युरोकप २०२० : अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक ? यस्तो छ समीकरण

युरोकप २०२० : अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक ? यस्तो छ समीकरण
युरोपनेपाली खबर २०७८ असार ६ आइतबार, 20-06-2021


एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको दुई खेल सकिएको छ । अब अन्तिम खेलले नै सबै समूहबाट अघि बढ्ने टोलीको निर्णय हुनेछ । हालसम्म ३ टोलीले मात्र अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने १३ स्थानका लागि २० टोलीको प्रतिस्पर्धा छ ।

हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । हालसम्म इटाली, नेदरल्यान्ड्स र बेल्जियमले मात्र अन्तिम १५ मा स्थान पक्का गरेका छन् । यस्तै तेस्रो स्थान हासिल गर्नेमध्य सबै समूहको अंक दाँजेपछि शीर्ष ४ टोली पनि नकआउट चरणमा स्थान बनाउनेछन् । त्यसका लागि अन्य टोलीको नतिजामा पनि भर पर्ने हुनाले सबै समूहको खेल सकिएपछि मात्र समिकरण थाहा हुनेछ । अन्तिम चरणको खेलअघि सबै समूह र टोलीको अवस्था यस्तो छ :

समूह ए  :

इटाली – इटाली अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ । अन्तिम खेलमा वेल्सविरुद्ध बराबरी गरेपनि टोली शीर्ष स्थानमा रहनेछ ।

वेल्स – अन्तिम खेलमा बराबरी गरेपनि टोलीको अन्तिम १६ यात्रा पक्का छ । टर्कीले स्विट्जरल्यान्डविरुद्ध अंक खोसेको खण्डमा वेल्स अन्तिम १६ मा प्रवेश गर्नेछ ।

स्विट्जरल्यान्ड – शीर्ष २ मा रहँदै अन्तिम १६ मा पुग्न स्विट्जरल्यान्डले जितेर वेल्सले हार्नुपर्ने छ । यसका लागि भने गोल अन्तरले पनि फरक पर्छ । पराजित भएको खण्डमा भने स्विट्जरल्यान्ड बाहिरिनेछ ।

टर्की – शीर्ष २ मा पर्ने सम्भावना समाप्त भइसकेको टर्कीले स्विट्जरल्यान्डलाई हराउँदै तेस्रो स्थानमा राम्रो गोलअन्तरको आवश्यकता छ ।

आइतबार हुने खेल : स्विट्जरल्यान्ड विरुद्ध टर्की, इटाली विरुद्ध वेल्स

समूह बी :

बेल्जियम – अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले अर्को खेलमा बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ

रसिया – जित हासिल गरे अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ ।

फिनल्यान्ड – जित हासिल गरे अघि बढ्नेछ । यदि बराबर भएको खण्डमा भने रसियाले हार्नुपर्नेछ ।

डेनमार्क – दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । दुवै खेलको गोलअन्तरले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सोमबार हुने खेल : रसिया विरुद्ध डेनमार्क, फिनल्यान्ड विरुद्ध बेल्जियम

समूह सी :

नेदरल्यान्ड्स – समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

युक्रेन – बराबरी वा जितले दोस्रो स्थान पक्का हुनेछ

अष्ट्रिया – युक्रेनलाई हराए दोस्रो हुनेछ

नर्थ म्यासेडोनिया – प्रतियोगिताबाट बाहिरिसकेको छ

सोमबार हुने खेल – नर्थ म्यासेडोनिया विरुद्ध नेदरल्यान्ड्स, युक्रेन विरुद्ध अष्ट्रिया

समूह डी :

चेक रिपब्लिक – इंग्ल्यान्डविरुद्ध हार टार्न सके चेक शीर्षस्थानमा रहनेछ । यदि इंग्ल्यान्डले जितेर स्कटल्यान्डले क्रोएसियालाई हराएको खण्डमा भने दोस्रो हुनेछ । यदि आफू पराजित भएर क्रोएसियाले राम्रो गोलअन्तरले जितेको खण्डमा भने चेक तेस्रो हुनेछ ।

इंग्ल्यान्ड – चेकलाई पराजित गरे शीर्षस्थानमा पुग्ने इंग्ल्यान्डलाई अघि बढ्नका लागि इंग्ल्यान्डलाई बराबरी नै पर्याप्त छ । स्कटल्यान्डले नजितेको अवस्थामा पनि इंग्ल्यान्ड अघि बढ्नेछ । यदि चेकविरुद्ध हारेर स्कटल्यान्डले राम्रो अन्तरले जितेमा मात्र इंग्ल्यान्ड तेस्रो हुनेछ ।

क्रोएसिया – तेस्रो स्थानमा रहेर छनोट हुन क्रोएसियाले राम्रो अन्तरको जित हासिल गर्नुपर्छ । अनुकुल नतिजा आए चेकलाई उछिन्दै दोस्रो हुने अवस्था पनि छ ।

स्कटल्यान्ड – जित हासिल गर्दै तेस्रो स्थानमा पुग्न सक्छ । अनुकुल नतिजा आए इंग्ल्यान्डलाई उछिन्न पनि सक्छ ।

मंगलबार हुने खेल : क्रोएसिया विरुद्ध स्कटल्यान्ड, चेक विरुद्ध इंग्ल्यान्ड

समूह ई :

स्वीडेन – बराबरी मात्र गरेपनि अन्तिम १६ मा पुग्नेछ । स्वीडेन हारेर अर्को खेल बराबरीमा सकिएको अवस्थामा तीन टोलीको नतिजाले शीर्ष तीन स्थान निर्धारण हुनेछ ।

स्लोभाकिया – स्पेनलाई हराएको खण्डमा अघि बढ्नेछ । स्पेनसँग रोकिएर स्वीडेन पनि हार टार्न सके अघि बढ्नेछ ।

स्पेन – स्लोभाकियालाई हराए अघि बढ्नेछ । बराबरीले पनि तेस्रो स्थान हुनेछ तर त्यसका लागि पोल्यान्ड हार्नुपर्छ ।

पोल्यान्ड – आफू जितेर अर्को खेल बराबर नभए दोस्रो स्थान रहनेछ ।

बुधबारको खेल – स्लोभाकिया विरुद्ध सपन, स्वीडेन विरुद्ध पोल्यान्ड

समूह एफ :

फ्रान्स – पोर्चुगलविरुद्ध बराबरी अथवा अर्को खेल बराबर भए फ्रान्स अन्तिम १६ मा पुग्नेछ । जित हासिल गरे पहिलो स्थान हासिल गर्नेछ । त्यस्तै आफू बराबर भएर जर्मनीले जित्न नसकेपनि फ्रान्स शीर्ष नै रहनेछ । फ्रान्स हारेर हंगेरी जितेको अवस्थामा भने गोल अन्तरले दोस्रो स्थान निर्धारण हुनेछ ।

जर्मनी – जित हासिल गरे अर्को चरणमा जानेछ अथवा बराबरी खेलेर फ्रान्सले नहारे पनि जर्मनी अघि बढ्नेछ । जर्मनीले जितेर फ्रान्सले जित्न सकेन भने शीर्षस्थानमा पुग्नेछ । जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे तेस्रो स्थानमा पुग्नेछ ।

पोर्चुगल – जित हासिल गरे अर्को चरण पक्का छ । आफू बराबर गरेर जर्मनी हारेपनि अन्तिम १६ मा पुग्नेछ । पोर्चुगल जितेर जर्मनीले नजिते शीर्ष स्थानमा नै पुग्नेछ । पोर्चुगलले हारेर जर्मनी पनि हारेको अवस्थामा भने समूह चरणबाट नै बाहिरिनेछ ।

हंगेरी – आफू जितेर पोर्चुगल पराजित भए हंगेरी दोस्रो स्थानमा रहेर अघि बढ्नेछ । आफू जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ । हंगेरीले जितेर अर्को खेल बराबर भए तेस्रो स्थान हासिल गर्नेछ ।

बुधबार हुने खेल : पोर्चुगल विरुद्ध फ्रान्स, जर्मनी विरुद्ध हंगेरी

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित