भारतको ७३औं गणतन्त्र दिवसको प्रमुख अतिथि प्रधानमन्त्री देउवा सहित बिस्केटका राष्ट्र वा सरकार प्रमुख

भारतको ७३औं गणतन्त्र दिवसको प्रमुख अतिथि प्रधानमन्त्री देउवा सहित बिस्केटका राष्ट्र वा सरकार प्रमुख
युरोपनेपाली खबर २०७८ मंसीर ६ सोमबार, 22-11-2021


भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ । भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ । सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ । यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो ।

भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाइल्यान्ड बिमस्टेकका सदस्य देश हुन् । सन् २०१८ मा भारतले आसियानका सरकार तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । भारतले आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राखेर गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउने गरेको छ ।

समारोहमा म्यानमारका सैनिक शासक जनरल मिन आङ ह्लाइङलाई पनि बोलाइनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत फेब्रुअरीमा कुमार्फत सत्ता हत्याएका जनरल मिनलाई विश्वका धेरै राष्ट्रले मान्यता दिएका छैनन् । यस्तो अवस्थामा मिनका लागि भारतीय नेतृत्वसँगको भेट महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थनका रूपमा लिन सकिने कूटनीतिज्ञहरू बताउँछन् ।

यसअघि सन २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा पनि बिमस्टेकका नेताहरुलाई अतिथिको रुपमा निम्त्याइएको थियो ।

नेपालबाट पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवनमा भएको सपथग्रहण समारोहमा सहभागी भएका थिए । सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई प्रमुख अतिथि बनाइएको थियो भने गत वर्ष कोरोना महामारीका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित