एनआरएनएको निर्वाचन गर्न संरक्षक परिषद बहुमतद्धारा अस्वीकार, अध्यक्ष पन्तले भोलि पत्रकार सम्मेलन गर्दै

एनआरएनएको निर्वाचन गर्न संरक्षक परिषद बहुमतद्धारा अस्वीकार, अध्यक्ष पन्तले भोलि पत्रकार सम्मेलन गर्दै
युरोपनेपाली खबर २०७८ मंसीर १० शुक्रबार, 26-11-2021

  

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउन परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई दिएको जिम्मेवारी बहुमतद्वारा अस्वीकार गरेको छ ।

संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको पहलमा बसेको बैठकमा सहभागी बहुमत संरक्षकहरुले मन्त्रालयको पत्र प्रचलित कानून र संस्थाको विधान विपरित भएको भन्दै निर्वाचनको जिम्मेवारी लिन अस्वीकार गरेको एनआरएनए स्रोतले जनाएको छ ।

प्रमुख संरक्षक शेष घलेले परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई जिम्मेवारी तोकेपछि बैठक राखेका थिए ।

बैठकमा बोल्दै संरक्षक जीवा लामिछानेले मन्त्रालयको पत्रले वर्तमान कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाए पछि सोही कार्यसमितिद्धारा गठित संरक्षक परिषद  कसरी वैधानिक हुन सक्छ ? भन्दै संघको निर्वाचनको सम्पूर्ण काम संघको विधान अनुरुप हुनु पर्ने तर्क राखेका थिए ।

बैठकको संयोजन गरेका  घलेले लामिछानेको तर्क सुने पछि कानूनविदसंग छलफल गर्ने बताएका थिए ।

संरक्षक परिषदमा भएका संस्थापक रामप्रताप थापा, पूर्व अध्यक्षहरु जीवा लामिछाने र भवन भट्ट स्पष्ट रुपमा मन्त्रालयको पत्र अवैधानिक भएको भन्दै कार्यसमितिले नै निर्वाचन गराउन पर्ने पक्षमा छन् भने शेष घले र देवमान हिराचन चुनावको जिम्मा लिने पक्षमा उभिएका छन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो समेत संरक्षक परिषदका बहुमत सदस्यहरूको पक्षमा रहेको बताएको छ ।

शेष घलेले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई पत्राचार गरी निर्वाचन गराउनकालागि केन्द्रिय सचिवालय, काठमाडौंका कर्मचारीहरु आफ्नो चुनावी अभियानकालागि परिचालित गराइदिनुपर्ने, सचिवालयमा भएका तथ्यांक र सूचनाहरु उपलब्ध गराइदिनुपर्ने र निर्वाचन आयोगलाई चुनाव नगराउन निर्देशन दिन माग गरेका थिए ।

तर शेष घलेको उक्त प्रस्तावलाई अध्यक्ष पन्तले ठाडै अस्विकार गरिदिएका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघले संघको वर्तमान परिस्थितिका बारेमा शनिवार दिउँसो ३ बजे ( नेपाल) एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन सम्बन्धी जानकारी दिने भएको  छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित