टाइम म्यागजिन १०० प्रभावशाली व्यक्ति : मोदी, ममता, जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म

टाइम म्यागजिन १०० प्रभावशाली व्यक्ति : मोदी, ममता, जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म
युरोपनेपाली खबर २०७८ भदौ ३१ बिहीबार, 16-09-2021


प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा विश्वका विभिन्न मुलुकका राजनीतिज्ञदेखि कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अभियन्ता र उद्यमीसम्म समावेश छन् । 

टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । यस वर्षको सूचीको नेतृत्व विधामा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म रहेका छन् ।

त्यस्तै सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि रहेकी छिन् । बनर्जी नेतृत्वको तृणमूल कंग्रेसले गत मार्चमा भएको विधानसभा चुनावमा प्रचण्ड बहुमत ल्याएको थियो । २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा तृणमूलले २१३ सिट जितेको थियो । ममता बनर्जी आफू भने नन्दिग्राम क्षेत्रमा बीजेपीका सुभेन्दु अधिकारीबाट पराजित भएका थिइन् । बनर्जीले यही सेप्टेम्बर ३० मा हुने उपचुनावमा भवानीपुर क्षेत्रबाट उम्मेदवारी दिएकी छिन् । बीजेपीले उनीविरुद्ध प्रियंका तिब्रेवाललाई उठाएको छ ।

टाइममा ममताबारे भारतीय पत्रकार बर्खा दत्तले ‘प्रोफाइल’ लेखेकी छिन् । ६६ वर्षीय नेता ममतालाई ‘भारतीय राजनीतिमा उग्रताको अनुहार’ का रूपमा चित्रित गरिएको छ । उनले तृणमूल कंग्रेसलाई नेतृत्व गर्नेभन्दा पनि उनी आफै नै पार्टी भएको टाइमको प्रोफाइलमा उल्लेख छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा सीएनएनका पत्रकार फरीद जकारियाले प्रोफाइल तयार पारेका छन् । मोदीले मुलुकलाई ‘धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्रवादतर्फ धकेलेको’ टाइमले उल्लेख गरेको छ । भारत स्वतन्त्र भएपछिको ७४ वर्षको अवधिमा तीन जना प्रभावशाली नेतृत्वमध्ये मोदीलाई पनि राखिएको छ । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि भारतीय राजनीतिमा दबदबा कायम गर्ने नेता मोदी भएको टाइमको प्रोफाइलमा लेखिएको छ ।

त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् । सिरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गर्दै आएको छ । सिरम खोप उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी हो । कोरोना महामारी अझै नरोकिएको र यसलाई रोक्न पुनावालाले अझै पनि महत्त्वपूर्ण योगदान गर्न सक्ने टाइमले उल्लेख गरेको छ ।

त्यस्तै तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ ।

त्यस्तै यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि परेकी छिन् । विश्वमा खोप अभियान एकता, सहकार्य र एनगोजीजस्तो नेतृत्वले गर्दा नै सम्भव भएको टाइमले उल्लेख गरेको छ । १६४ मुलुक सदस्य रहेको

डब्लूटीओको महानिर्देशक बन्ने उनी पहिलो अफ्रिकी र पहिलो महिला हुन् । बेलायती राजकुमार ह्यारी र मेघनले उनको बारेमा प्रोफाइल लेखेका छन् । एनगोजीले महामारी अन्त्यका लागि सहकार्य र एकताका साथै खोपको समानुपातिक वितरण हुनपर्नेमा जोड दिएको पनि उल्लेख गरिएको छ ।

त्यस्तै यस वर्षको सूचीमा राजकुमार ह्यारी दम्पतीका साथै टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओसमेत परेका छन् । त्यस्तै ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित