प्रधानमन्त्री एनआरएनएमा व्यक्ति विशेषको पछि लाग्नु अशोभनीय : अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसी (भिडियोसहित)

प्रधानमन्त्री एनआरएनएमा व्यक्ति विशेषको पछि लाग्नु अशोभनीय  : अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसी (भिडियोसहित)
युरोपनेपाली खबर २०७८ कार्तिक १९ शुक्रबार, 5-11-2021


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए)का १० औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्था भित्र राजनीति घुसाइएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । गैरराजनीतिक र गैर नाफामुलुक सामाजिक संस्था एनआरएनए स्थापनाको १८ बर्षे इतिहासमा पहिलो पटक संस्था भित्र कै केही व्यक्तिहरुद्वारा राजनीतिक हस्तक्षेप निम्त्याइएको कारण निर्वाचन हुन नसक्ने अवस्था आएको भन्दै असन्तुष्टी प्रकट गरेका हुन् ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले अध्यक्ष पदका अर्का प्रत्यासी कुल आचार्य एनआरएनएको अध्यक्ष हुने विश्वास लिएको बताएका थिए ।

आफ्नो नेतृत्वमा निर्वाचनमा भाग लिन लागेको टिमले बिहीबार भर्चुअल रुपमा गरेको तिहार शुभकामना साँझमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष डा केसीले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन हिड्ने काम राम्रो नभएको जनाए । ‘ठुला राजनीतिक दलले धेरै मुलुकमा क्षेत्रगत जिम्मेवारी दिएर नाम तोक्दै व्यक्ति विशेषलाई चुनाव नै जिताउनु पर्छ भनेर लाग्नु अनि देशको प्रधानमन्त्री जस्तो व्यक्तिले त्यहीं व्यक्तिको विज्ञापन गर्नु अवश्य ठिक होइन’, अध्यक्ष पदका प्रत्यासी डा. केसीले भने ।

एनआरएनएमा आवद्ध केही व्यक्तिकै कारण १८ बर्षमा पहिलो पटक चुनाव हुन नसकेको जनाउदै डा. केसीले भने, ‘एनआरएनएमा निर्वाचनमा विजयी हुनका लागि कुनै राजनीतिक पार्टीको टिका लगाउन जानु पर्ने वातावरण हाम्रै केही साथीहरूले बनाइ रहेका छन् । यो हामी आफैले बनायौ । यसलाई राजनीतिमुक्त बनाउनु पर्छ ।’

डा केसीले एनआरएनए १८ बर्षमा संस्थागत विकास भएर अत्यन्तै राम्रो भैसकेको एनआरएनए जोगाउन हामीहरु नै लाग्नु पर्ने बताए । उनले राजनीतिक पार्टीले आँखा लगाएकाले त्यसबाट टाढा रहनु पर्ने सुझाब दिए । एनआरएनएका विधि विधान भित्रबाट केही गल्ती भएका छन भने सच्चाएर अघि बढनु पर्ने सुझाब दिदै उनले पुर्व अध्यक्ष र अग्रजहरुलाई , संरक्षकहरुले व्यक्ति भन्दा पनि संस्थालाई केन्द्रमा राखेर आफ्नो भुमिका निर्वाह गर्नु पर्ने बेला आएको बताए ।

१० अर्बको लगानी, सुरक्षित बैदेशिक रोजगार, भुकम्प र बाढी पीडितलाई सहयोग, कोरोना संक्रमणका बेला किट्स र अक्सिजन नेपाल पठाउने काम एनआरएनएले नै गरेको स्मरण गराउदै परराष्ट्र मन्त्रालयले निर्वाचनका लागि सहजीकरण गर्नु पर्ने अपेक्षा गरे । उनले एनआरएनएको स्थगित १० औं महाधिवेशन र निर्वाचन छिट्टै हुने अपेक्षा पनि गरेका छन ।

डा. केसीको टिमले नेपालीहरुका चाडपर्व दीपावली, छठ, नेपाल सम्बत ११४२, उधौंली, ल्होसार लगायतको अवसरमा पारेर भर्चुअल शुभकामना कार्यक्रम आयोजना गरेको थियो । विश्वभर छरिएका गैरआवासीय नेपाली र नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारले शुभकामनासहित सांगीतिक प्रस्तुती दिएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित