पोर्चुगल । गैरआवासीय नेपाली संघको सचिव पदको लागि उम्मेदवार गंगाधार गौतमले डिसेम्बर अन्तिम साता हुने संघको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहभागी हुन तथा संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दर्ता गर्न मंगलवार काठमाण्डौं पुगेका गौतमले संघको निर्वाचन प्रकृया कुनै पनि हालतमा रोक्न नहुने बताए ।
उनले प्रतिनिधि विवाद सामान्य भएको बताउँदै आपसी सहमतिमा मिलाउन आग्रह गरेका छन् ।
गौतमले नेपालको सबैभन्दा ठूलो, पुरानो, विश्वास र भरोसा योग्य लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसका विदेशस्थित संस्था नेपाली जनसम्पर्क समितिहरूका अधिवेशनहरूको तुलनामा संघको निर्वाचन पूर्ण लोकतान्त्रिक र विधीभित्र रहेको तर्क गरे ।
उनले जनसम्पर्क समितिमा अपनाइएका प्रक्रिया र पद्धतिलाई नजिकबाट महसुस एवं भोगाइले जनसम्पर्क समितिका नेता एवं अभियन्ताहरु विधि, विधान र प्रक्रियामा सञ्चालन नभएको कुरा गरेर कानुन र पद्धतिको माग गर्दै परराष्ट्र मन्त्रालय र अदालत जाने कुरालाई हास्यास्पद भएको जनाए ।
गौतमले नेपाली कांग्रेसले समेत केही जिल्ला र प्रदेशको निर्वाचनलाई स्थगित गरेर केन्द्रीय नेतृत्व चयनमा लागेको तर्क गर्दै संघभित्रमा समस्याको समाधान महाधिवेशनबाटै निकाल्न सकिने बताए ।
गैरआवासीय नेपाली संघमा उत्पन्न असहज परिस्थितिको अन्त्य अन्तर्राष्ट्रिय समन्वय परिषदको तत्काल केन्द्रीय महाधिवेशनबाट मात्र सम्भव छ। विधानलाई आफ्नो अनुकूल व्याख्या गरेर संस्थालाई अनिर्णयको बन्दी बनाउन उचित नहुने उनले तर्क गरे ।
"विधानमा ६५% २५% र १०% को स्पष्ट प्रबन्ध गरिएको हुँदा विधान बमोजिम तत्काल निर्वाचन हुनुपर्ने हुन्छ । राष्ट्रिय महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि देशबाट निर्वाचित केन्द्रीय सदस्यहरूले सपथ ग्रहण समेत गर्न नसक्नु दुःखद पक्ष हो," गौतमको भनाइ छ ।
गौतमले संघको संस्थापन पक्षलाई खुट्टा नकमाई निर्वाचन सम्पन्न गर्न समेत आग्रह गरे ।
FOUNDER/CHIEF EDITOR :