डेनमार्कको कोपनहेगन महानगरपालिकामा चुनाव लडिरहेको एउटा नेपाली

डेनमार्कको कोपनहेगन महानगरपालिकामा चुनाव लडिरहेको एउटा नेपाली
उम्मेदवार हरि न्यौपाने
युरोपनेपाली खबर २०७८ कार्तिक ४ बिहीबार, 21-10-2021

महेशकुमार खाती, डेनमार्क ।
डेनमार्कको राधानी रहेको कोपनहेगन महानगरपालिका (कम्युन)को  स्थानीय चुनावमा नेपाली हरि न्यौपाने उम्मेद्वार बनेका छन्। डेनिस भाषामा कम्युन भनिने यहाँ स्थानीय चुनावलाई महत्वपूर्ण मानिन्छ। 
उनी उम्मेदवार भएको कोपनहेगनको बिस्पबिया क्षेत्रको ‘स्थानीय नेता’ (लोकल पोल्टिसियन) पदमा हो। कोपनहेगन महानगरपालिका भित्र १० वटा क्षेत्र छन्। जसमध्ये एक बिस्पबिया हो। 
कोपनहेगनभरिबाट जम्मा विजयी हुनुपर्ने ५५ जना हो। उनको क्षेत्रबाट ५ जना मात्रै विजयी हुनेछन्। मतदान भने कोपनहेगन भरी बस्नेले गर्न पाइन्छ। यतिबेला यहाँ प्रि- मतदान भैरहेको छ। 
अक्टुवर ५ बाट शुरु भएको प्रि मतदान नोभेम्वर १२ तारिखसम्म हुनेछ। छुटेकाहरुले नोभेम्वर १६ मा मतदान गर्न सक्नेछन्। सोही दिनमा नतिजा सार्वजनिक हुनेछ।

न्यौपाने डेनमार्कको सत्तारुढ सोसियल डेमोक्रेट पार्टीबाट उम्मेदवार बनेका छन्। चुनावी प्रतिस्पर्धामा भने डेनमार्कका सबै राजनीतिक पार्टीबाट १ हजार जनाभन्दा बढी उम्मेदवार छन्। 
जसमध्ये १ जना न्यौपाने हुन्। विजयी हुने ५५ जनाबाट कोपनहेगन महानगर पालिकामा १ लर्ड मेयर, ६ जना मेयर र बाँकी सबै ‘स्थानीय नेता’ हुने छन्। उनी डेनमार्कको नेपाली समुदायका अगुवा समेत हुन्। 
चितवन घर भएका ४३ वर्षीय न्यौपाने सन् २००५ देखि डेनमार्कमा परिवार सहित छन्। कोपनहेगन महानगरपालिका भरी बस्ने स्वास्थ्य कार्ड भएका सबैले नजिकको स्थानमा मतदान गर्न पाइने व्यवस्था छ। 
उनी विजयी हुन् झन्डै १ हजार मत प्राप्त गर्नुपर्ने बताइएको छ। विजयी गराउनको लागि कोपनहेगनबासी सबैलाई उनले अनुरोध गरे। ‘हामी नेपाली समुदायको प्रतिनिधित्व कोपनहेगन कम्युनमा गराउनको लागि सबैलाई भोट हाल्न अनुरोध गर्छु,’ उम्मेदवार न्यौपानेले मंगलबार मतदानस्थल नरेब्रोमा सेतोपाटीसँग भने। 
डेनमार्कमा स्थानीय चुनाव हरेक ४ वर्षमा हुन्छ। सन् २०१७ मा भएको स्थानीय निर्वाचनमा पनि न्यौपाने उम्मेदवार बनेका थिए। त्यतिबेला झण्डै २ सय मत नपुगेकाले न्यौपाने विजयी हुन सकेनन्। त्यतिबेला करिब ७ यस मत पाएका थिए। 
डेनमार्कको सत्तारुढ सबैभन्दा ठूलो पार्टीबाट उम्मेदवार बनेकाले यसपालि न्यौपाने विजयी हुने सम्भावना धेरै भएको बताइन्छ। 
यसपाली उनलाई विजयी गराउन भनेर डेनमार्कमा बस्ने नेपालीहरु पनि कम्मर कसेर लागेको छ। 
हरि न्यौपाने जिताउँ अभियान गठन गरेर प्रचार प्रसार तिव्र पारिएको छ। डेनमार्कमा रहेका सबै संघ संस्थाले पनि जोड़ गरिरहेका छन्। ‘हरि जी ले जिते पनि हामी नेपालीको पनि प्रतिनिधित्व हुने भएकाले मिल्ने सबैले समय मिलाएर भोट हालौं र इतिहास रचौं,’ नेपाली जनसम्पर्क समिति डेनमार्कका पूर्व सभापति त्रिलोचन सापकोटाले भने।
सोसल डेमोक्रेट्स पार्टीको बिस्पबिया क्षेत्रका उपाध्यक्ष समेत रहेका उनको नाम मतपत्रको २८ नम्बरमा छ। स्थानीय चुनावलाई डेनिस राजनीतिमा महत्वका साथ हेरिन्छ। 
‘थिंक ग्लोबल्ली एन्ड यक्ट लोकल्ली’ भने झैँ डेनमार्कको सिंगो विकासमा सोचे पनि काम चाहिँ हरेक स्थानीय तहबाट सुरु गर्ने यहाँको पद्दति छ। हरेक स्थानीय क्षेत्रको विकास हुदाँ सिंगो देशको विकास हुन्छ भन्ने डेनिस राजनीतिको मान्यता हो। 
‘नीति नियम पनि स्थानीय तहबाटै नै तय गरिन्छ, विशेष अवस्थामा मात्रै संसदीय भवनको हस्तक्षेप रहन्छ,’ उम्मेदवार न्यौपानेले प्रष्ट पारे। 
स्थानीय नेता पदमा विजयी भएमा स्थानीय नीति निर्माण तह, संस्कृति र वातावरण संरक्षणका साथै डेनिस समाजको विकासका लागि काम गर्नुपर्ने उल्लेख छ। सेवा सुविधामा राम्रै तलब भत्ता र छुट्टै कार्यकक्ष प्राप्त हुन्छ। 
आप्रवासीको हक र हितका मुद्दा प्रमुख रुपमा उठाएका न्यौपानेले जितेमा पार्टीले विदेशीलाई हेर्ने नीति आप्रवासीमैत्री बनाउनेमा विशेष भूमिका निर्वाह गर्ने बताउँछन्। विकास निर्माण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका नीति निर्माण गर्न सक्रियतापूर्वक लाग्ने उनको भनाइ छ। 
नेपालीको पक्षमा पनि थुप्रै काम गर्ने उनले सूची तयार पारेका छन्। जसमा नेपाली समाजका लागि एउटा साझा घर ‘नेपाल हाउस’ स्थापना गर्ने, नेपाली सांस्कृतिक केन्द्र सुरूआत गर्ने लगायत छन्। 
‘शिक्षा, स्वास्थ्य लगायतमा समुदायको हितको लागि ल्याइएका परियोजनाहरू नेपाली समुदायतिर ल्याउन पनि कोशिस गर्नेछु,’ न्यौपानेले भने। 
डेनमार्कमा करिब ५ हजार नेपाली रहेको अनुमान छ। न्यौपाने उम्मेदवार बनेको क्षेत्रमा नेपालीहरूको बाक्लो बसोबास छ। डेनमार्कको स्थानीय निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मत खस्ने गरेको इतिहास छ। संसदीय निर्वाचनमा भने ८० प्रतिशत माथि मत खस्ने गरेको छ।
न्यौपानेले आप्रावासीको हक हितमा काम गर्ने भन्दै राजनीतिक पाइला अघि बढाएको बताए। सन् २०१२ मा पार्टीको सदस्यता लिएर डेनिस भाषा राम्रो बुझ्न थालेपछि राजनीतिमा होमिएका उनी यसपछी संसदको चुनाव हुँदै युरोपियन युनियन संसदसम्म पुग्ने उद्देश्य रहेको योजना सुनाए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित