बजेटलाई जनउत्तरदायी बनाउन आग्रह



खस्यौली, ९ असार, रासस

प्रदेश नं ५ का प्रदेशसभाका सदस्यले बजेटलाई जनउत्तरदायी र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सदस्यहरुले कृषिबाट खाद्यान्न समस्या समाधान गर्ने र बेरोजगारीको अन्त्य गरिने लक्ष्य लिइएको बताउनुभयो । 


प्रदेशसभाका सदस्य कुलप्रसाद पोखरेलले सडक गुरुयोजना, सडक सञ्जालको विस्तार, कृषि भूमिमा सिँचाइको सुविधा बजेटको सकारात्मक भएपनि समानुपातिक बजेट प्रणाली बर्दियामा नभएको टिप्पणी गर्नुभयो । अर्का सदस्य डा कृष्ण न्यौपानेले कृषिमा अनुदान मात्रैभन्दा पनि कृषिका पूर्वाधार विकासबाट उपलब्धि हासिल गर्न सकिन्छ भन्नुभयो । 


सदस्य नारायण आर्चायले बजेटमा विगतमा भएको त्रुटिलाई सच्चाएर सडक आयोजना सञ्चालनमा सबै पक्षको अध्ययन र पहुँच मार्गलाई बहुवर्षीय आयोजनाको रुपमा लिनुपर्ने बताउनुभयो । सदस्य बैजनाथ कलवारले बजेट पूर्वाग्रही भएको आरोप लगाउँदै खानेपानी आयोजनामा पर्याप्त बजेट उपलब्ध गराउन माग गर्नुभयो । 


अर्का सदस्य सहसराम यादवले कपिलवस्तुमा सिँचाइको अवस्था कमजोर भएको उल्लेख गर्दै धेरै योजनामा ढिलासुस्ती भएको आरोप लगाउनुभयो । सदस्य अमरबहादुर डाँगीले बजेट राहतमुखी र श्रमलाई सम्मान गर्ने प्रणालीको भएको उल्लेख गर्दै बजेटले कृषिमा आर्कषण बढाएको छ भन्नुभयो ।  


यसैगरी अर्का सदस्य तारा जीसीले सडकका आयोजनामा ठेकेदार र बोलपत्र लगाउँदा पार्टीलाई प्राथमिकता दिइएको आरोप लगाउँदै आयो कमिशन र भ्रष्टाचार बढेको बताउनुभयो । सदस्य आशा स्वर्णकारले रुकुमपूर्वका कतिपय ठाउँमा पहिरोको जोखिम भएकाले तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । 


छलफलमा उठेका प्रश्नको जवाफमा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सिँचाइमा नयाँ योजना ल्याउने प्रदेश सरकारको योजना असफल भएको उल्लेख गर्दै सङ्घीय सरकारको रकम सिँचाइमा घटेको छ भन्नुभयो । उहाँले जलउत्पन्न प्रकोपको कार्यक्रमलाई जनताको तटबन्धमार्फत सम्बोधन गर्न खोजिएको उल्लेख गर्नुभयो । 


छलफलमा प्रदेशसभाका सदस्यहरु विष्णु पन्थी, तुलाराम घर्तीमगर, सन्तोष पाण्डे, दीपा विक, तुलसी चौधरी, दिनेश पन्थी, दीपेश थारुलगायतले आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका कामलाई बजेटमा सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित