जर्मनीको चम्किदा पोर्चुगलमाथि सानदार जीत

जर्मनीको चम्किदा पोर्चुगलमाथि सानदार जीत
युरोपनेपाली खबर २०७८ असार ५ शनिबार, 19-06-2021


एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो ।

खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन । दशौं मिनेटमा गोलरक्षक रुइ प्याट्रीसिओले काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई विफल पारे । त्यसैको रिबाउन्डमा उनले गनाब्रीलाई पनि सट प्रहार गर्ने अवसर दिएनन् ।

१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए । त्यसअघि बर्नार्डो सिल्भाले जोटालाई भेट्न सुन्दर क्रस फिल्ड पास दिएका थिए ।

२२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन् । त्यसअघि गोसेन्सको प्रहारलाई गोलरक्षक प्याट्रीसिओले रोकेका थिए ।

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

४४ औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे । त्यसको रिबाउन्डमा किम्मिखको प्रयासलाई डिफेन्डरले छेक्दै सफल हुन दिएनन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ नै बाधक बने ।

दोस्रो हाफको सुरुवातमा नै जर्मनीले अग्रता बढाउन सफल रहयो । ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३-१ को स्कोर बनाएका थिए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए ।

६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरेका थिए ।

६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए । ७८ औं मिनेटमा रेनाटो सान्चेसले लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । वैकल्पिक खेलाडी सान्चेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक समेत बिट भएको अवस्थामा पोस्टमा लाग्दा पोर्चुगलले गोलअन्तर घटाउन सकेन ।

काउन्टर अट्याकमा अघि बढेको जर्मनीका लागि ८३ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

यसै समूहअन्तर्गत शनिबार भएको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स हंगेरीसँग हारबाट जोगिएको थियो ।

घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएयो । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

खेलको १४औं मिनेटमा हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक गुलाक्सीले फुत्काएपनि रिवाउन्डमा ग्रिजमनको प्रहार उनकै हातमा पुगेको थियो । १७औं मिनेटमा बेन्जेमाको पासमा लुकास डिग्नेले मिलाइदिएको पासमा कसैको निगरानीमा नरहेका एमबाप्पेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

२५औं मिनेटमा हंगेरीका कप्तान तथा फरवार्ड एडाम स्जालाई चोट बोक्दै मैदानबाट बाहिरिएपछि हंगेरीलाई थप समस्यामा परेको थियो । ३१औं मिनेटमा पउल पोग्वाबाट आएको पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै फ्लिक गर्दै दिएको पासमा बेन्जेमाले वान टचमै भलीमार्फत गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फ्रान्सले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए । हंगेरीले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दा पहिलो प्रयासमा गोल गर्न सफल भएको हो ।

४९औं मिनेटमा मिनेटमा पल पोग्वाको गरेको क्रसलाई गुलाक्सीले उत्कृष्ट पञ्च गर्दै बराबरी टारे । ५९औं मिनेटमा सब्सिच्युट औसमाने डेम्वेलेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा फ्रान्स बराबरीबाट चुक्यो । ६६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि नसकेको बललाइै ग्रिजमनले जाली चुमाएका थिए ।

८१ औं मिनेटमा हंगेरीका कप्तान गुलाक्सीले एम्बापपेको शक्तिशाली प्रहारलाई विफल पार्दै खेल बराबरीमा राखे । लगत्तै ओलिभिएर जिरुडको फितलो प्रहारमा पनि गुलाक्सीनै बाधक बने ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित