अनेसास विओटी अध्यक्ष गीता खत्रीको नियात्रा संग्रह उडेको आकाश डुलेको धर्ती विमोचन

अनेसास विओटी अध्यक्ष गीता खत्रीको नियात्रा संग्रह उडेको आकाश डुलेको धर्ती विमोचन
युरोपनेपाली खबर २०७८ कार्तिक ४ बिहीबार, 21-10-2021


युरोप । लामो समयदेखि अमेरिका, न्यूयोर्कलाई कर्म थलो बनाउँदै आउनुभएकी वरिष्ठ साहित्यकार ( गीतकार, कथाकार, कवि तथा नियात्राकार) अनेसास विओटी अध्यक्ष गीता खत्रीको नविनतम नियात्रा कृति “उडेको आकाश डुलेको धर्ती” आज बिहिवार वरिष्ठ साहित्यकार तथा सताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा काठमाण्डौमा भब्य विमोचन भएको छ। 

कोरोना कहरलाई मध्य नजर गर्दै केही वरिष्ठ साहित्यकारहरूका विच सताव्दी पुरुष सत्यमोहन जोशीकै निवासमा उक्त कृति विमोचन भएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कृतिकार अनेसास विओटी अध्यक्ष गीता खत्री, वरिष्ठ साहित्यकार तथा अनेसास विओटी सल्लाहकार डा. खगेन्द्र लुइटेल, वरिष्ठ साहित्यकार तथा अनेसास केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली, अनेसास केन्द्रीय सचिव बिमला निरौला, अनेसास पुरस्कार समितिका सदस्य एवम् अनेसास वोस्टर्न च्याप्टर अध्यक्ष दीपा राइ पुन, अनेसास केन्द्रीय सदस्य डा. रेणुका शोलु, विशिष्ट नियात्राकार युवराज नयाँघरे, साहित्यपोस्टका प्रधानसम्पादक तथा साहित्यकार आश्वीनी कोइराला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी , उपाध्यक्ष द्वय सरिता अर्याल र राजेन्द्र के.सी. लगायतको उपस्थितिमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । अनेसास नेपाल च्याप्टरको आयोजनामा संस्थाका अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र के.सी. ले अतिथिहरूलाई शब्दगुच्छाद्वारा स्वागत गर्नुभएको थियो भने युवराज नयाँघरेले कृतिका बारेमा प्रकाश पार्नुभएको थियो। उपस्थित अतिथिले कृति सफलताका लागि शुभकामना दिनुभएको थियो भने कृतिकार तथा वरिष्ठ साहित्यकार गीता खत्रीले आफ्नो नविनतम कृतिलाई पनि अरू कृतिहरूलाई जस्तै अपार माया दिनुहुन अनुरोध गर्दै कोरोना कहरको जोखिमपूर्ण यो समयमा धेरै भीड नगरौँ भन्ने सन्देश दिनका लागि सबैजनालाई कार्यक्रममा डाक्न नसकिएको जानकारी पनि गराउँनु भयो। हामीले आफ्नो निजी स्वार्थका लागि अरूको जीवनसँग खेलवाड नगरौँ भन्ने लागेर मनले चाहेर पनि धेरै जनालाई कार्यक्रममा बोलाउन नसकिएको उहाँको भनाई थियो। कोरोना कहरको यो अवस्थामा उत्कृष्ट सुचबुझ सहित साहित्यकार तथा पाठकको स्वास्थ्यप्रति सजग भएर गरिएको सो कार्यक्रम उत्कृष्ट कार्यक्रम भएको उपस्थित वरिष्ठ साहित्यकारहरूको भनाई रहेको थियो। कृति विमोचन कार्यक्रम अनेसास नेपाल च्याप्टर उपाध्यक्ष सरिता अर्यालले सञ्चालन गर्नुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित