राजकुमार थापा, लिस्बन - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना विरुद्धको भ्याक्सिन लगाउने काम पोर्चुगलमा भोली २७ डिसेम्बर २०२० देखि शुरु हुने भएको छ ।
कोभिड-१९ रोकथाम सम्बन्धी कार्य गरिरहेको सरकारी एजेन्सीले आज सर्वसाधारणलाई मोबाइलमा एसएमएस गरी यस्तो जानकारी दिएको हो ।
भ्याक्सिनको लागि सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (SNS) बाट सम्पर्क गरिने सूचनामा जनाइएको छ ।
कोरोना भ्याक्सिनको पहिलो लट आज कोइम्ब्रा आइपुगेको हो। पहिलो लटमा फ़ाइजर भ्याक्सिनको ९ हजार ७५० डोज आइपुगेको छ।
कोरोना भ्याक्सिनको पहिलो लट दुई बाकसमा आएको र तौल करिब ४१ केजीमा रहेको स्वास्थ्यमन्त्री मार्ता तेमिदोले बताएकी छिन। भ्याक्सिन आज बिहान ९ : ४५ बजे आइपुगेको हो।
आउदो सोमबार फ़ाइजर भ्याक्सिनको ७० हजार २०० डोज पोर्चुगल आइपुग्ने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
भ्याक्सिनको प्राथमिकतामा फ्रन्ट लाइनका स्वास्थ्यकर्मी, बृद्दबृद्दा, केयर होममा काम गर्ने र दीर्घ रोगीहरु रहने छन् ।
भ्याक्सिन लगाउन अनिवार्य गरिने छैन तर नि:शुल्क वितरण गरिने छ ।
यसभन्दा अघि नै पोर्चुगल सरकारले झण्डै २२ मिलियन अर्थात २ करोड २० लाख डोज भ्याक्सिन ल्याइने घोषणा गरिसकेको छ ।
अहिले पनि पोर्चुगलमा कोरोना संक्रमणको दर उच्च छ । दैनिक तीन हजार भन्दा माथि संक्रमित भइरहेका छन् भने ७० देखि ८० जनाको दरले संक्रमणबाट मृत्यु भइरहेको स्वास्थ्य सेवा विभागले जारी गरेको विवरणमा देखिन्छ ।
FOUNDER/CHIEF EDITOR :