एनआरएनएमा संस्थापनबाट भएको अनियमितता सच्याउनु पर्छ, अरुलाई दोष थोपरेर हुँदैन : अध्यक्षका प्रत्यासी कुल आचार्य (भिडियो सहित)

एनआरएनएमा संस्थापनबाट भएको अनियमितता सच्याउनु पर्छ, अरुलाई दोष थोपरेर हुँदैन : अध्यक्षका प्रत्यासी कुल आचार्य (भिडियो सहित)
युरोपनेपाली खबर २०७८ कार्तिक २८ आइतबार, 14-11-2021


पोर्चुगल - गैरआवासीय नेपाली संघ दशौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संघको दशौँ महाधिवेशन रोकिएपछि अरुलाई दोष लगाएर भ्रमको खेती नगर्न आग्रह गरेका छन् । उनले आइसीसीलाई अनियमितता सच्चाएर मिलेर अघि बढ्न आग्रह पनि गरे ।

एनआरएनमा देखिएको विवादको सम्बोधन गर्न  मिलेर महाधिवेशनमा जानुको विकल्प नभएको आचार्यले बताए । युरोपमा आज भएको एक कुराकानीको क्रममा आचार्यले आइसीसीमा भएका अनियमिततालाई सच्चाउन आग्रह गर्दा नमानेपछि परराष्ट्रमा जानुलाई राजनीति गरेको भन्ने  आरोप लगाएको भन्दै आपत्ति जनाए ।

उनले नेपालको माया गर्नेहरुलाई  एनआरएनएमा सम्बन्ध सुधारेर आगडि बढ्नसमेत आग्रह गरे । उनले चुनावमा 'लिमिट क्रस' गरेर डेलिगेट्स चयन गरेर  संस्थालाई धरासायी बनाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे । संस्थामा भएका अनियमितताका विषयमा उठाइएका प्रश्नलाई ढाकछोप गर्न आफूमाथि राजनीति गरेको आरोप लगाइएको उनले बताए ।

‘आएका निवेदनमाथि किन छानबिन हुन सकेन? किन छलफलमा ल्याइएन?’ आचार्यले प्रश्न गरे, ‘महासचिवले आफू बस्ने देशमा समस्या छ भन्नुहुन्छ ।  त्यो देशको समस्या समाधान गर्ने जिम्मेवार व्यक्ति उहाँ हो कि होइन?' अध्यक्ष रहेकै देशमा पनि समस्या भएको उनले बताए । अफवाह फैलाएर, भ्रम फैलाएर, संसारका नेपालीलाई उल्लु बनाएर अघि बढ्ने प्रयास नगर्न आग्रह गरे ।

परराष्ट्र मन्त्रालयमा १९ वटा निवेदनहरु गएको र ती निवेदन एकै  जनाले न दिएको उनले स्पष्ट पारे । ‘सत्यतथ्य  छानबिन गरी न्याय माग्दै केही साथीहरुले निवेदन दिनुभएको हो । केही कुरा परराष्ट्रले लेखेर पठाइसकेको छ । त्यो मान्दैनौं भन्यौं भने नेपाल सरकारसँग हाम्रो सम्बन्ध कस्तो होला ?’ अध्यक्षका प्रत्यासी आचार्यले प्रश्न गरे ।

आचार्यले विधिविधानमा रहेर काम गर्नुपर्नेमा जोड दिए । गैर आवासीय नेपाली संघलाई बाँडीखाने ठाउँ नबनाउन आग्रह गर्दै आचार्यले आफू रहेको देश बेलायतको एनसीसी निर्वाचनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।

‘समस्या धेरै होइन, कसैको अनुहार मन परेन, व्यक्ति मन नपर्दैमा संस्थाको दुरुपयोग गर्न पाइन्छ?’, उनले प्रश्न गरे, ‘समस्याको समाधान गर्न चाहेको भए, आफैले गरेको निर्णय बदर गरी किन अघि बढ्नु थियो? समस्याको समाधानमा जिम्मेवार भएर लाग्नुपर्ने होइन?’ एनसीसीहरुको अधिवेशन पछि पनि सदस्य तथा  डेलिगेट्सहरु  थपिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै आचार्यले यसबारे आफूले अध्यक्ष कुमार पन्तलाई अवगत गराएको बताए ।

‘एकरुपताको आधारमा निर्णय गर्नुस् । अगाडि बढ्नुस् । तपाइँलाई हामी सहयोग गर्छौं भनेकै छु’, उनले भने, ‘अनियमितता सच्चाएर अगाडि बढनोस् । भोलि चुनाव भए पनि जान तयार छु । गैर आवासीय नेपाली संघ जुन उद्देश्यले शुरु भएको हो, त्यस बाहेकका  मुद्दामा अल्झाएर भ्रम छर्ने काम नगरौं । बाहिर बस्ने नेपालीका समस्या समाधान गर्नुपर्छ ।  भ्रमको खेतीमा नअल्झाउन समेत उनले आग्रह गरे ।

जतिसक्दो छिटो जुन कमजोरी गर्यौं, त्यसलाई सुधारेर प्रजातान्त्रिक पद्धति अपनाएर, सहमति  हुन सके सहमति नसके चुनावमा जानुपर्छ । एकले अर्कालाई दोष लगाउँदा संस्थाको हित नभइ दुरुपयोग हुने उनले  बताए ।

आचार्यले अब प्रतिनिधि थप्ने घटाउने काम नगर्न समेत चेतावनी दिए । ‘दिनदिनै इमेल गरेर नखेलौं । सदस्यता थपिरहने बन्द गरौं । संस्थासँग जोडिएका विषयमा काम गर्न हामी आतुर छौं’, उनले भने, ‘संरक्षकहरु एक ठाउँमा बसेर सत्यतथ्य छानबिन गर्नुपर्छ । पूर्व अध्यक्षहरु एक ठाउँमा भएर अघि बढ्नुपर्छ ।’ संस्थालाई विवादित बनाएर फाइदा लिएर आफ्नो पक्षमा बनाउन खोज्नु गलत भएको आचार्यले  टिप्पणी गरे । ‘चाहने हो भने यो समस्याको भोलि समाधान हुन्छ’, उनले भने, ‘काम चलाउ हुँदै गर्दा ६५ प्रतिशत डेलिगेट्स छनोटमा भएको अनियमितालाई सच्चाऊँ र २५ प्रतिशतमा चित्त नबुझेको भए फेरि चुनाव गरौं ।’

गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा अनियमितता भएकाले नै साथीहरु परराष्ट्र जान वाध्य भएको भन्दै आचार्यले भने, ‘चुनावको विषयमा संस्थापन पक्षले ‘कट अफ डेट' तोक्न नसकेर यो अवस्था आएको हो ।

संस्थाको हकहितका लागि सबै सँगै हुनुपर्नेमा उनले जोड दिए । आफूले सल्लाहकारको नाताले बेलाबेलामा सल्लाह दिइरहेको तर त्यसको कुनै सुनुवाई नभएको उनले गुनासो गरे।  अहिले जसले राजनीति गरिरहेको छ, उसैले आफूमाथि  राजनीति गरेको आरोप लगाइरहेको उनले बताए ।

नेपाल प्लस ।

हेर्नुहोस्  कुल आचार्यसंगको अन्तर्वार्ताको भिडियो: कुल आचार्यको एक्ल्युसिभ अन्तर्वार्ता

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित