बजेट फेल भएपछि पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, शीघ्र निर्वाचनको घोषणा

बजेट फेल भएपछि पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, शीघ्र निर्वाचनको घोषणा
युरोपनेपाली खबर २०७८ कार्तिक १९ शुक्रबार, 5-11-2021

राजकुमार थापा, लिस्बन, पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो डी सौजाले बिहीबार साँझ संसद भंग गर्दै  आगामी सन् २०२२ को जनवरी ३० मा  देशमा नयाँ निर्वाचन हुने घोषणा गरेका छन् ।

सांसदहरूले प्रधानमन्त्री एन्टोनियो कोस्टाले प्रस्ताव गरेको २०२२ को राज्यको बजेट अस्वीकार गरेपछि गत हप्ता पोर्चुगल राजनीतिक संकटमा फसेको थियो ।

बजेट अस्वीकृत भएसंगै सन् २०१५ देखि पोर्चुगलमा शासन गरिरहेको सबैभन्दा ठूलो दल (संसदमा अल्पमत) समाजवादी पार्टी (पीएस) गठबन्धन सरकारको अन्त्य भएको हो ।

पोर्चुगलमा सन् १९७४ मा प्रजातान्त्रिक गणतन्त्र स्थापना भएपछि राज्यको बजेट बिधेयक  अस्वीकृत भएको यो पहिलो अवसर हो ।

राष्ट्रपति मार्सेलो रेबेलो डे सौजाले संसद विघटन गर्दै  टेलिभिजन सम्बोधनमा भने,  "सरकारले संसदमा समर्थन पूर्ण रूपमा गुमाएको छ, अब नयाँ निर्वाचन अपरिहार्य बनेको छ र नयाँ निर्वाचन संगै सन् २०२२ पोर्चुगलका लागि महामारी र सामाजिक संकटबाट दिगो निकासको निर्णायक वर्ष हुनेछ।"

एक करोड ३ लाख जनसंख्या भएको पोर्चुगलको लागि यो चुनाव एक संवेदनशील समयमा हुँदैछ, किनकि कोभिड-१९ को महामारी पछि  पोर्चुगलको अर्थतन्त्रलाई बलियो बनाउन  युरोपियन युनियनबाट करिब ४५ बिलियन युरोको सहायता परिचालन गर्न थालिएको थियो ।

संसदीय प्रक्रिया बमोजिम अब राज्यको नयाँ  बजेट अप्रिलसम्म संसदमा आउन सक्ने सम्भावना छैन ।  यसले पोर्चुगलको आर्थिक पुनरुत्थानमा अबरोधहरु सृजना हुन सक्ने देखिएको छ ।

सांसदहरूले बजेट अस्वीकार गरेपछि पोर्चुगलमा शीघ्र अर्थात मध्यावधि  निर्वाचन हुने निश्चित भएको थियो र प्रधानमन्त्री कोस्टाले राजीनामा दिने अपेक्षा गरिएको थियो तर कोस्टाले अन्तरिम प्रधानमन्त्रीको रूपमा राजीनामा दिन अस्वीकार गरेका छन्  र उनले फेरि आफ्नो समाजवादी पार्टीलाई प्रबल, स्थिर र स्थायी बहुमतको लागि ससक्त चुनावी अभियानको नेतृत्व गर्ने वाचा गरेका छन्।  पोर्चुगलको २३० सिट भएको संसदमा गएको निर्वाचनमा समाजवादी पार्टी (पीएस)ले १०८ सिट जितेको छ ।

प्रधानमन्त्री कोस्टाको समाजवादी पार्टीले गत महिनाको नगरपालिका चुनावमा समग्रमा जित हासिल गरेता पनि  २०१७ को तुलनामा कम मत प्राप्त गरेको थियो  र राजधानी लिस्बन महानगरमा आश्चर्यजनक हार बेहोरेको थियो।

यसैबीच, विपक्षी दल सामाजिक लोकतान्त्रिक पार्टीले डिसेम्बरमा आफ्नो नयाँ नेता छान्नको लागि आन्तरिक नेतृत्वको निर्वाचन गर्ने तयारी गरेको छ ।

पोर्चुगलमा भर्खरै भएका जनमत सर्वेक्षणहरुले समाजवादी पार्टीले पुन: चुनाव जित्ने तर संसदमा बहुमत ल्याउन पुन: असफल हुने देखाएको छ। गत हप्तासम्म सरकारसँग गठबन्धन गरेका कट्टर वामपन्थी कम्युनिष्ट पार्टी र वाम गठबन्धनले हालैको निर्वाचनमा आफ्नो लोकप्रियता अघिल्लो चुनावको भन्दा घटाएका छन्  ।

पोर्चुगलको वर्तमान राजनीतिमा सबैभन्दा उल्लेखनीय के छ भने, दक्षिणपन्थी लोकप्रिय पार्टी चेगाको उदय भएको छ, जुन तीन वर्ष पहिले मात्र स्थापना भएको थियो। यस पार्टीमा हाल एक जना मात्र सांसद  छन्, तर जनमत सर्वेक्षणले आगामी चुनावमा यस पार्टी २० सिट जित्न सक्ने र पोर्चुगलको राजनीतिको निर्णायक शक्ति अर्थात किङ्ग मेकर बन्न सक्ने सम्भावना देखिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित