केपी ओली एमाले अध्यक्षमा निर्विकल्प, म केन्द्रीय सदस्यलागि हक राख्छु - अधिवक्ता भविश्वर गुरुङ

केपी ओली एमाले अध्यक्षमा निर्विकल्प, म केन्द्रीय सदस्यलागि हक राख्छु - अधिवक्ता भविश्वर गुरुङ
युरोपनेपाली खबर २०७८ मंसीर ७ मंगलबार, 23-11-2021


नेकपा एमालेको १०औँ महाधिवेशनको तरंगले देशभर राजनीति रापिलो बनाइरहेको छ । पार्टी नेतृत्वमा दाबी गर्नेहरूको लर्को लागिरहेको छ भने केन्द्रीय सदस्यमा अटाउने आकांक्षामा पनि धेरै देखिएका छन् ।

‘सर्वसम्मत नेतृत्व’को ‘पहल’ पार्टीभित्र व्यापक भइरहेका बेला शीर्ष नेतृत्वमै प्रतिस्पर्धाको अवस्था पनि देखिएको छ । यही सेरोफेरोमा रहेर एमाले प्रदेश १ का सदस्य अधिवक्ता भविश्वर गुरुङसँग गरेको कुराकानी प्रस्तुत छ ।

नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा देशभर तरंग छाइरहेको छ । तपाईंले महाधिवेशनको माहोललाई कसरी लिइरहनुभएको छ ?

–स्वाभाविक रूपमै राष्ट्रिय पार्टी, मुलुकको ठूलो पार्टी, लामो इतिहास बनाएको पार्टीको महाधिवेशन, त्यसमा पनि नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाका बारे आमचासो हुन्छ नै । अर्को कुरा, एमालेको यस महाधिवेशनको अर्थ यस कारण पनि छ कि मुलुकको आगामी दिशा र दशाको निक्र्योल पनि यसबाटै हुनेछ । मुलुकको स्थायित्व र विकासका सवालमा एमालेको भूमिका महत्त्वपूर्ण हुन्छ नै र यसका निम्ति पनि आगामी एमालेको नेतृत्वबारे चासो हुने गर्छ ।

एमालेले मुलुकलाई स्थायित्व कसरी दिन्छ र– दुई तिहाइको सरकार र एकीकृत बनेको ठूलो वाम पार्टीलाई नै जोगाउन र स्थायित्व दिन सकेन ?

यो सही कुरा होइन । विगतमा जुन नेकपा बनेको थियो, त्यो कार्यगत र स्वार्थगत एकता मात्र थियो । माओवादी केन्द्र र एमाले एकै चुनाव चिह्न लिएर चुनाव लडेका हुन् र ? होइनन् भने कसरी पार्टी एक भएको हो ? कसरी एकता भएको भन्ने ।

खासमा बाध्यात्मक परिस्थितिको सामयिक उपज मात्र थियो त्यो । एकताको सन्दर्भ चलिरहँदा ‘म मिल्दिनँ’ भन्ने अवस्था अध्यक्ष केपी ओली र एमालेलाई थिएन । तर, प्रस्ट के हो भने, त्यो वास्तविक एकताको पहल र अवस्था होइन, थिएन ।

अनि, अहिले एमालेभित्र ‘सहमति’ र ‘सर्वसम्मति’को रटान व्यापक छ । तर, शीर्ष नेतृत्वदेखि अन्य पदाधिकारीसम्म प्रतिस्पर्धी (आकांक्षी)को संख्या पनि बढिरहेको देखिन्छ । यस्तो अवस्थामा कसरी सर्वसम्मति हुन्छ ?

–एमालेभित्र पदका आकांक्षी सबै नेता योग्य र सक्षम छन् । कोही पनि कोहीभन्दा कम छैनन् नेतृत्वका लागि । तर, नेतृत्वमा सबै पुग्ने वा सबैले नेतृत्व प्राप्त गर्ने अवस्था हुँदैन कुनै पनि संगठन र संस्थामा । धेरैबाट थोरै वा सीमित व्यक्ति मात्र नेतृत्वमा पुग्ने हुन् । यो तथ्य सबैलाई थाहा भएकै हो ।

अर्को कुरा, केही समयअघि भएको विधान महाधिवेशनले नै धेरै कुराको अनौपचारिक छिनोफानो गरिसेकको अवस्था छ । त्यही विधान महाधिवेशन नै एमालेमा अबको महाधिवेशनको सर्वसम्मत नेतृत्वको आधार हो । १० बुँदे पनि अर्को आधार हो सहमति र सर्वसम्मतिको । केन्द्रीय सदस्यमा निर्वाचन हुने अवस्था आउन सक्ला तर पदाधिकारी सबै सर्वसम्मत हुने कुरामा हामी विश्वस्त छौँ ।

तपाईंले शीर्ष नेतृत्वमा, विशेषगरी अध्यक्ष र महासचिवमा कोकसको संभावना बढी देख्नुभएको छ ?

–त्यो त प्रस्टै छ– जब विधान महाधिवेशनले अध्यक्षको सांगठनिक र राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिसकेको छ भने अबको अध्यक्ष निर्विरोध उहाँ नै हो भन्ने नै हो । केपी शर्मा ओलीको विकल्प एमाले नेतृत्वमा अहिले छैन भनेर बुझ्नुपर्छ ।

जहाँसम्म महासचिवको कुरा छ, त्यसका लागि व्यक्तिको टुंगो लागिसकेको अवस्था नभए पनि शंकर पोखरेल बलियो संभावना भएका व्यक्ति हुनुहुन्छ महासचिवका लागि । उहाँको वैचारिक प्रस्टता, शालीनता, युवाहरूको भावना बुझ्न सक्ने क्षमता आदिका कारण र उहाँमा रहेको नेतृत्व कौशलका आधारमा पनि शंकर पोखरेलले त्यो हक राख्नुहुन्छ भन्ने लाग्छ ।

तपाईंको चाहना वा इच्छाचाहिँ के छ नेतृत्वका लागि ?

–म लामो समयदेखि कम्युनिस्ट आन्दोलनमै छु । एमालेसँगको साइनो निकै लामो भइसकेको छ । विद्यार्थीकालदेखि आजसम्म पार्टीका विभिन्न संगठन र मोर्चामा जिम्मेवारी लिएर निरन्तर क्रियाशील छु ।

यस कारण मैले पनि पार्टीको केन्द्रीय कमिटीमा हक राख्छु भन्ने लाग्छ । म जनजाति कोटाबाट केन्द्रीय सदस्यका लागि उभिने योजनामा छु । सबै प्रतिनिधिहरूको साथ, सद्भाव र सहयोग पाउनेछु भन्नेमा म ढुक्क छु ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित