एनआरएनएका संरक्षकहरु र नेपाल सरकारलाई आरोपित नगर्न कुलको चेतावनी

एनआरएनएका संरक्षकहरु र नेपाल सरकारलाई आरोपित नगर्न कुलको चेतावनी
युरोपनेपाली खबर २०७८ मंसीर १२ आइतबार, 28-11-2021

 

पोर्चुगल । गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाका संरक्षकहरु र नेपाल सरकारलाई आरोपित र गाली नगर्न अध्यक्ष कुमार पन्तलाई चेतावनी दिएका छन्  ।

आचार्य समर्थकहरुद्वारा आइतवार आयोजित ‘खुला डबली’ मा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

आचार्यले सरकारसँग झगडा गर्ने कुरा आजैदेखि बन्द गर्न र जुनसुकै पार्टीको सरकार भएपनि सम्मान गर्न आह्वान गरेका छन् । ‘के गैरआवासीय नेपालीका समस्यालाई रद्दीको टोकरीमा हालेर हामी अगाडि बढ्न खोजेको हो?’ उनले प्रश्न गरे ।

‘अहिलेका सबै स्टेकहोल्डरले मन्त्रालयसँग सिंगौरी खेल्दै होइन, विधि विधान अनुसार दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ । सकिन्छ, मिलेर जाऔं, नसके पारदर्शी ढंगबाट चुनाव लडेर अगाडि जाउँ’ उनले भने ।

‘संसारभरिका नेपालीको टाउको बेच्ने काम भएको छ भने हामी खबरदारी गर्छौं । एउटा नेपालीले अर्कोलाई ठगेको छ भने त्यो सहनसक्ने विषय होइन,’ आचार्यले थपे ।

उनले संस्था नेपालीका दुःखसुखमा साथ दिन, नेपालसँग जोड्नका लागि बनाइएको तर कसैको व्यापारिक हित पुरा गर्न नबनाइएको उल्लेख गरे ।

यस्तैगरी खुला डबलीमा बोल्दै उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक भएको बताए । “जुन थालमा खाना खान्छौं, त्यसैलाई लात हान्नु लाज लाग्ने कुरा हो,“ उनले भने । उनले एनआरएनए फुटेर हैन,  जुटेर जानुपर्ने पनि बताए।

आइसीसीका अर्का उपाध्यक्ष मन केसीले संघका कुनै पनि निकायमा छलफल र निर्णय नगरी नेपाल सरकार विरुद्ध मुद्दा गर्ने काम मान्य नहुने बताए । “हामीलाई अन्धकारमा राखिएको छ । सरकार विरुद्ध मुद्दा हाल्ने कामले गलत नजीर बसालेको छ ।’

यसैगरी महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले गत जनवरीमा विशेष अधिवेशनको नाटक रचिएको र संस्था कब्जा गर्ने खेल जारी रहेको बताए । उनले संस्थाका केही अगुवाहरुले एनआरएनएको नाममा व्यापार गरिरहेको बताउँदै त्यो हतियार उनीहरुले त्याग्न नचाहेको दावी गरे । तर कोकसले ब्यापार गरेको भन्ने चाहिं उनले खुलाएनन् ।

गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन हंगकंगका पूर्व अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता देखिएको भन्दै दुख व्यक्त गरे ।

संस्थापन पक्षले अभिभावकको भूमिका खेलेर प्रतिपक्षलाई बिश्वासमा लिई अघि बढ्नु पर्नेमा आफैं मुद्दामामिला गर्दै हिड्ने काम दुर्भाग्यपूर्ण रहेको उनले बताए । आफ्ना कमिकमजोरी लुकाउन अरुलाई दोष लगाउने काम कामचलाउ अध्यक्षले गरेको भन्दै उनले खेद व्यक्त गरे ।

पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक डा. शेष घलेको नाम लिएर पटक पटक संस्थाको बेथितिको कारक उनी रहेको भन्दै दोष लगाएका थिए ।

एनआरएनएका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डितले नियमावली र विधान आफूखुशि बदलेको, बिभिन्न बुँदा संस्थापन पक्षले आफूखुशि थपेको आरोप लगाउँदै त्यसका बिरुद्द लड्न आव्हान गरे । उनले भने “अब यसका बिरुद्द एकजुट भएर लड्नुपर्छ । जस्तोसुकै कदम चाल्नपनि तपाईहरु तयार रहनुहोला ।”

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदकै केही पदाधिकारीहरुले उनीहरुसँग सरसल्लाह नगरिकनै अध्यक्ष कुमार पन्तले नेपाल सरकार विरुद्ध मुद्दा दायर गरेको आरोप लगाएका छन् ।

युरोप संयोजक नारायण आचार्यले अदालत जाने बारे संस्था भित्र कुनैपनि छलफल नभएको उल्लेख गरे । हालका सीइओ राजेश राणालाई जबर्जस्ती हटाउँदा संघलाई लाखौं घाटा लागेको भन्दै उनले यस पटक पनि सर्वसाधारण एनआरएनले तिरेको शुल्क खर्च गरेर मुद्दा मामिला नगर्न चेतावनी दिए । “यदि त्यसो गरियो भने मुद्दामामिला गर्दा लागेको खर्च आउँदै गरेको कमिटिले सम्बन्धित पदाधिकारीहरुबाट शोध भर्ना गराउनु पर्छ” उनले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित