प्रिगोजिनले जीवन हार्दा पुटिनको मनमा के छ ?

प्रिगोजिनले जीवन हार्दा पुटिनको मनमा के छ ?
www.europenepalikhabar.com २०८० भाद्र ८ गते शुक्रबार, 25-08-2023


- इभान फोमिन इभान फोमिन--

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तित्व लडाकुझैँ छ । उनी धोकाप्रति निकै संवेदनशील छन् र गद्दारीप्रति निकै निर्मम । वागनर समूहका कमाण्डर येवगेनी प्रिगोजिनको दुर्घटनामा मृत्यु प्रकरणमा रुसको हात रहेको टिप्पणी यसै भएको हैन ।

क्रेमलिननै हल्लिने गरी वागनर समूहले सशस्त्र हमला गरेपछि पुटिनले वागनरबाट गद्दारीको ठहर गरिसकेका थिए । त्यसैले उनले २४ जुनमा आकस्मिक सम्बोधनमा भनेका थिए, ‘आफ्नै कमरेडहरुमाथि आक्रमण छेडेर वागनरले गद्दारी गर्‍यो । मुलुक र जनताप्रतिको गद्दारीको मूल्य वागनर समूहले चुकाउनेछ ।’

उनको यो अभिव्यक्तिबाट वागनर लडाकु दस्ताप्रति पुटिनको आक्रोश र निर्ममताको आकलन गर्नसकिन्छ । प्रिगोजिनप्रति पुटिनको प्रतिशोधलाई मात्रै केन्द्रीत गरेर यसको विश्लेषण गरिनु एक पक्षीय हुनेछ । पुटिनलाई प्रिगोजिनमात्रैबाट चुनौती थिएन वा उनले मात्रै पुटिनसँग गद्दारी गरेका थिएनन् । त्यसैले हत्यानै समस्याको समाधान नरहेको पुटिनले पनि बुझेका छन् ।

प्रिगोजिनको विद्रोहपछि एउटा कुरा स्पष्ट भयो । रुसको अधिनायकवादी सरकारले वागरको मात्रै सामाना गर्नुपर्दैन । उसले युक्रेनमा आक्रमक हमलाका वृहत पक्षधरको सामना गर्नुपर्नेछ । प्रिगोजिन वागनरको मात्रै नभएर युद्धको पक्षधर समूहको प्रखर वक्तामा रुपमा आए ।

सार्वजनिक मन्तव्यमा उनी रुसको कर्मचारीतन्त्रमा देशभक्ति पर्याप्त नरहेको भन्दै उनीहरुलाई लल्कार्थे । प्रिगोजिन भन्थे, ‘राष्ट्रको लक्ष्यमा सबैलाई एकतावद्ध बनाउनका लागि अर्थतन्त्रलाई सैन्यकरण र सम्भ्रान्त वर्गको सम्पत्तिलाई राष्ट्रिय लक्ष्यमा परिचालन गरिनुपर्छ ।’

वागनर समूहको आक्रमण यताको परिणाम हेर्दा के भन्न सकिन्छ भने प्रिगोजिनले यो युद्ध हारिसके र पुटिन जीतका लागि अझै संघर्षरत छन् । रुसी नेताहरुले वागनर आक्रमणले झोसेको  संकट  र आधारभूत कारणबारे केही खुलाएका छैनन् ।

वागनर समूहको आक्रमणपछि पुटिनसमक्ष दुई विकल्प थिए ।

पहिलो, राष्ट्रवादी शक्तिको साथ लिँदै मुलुकको लक्ष्यतर्फ सबैलाई केन्द्रित गर्ने ।

दोस्रो, मुलुकलाई पूर्ण सैन्यकरण गरेर देशभक्तिहीन सम्भ्रान्तविरुद्ध दमन सुरु गर्ने ।

तर पुटिनले यी दुबै विकल्पलाई चुनेनन् । न त सम्भ्रान्त गद्दारप्रति कुनै दमन भयो । नत मुलुकलाई पूर्ण सैन्यकरणनै भयो । बरु देशभक्त भनिएका शक्तिलाई सार्वजनिक वृत्तबाट विस्तारै पन्छाउने कामको सुरुवात भयो । किनभने क्रेमलिनले उनीहरुलाईनै प्रधान शत्रु भनिसकेको थियो ।

मस्को टाइम्ससँगको कुराकानीमा क्रेमलिनका एक अधिकारीले भनेका थिए ‘विगतमा उदारवादीहरु हाम्रा प्रधान शत्रु थिए । अहिले राष्ट्रवादी शक्ति हाम्रा प्रधान शत्रु हुन् ।’

क्रमेलिनले देशभक्त भन्ने समूह र शक्तिमाथि पहिलेनै दमन र आक्रमण गरेको थियो । प्रिगोजिनको हवाइ दुर्घटना त्यसै श्रृंखलाको उपज हो भन्दा अतिशयायुक्ती हुनेछैन ।

प्रिगोजिनको हवाइ दुर्घटना अघि रुसको हवाइ सेनाका प्रमुखबाट सर्गेइ सुरोभिकनलाई हटाइयो । सुरोभिकिन र प्रिगोजिनको निकै राम्रो सम्बन्ध थियो ।

अर्कोतर्फ प्रिगोजिनकोझैँ रूसी रक्षा मन्त्रालयसँगै उनको पनि तनावपूर्ण सम्बन्ध  थियो । रक्षा मन्त्री सर्गेइ सोइजु र सेनापति भलेरी जिरासिमोभसँग उनको राम्रो सम्बन्ध थिएन । जुनमा वागनर समूहले आक्रमण गर्ने वित्तिकै सुरोभिकिन गिरफ्तारीमा परेका थिए ।

यता मुलुकको पूर्ण परिचालनको पक्षमा रहेका इगोर गिर्किन पनि सत्ताको दमनमा परे । प्रिगोजिन र गिर्किनबीच हाल कुनै सम्बन्ध नरहेपनि आक्रमणपछि गिर्किन जेल चलान भए । भित्रभित्रै जारी द्वन्द्वको यो संकेत थियो ।

मस्कोलाई चुनौती दिनेगरी अहिले कोही पनि आन्दोलनरत छैन । तर उनको युद्धशैलीप्रति सम्भ्रान्त वर्ग खुशी नरहेकाले पुटिन अझै दबाबमा छन् ।

प्रिगोजिनको हवाइ दुर्घटना अघि ब्लुमवर्गले रुसको जासुसी संयन्त्रको सुझावबारे समाचार प्रकाशित गरेको थियो । त्यस समाचार अनुसार जासुसी संयन्त्रले पुटिनलाई रक्षामन्त्री र प्रधान सेनापति हटाउन सुझाव दिएको छ । त्यति मात्रै होइन युद्धलाई थप आक्रामक बनाउनका लागि सैन्य कानुन लगाउन भनेको छ

सैन्यकरणको पक्षमा रुसी सम्भ्रान्तको पनि साथ छ । अर्कातर्फ सम्भ्रान्त वर्गको सम्पत्ति राष्ट्रियकरण र सैन्यकरणको वकालत गर्ने समूह पनि उत्तिकै छन् । रुसमा गरिएको एक सर्वेक्षणमा २० प्रतिशतले प्रिगोजिनको दुर्घटनामा सहानुभुती प्रकटगरेका छन् ।

‘क्रोनिकल प्रोजेक्ट’ को सर्वेक्षण अनुसार २२ प्रतिशत रूसी मात्रै युद्धको कट्टर समर्थक छन् । यिनीहरु भन्छन्-‘विशेष सैन्य अभियानमा हाम्रो पूर्ण समर्थन मात्रै छैन । आफ्नो लक्ष्य पुरा भएपछिमात्रै युक्रेनबाट सेना फिर्तीको पक्षमा हामी छौँ । यस घडीमा सरकारले आफ्नो  खर्चको प्राथामिकता पूर्ण रुपमा रक्षा मामिलामा दिनुपर्छ । प्रिगोजिन र गिर्कीनको पूर्ण सैन्यकरणको आवाजलाई ती जमातले साथ दिइरहेका छन् ।

आफूलाई उग्र देशभक्त भन्ने समूहको पक्षधरतामा पुटिन छैनन् । उनले उनीहरुको उग्र आवाजलाई दबाउन खोजिरहेका छन् । यो परिदृश्यमा प्रिगोजिनको मृत्यु दुर्घटना वा हत्या को बहसभन्दा महत्वपूर्ण सवाल अहिले अर्को छ ।

दुर्घटना प्रिगोजिनप्रति पुटिनको बदलाभावका रुपमा धेरैले हेरिरहेका छन् ।  त्यसैले आक्रोशित देशभक्तहरु भन्छन्, ‘ पुटिन उदारवादी युद्धविरोधीका साथ मात्रै होइन युद्धका पक्षधरसँग पनि  कठोर व्यवहार गर्न तयार छन् ।’

एउटा कुरा के प्रस्ट छ भने पुटिन वागनर समूहले खडा गरेको संकटबाट बाहिर निस्किन खोज्दैछन् । त्यसैले, विद्रोही कमाण्डर मारिएको र उनका सहयोगी रहेका हवाइ सेनका प्रमुखलाई हटाइएको हुनसक्छ ।

यो विषय दुईवटा कुरासँग जोडिएका छन् ।

पहिलो, वृहत्तर सैन्य परिचालन ।

दोस्रो, राष्ट्रपतीय निर्वाचन । सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा खराब समाचार सुन्न नपरोस् भन्ने पक्षमा पुटिन छन् ।

वागनर समूहको आक्रमण यताको परिणाम हेर्दा के भन्न सकिन्छ भने प्रिगोजिनले यो युद्ध हारिसके र पुटिन जीतका लागि अझै संघर्षरत छन् । रुसी नेताहरुले वागनर आक्रमणले झोसेको  संकट  र आधारभूत कारणबारे केही खुलाएका छैनन् ।

अर्कोतर्फ, सम्भ्रान्त वर्गको मस्तिष्कमा पसेको प्रिगोजिनवाद हटाउन सकेका छैनन् । न त उनले आफ्ना नीतिलाई युद्ध जित्ने गरी कार्यान्वयन गरेका छन् ।

प्रिगोजिनको प्लेन दुर्घटनापछि पुटिनले कठोरता देखाउन सक्ने धेरैको विश्वास छ। तर उनका प्रतिपक्षीहरु भन्छन्, ‘उनको कठोरता आफ्नो कमजोरी ढाक्ने प्रयत्नका लागि हो ।’

– द मस्को टाइम्समा प्रकाशित इभान फोमिनको लेखको भावानुवाद ।

<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-6948824322935338"

     crossorigin="anonymous"></script>

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित