पोर्चुगल पराजित हुँदा विश्वकपको यात्रा कठिन, छनौटका लागि यस्तो छ प्लेअफ यात्रा

पोर्चुगल पराजित हुँदा विश्वकपको यात्रा कठिन, छनौटका लागि यस्तो छ प्लेअफ यात्रा
युरोपनेपाली खबर २०७८ कार्तिक २९ सोमबार, 15-11-2021


एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट विश्वकपमा स्थान पक्का गरेको छ ।

पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो । लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन । ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । घरेलु टोली पोर्चुगलले सर्वियासँग बल पोसेसन समेत गुमाएको थियो ।

खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३-० ले पराजित गरेको ट । आयरल्यान्डको जितमा सेन डुफी, चिडोजी ओग्वेने र कलुम रोविन्सनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

छनौटका लागि यस्तो छ प्लेअफ यात्रा

फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ ।

यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल र फाइनल गरेर दुई चरणको १-१ खेलमा विभाजन गरिएको छ । प्लेअफ अन्तर्गतका खेलहरु अर्को वर्ष मार्च महिनामा हुनेछन् ।

पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन् । प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ । प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् । ड्र मार्फत १२ टोलीलाई विभिन्न तीन समूहमा राखिनेछ । पोर्चुगलले अब दुई खेल जिते विश्वकपमा छनोट हुनेछ ।

पोर्चुगलसँगै स्विडेनले पनि प्लेअफ चरण खेल्ने पक्का भइसकेको छ । यस्तै स्कटल्यान्ड, नर्थ म्यासेडोनिया र रुसले पनि प्लेअफमा स्थान पक्का गरेका छन् । अन्य समूहको दोस्रो स्थानको छिनोफानो हुन भने केहि दिन लाग्नेछ ।

अहिलेको अवस्थामा वेल्स, फिनल्यान्ड, टर्की, पोल्यान्ड र स्विटजरल्यान्ड दोस्रो स्थानमा छन् । नतिजा आफू अनुकुल नआएको खण्डमा नेदरल्यान्ड्स र इटाली पनि प्लेअफमा झर्ने सम्भावना छ । नेसन्स लिगको वरीयताबाट अहिलेको अवस्थामा अष्ट्रिया र चेक रिपब्लिक भने अघि बढ्ने समीकरण छ ।

फिफा विश्वकप २०२२ कतार नोभेम्बर २१ देखि डिसेम्बर २१ सम्म हुनेछ । विश्वकपकै लागि भनेर क्लब फुटबल नोभेम्बर १२ देखि रोकिनेछन् । डिसेम्बर २६ बाट सिजन सुचारु हुनेछ । अर्को सिजन मे २८ सम्म संचालन हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित