ जहाँ पटकपटकका असफल अभ्यास र प्रयासहरूले मार्क्सवाद सम्पूर्ण उपचार बन्न नसक्ने पुष्टि भइसकेको छ । क्रान्तिकारी भूमिसुधार, नि:शुल्क शिक्षा र स्वास्थ्य आदिको नारा अब कम्युनिष्टले नै लगाउँदा पनि नपत्याउने अवस्था सिर्जना भएको छ । किनकि नजिकबाट नियालिरहेका मतदाताले सबै कुरा देखिरहेका छन् ।

बीजेपीसँग तुलना गर्दा भारतको कांग्रेस पार्टी पनि कम्युनिष्ट जस्तै लाग्छ । धर्मनिरपेक्षताको वकालत, दक्षिणपन्थ एवं धार्मिक अतिवादको विरोध र बहुसांस्कृतिकवादको पक्षपोषण कांग्रेसले पनि गरिरहेकै छ । दस्तावेजमा समाजवाद र नवउदारवादका कुराहरू फरक होलान् । तर भारतको विविधतापूर्ण समाज र खुला लोकतन्त्रलाई हेर्ने दृष्टिकोण एउटै छ । त्यसो त दक्षिण एसियामा दस्तावेजअनुसार चलेका पार्टी कहाँ छन् र ?

चरित्रका हिसाबले त नेपालका कम्युनिष्टहरू पनि एकप्रकारले कांग्रेस नै हुन् । चरित्र र जीवन व्यवहार हेर्दा कम्युनिष्ट र कांग्रेसमा खासै भिन्नता देखिँदैन । भाष्यले बनाएका भिन्नताका पर्खालहरू व्यवहारले भत्काइसकेको छ । व्यवहारको कसीमा भन्न सकिन्छ- दक्षिण एसियामा कम्युनिष्ट र कांग्रेस भन्नु एउटै हो ।

कांग्रेस छिरे पनि कन्हैयाले कम्युनिष्ट पार्टीमा हुँदाजस्तै गान्धी, अम्बेड्कर, भगत सिंह र सुवासचन्द्र बोसलाई मन खोलेर सम्झन सक्नेछन् । बरु अब उनी शक्तिशाली ढंगले सम्झन सक्नेछन् । किनकि उनको पछि एक संघीय शक्ति हुनेछ- कांग्रेस आई ।

संकटमा रहेको कांग्रेस पार्टीलाई ‘रिइन्जिनियरिङ’ गरेर बीजेपीविरुद्धको बलियो पार्टी बनाउन विचारधारात्मक हिसाबले पनि सम्झौता गर्न तयार छ । यस्तो अवस्थामा कन्हैयाले कांग्रेसलाई मध्यमार्गी कि सशक्त मध्यवामपन्थी पार्टी बनाउने भन्ने बहसमा अर्थपूर्ण भूमिका खेल्न र पार्टीलाई विचारधारात्मक रूपमा थप बलियो बनाउन सक्छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित