समृद्ध र सुखी बनाउने योजनासहित प्रो-इलाइट क्लबको प्रथम विश्व भेला लिस्बनमा सम्पन्न

समृद्ध र सुखी बनाउने योजनासहित प्रो-इलाइट क्लबको प्रथम विश्व भेला लिस्बनमा सम्पन्न
२०७८ मंसीर १५ बुधबार, 1-12-2021


आरके थापा, युरोपनेपाली खबर, लिस्बन । प्रो-इलाइट (Proelite Club) क्लबको प्रथम विश्व भेला सफलता, समृद्ध र सुखी जीवनका लागि Healthy & Wealthy नेपाली भन्ने नाराका साथ  लिस्बनमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलामा विश्वभरिबाट झण्डै एक सय जना प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन् ।

विश्वभरि १० हजार भन्दा बढी सदस्य रहेको क्लबले प्रविधिका माध्यमद्वारा विश्वले दिन प्रतिदिन गरिरहेको नयाँ नयाँ आविष्कार, चमत्कार एवं  आर्थिक, भौतिक तथा सामाजिक रूपमा हासिल गरेको सफलतालाई  हाम्रो आफ्नो दिनहुुँदिनको जीवनमा कसरी सकारात्मक रूपमा उपयोग गर्न सकिन्छ र जीवनलाई आर्थिक, भौतिक र मानसिक रूपमा सबल, सक्षम र समृद्ध  बनाउन सकिन्छ भन्ने बारेमा आधारभूतदेखि उच्चस्तरको ज्ञान र अनुभवको आदानप्रदान गर्नु तथा ट्रेनिङहरु दिनु  र उपायहरु सिकाउनु क्लबको मुख्य उदेश्य रहेको लिस्बन निवासी प्रविधि विज्ञ तथा क्लबका संस्थापक अगुवा रोशन पोखरेलले बताए ।

पोखरेलका अनुसार "विगत डेढ बर्षमा  जुमको माध्यमबाट भर्चुअल रूपमा हजारौं मानिसहरुमा जीवनलाई सफल बनाउने उपायहरुको बारेमा छलफल, अन्तरक्रिया, ज्ञान तथा अनुभवको आदानप्रदान र ट्रेनिङहरु सम्पन्न भइसकेका छन् ।  अब यसलाई भौतिक रूपमा नै विस्तार गर्ने हेतुले यो विश्व भेला आयोजना गरिएको हो । र बर्सेनि क्षेत्रीय रूपमा विभिन्न ठाउँहरुमा यस्ता भेलाहरु आयोजना हुनेछन् र ज्ञान र अनुभवहरु साटासाट गरिनेछ, पोखरेलले भने ।"

स्कटल्याण्डबाट आएको प्रसिद्ध नौमति बाजा घन्काएर भेलाको उद्घाटन गरिएको थियो । उद्घाटन अघि सोही नौमतिबाजाको धुन सहित क्लबका संस्थापक तथा मुख्य प्रशिक्षक रोशन पोखरेल सहित भेलामा आएका प्रतिनिधिहरुलाई  फूलमाला लगाइ लिस्बन नगरी परिक्रमा गराइएको क्लबका अगुवा तथा कार्यक्रम आयोजक समितिका संयोजक लन्डन निवासी ललितकुमार न्यौपानेले जानकारी दिए ।

                                                   सो अवसरमा प्रशिक्षक तथा विज्ञ रोशन पोखरेल र उनकी धर्मपत्नी बविता पोखरेललाई क्लब स्थापनामा खेलेको भूमिका, पुर्याएको योगदान र मेहनतका लागि आयोजक र उपस्थिति प्रतिनिधिहरुको तर्फबाट अभिनन्दन गर्दै उपहारहरु प्रदान गरिएको थियो । 

कार्यक्रममा  पोर्चुगल सफल व्यवसायी तथा  वीनर क्लब पोर्चुगलका तर्फबाट सूर्य हमाल, नारायण सुवेदी लगायतले प्रशिक्षक रोशन पोखरेल तथा उनकी श्रीमती बविता पोखरेललाई सम्मान स्वरुप  १६ किलोको फूलको मालाले सुशोभित गरेका थिए ।

आयोजक समितिका संयोजक ललितकुमार न्यौपानेको अध्यक्षमा सम्पन्न औपचारिक कार्यक्रमलाई क्लबका संस्थापक कृष्ण बगाले तथा दिलु गैरेले संचालन गरेका थिए । सो कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व आसिसी सदस्य सूर्य हमाल, वर्तमान अध्यक्ष रबिन अधिकारी, महासचिव राजकुमार थापा र पूर्व सल्लाहकार नारायण सुवेदीले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा क्लबको तर्फबाट डा. रामकुमार अधिकारी, गोविन्द सेढाइ, कृष्ण बगाले, मिलन गुरुङ, सुवर्ण हमाल, नवराज पौडेल लगायतले क्लब र कार्यक्रमको उपादेयता बारेमा प्रकाश पारेका थिए ।नवराज पौडेलले कार्यक्रम व्यवस्थापनका लागि सक्रिय भूमिका निभाएका थिए । अन्त्यमा आयोजकहरुको तर्फबाट सहभागी सबैलाई आत्मीयताको लागि चिनो स्वरुप "टोकन अफ लभ" प्रदान गरिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित