यस्तो छ कमल हार्नुको वास्तविक कथा

यस्तो छ कमल हार्नुको वास्तविक कथा
युरोपनेपाली खबर २०७८ मंसीर २१ मंगलबार, 7-12-202


राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट बाहिरिएका छन् ।

राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएसंगै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहवाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो ।

अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए ।

त्यसैकारण अध्यक्ष लिङ्देन भएको पार्टीमा अब उप्रान्त कमल थापा नरहने पक्कापक्कि जस्तै भएको निकट नेता बताउछन । अब कमल थापा कि नयाँ पार्टी खोल्ने मनस्थितिमा रहेको ती नेताले बताए ।

हिन्दु राज्यको नारा बोकेका केही एमालेका नेताहरुसङ्ग थापाको कुरा मिल्ने भएको हुँदा उहाँ त्यहापनि जोडिन सक्नुहुन्छ ती नेताले भने ।

‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो, स्वयं राजाले पनि बोलाएर थापालाई हराउन निर्देशन दिएको तथ्य त्यहाँ खोलियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘सबैको निष्कर्ष थियो, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालिएको छ ।’

उनका अनुसार उक्त बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायत नेताहरू ‘अप्रत्यासित नतिजा’ले आफू चकित भएको सामान्य प्रतिक्रिया दिएका थिए ।

बैठकमा सहभागीका अनुसार पूर्वराजाका सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकलगायतले प्रतिनिधि तथा नेताहरूलाई भेटघाट गरी थापाको विपक्षमा माहोल बनाएको निष्कर्षसमेत निकालेको उनले जानकारी दिए ।

बैठकमा उपस्थित अधिकांशले पूर्वराजा शाहले धोका दिएको निष्कर्षसहित उनको सचिवालयले थापाको विपक्षमा खेलेको भूमिकाका बारेमा चर्चा गरेको उनले जानकारी दिए ।

कमल थापाको पराजयको ५ कारण

राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको पराजयले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । नयाँ पुस्ताका राजेन्द्र लिङ्देनसँग अनुभवी नेता थापा पराजित भएका हुन् ।

लिङ्देन पहिलोपटक झापाबाट निर्वाचित सांसद हुन् । थापा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका नेता हुन् ।

थापाको पारिवारिक पृष्ठभूमि पनि संभ्रान्त खालको छ । उनको परिवारका सदस्यमध्ये सेनाका जर्नेल, एन्फा अध्यक्ष भइसकेका छन् ।

कर्मचारीतन्त्र देखि विभिन्न निकायमा राम्रो पकड बनाएका थापाको पराजयलाई कतिपयले आश्चर्यजनक मानेका छन् । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले हराएको चर्चा पनि छ । थापा स्वयंले त्यस्तो प्रतिक्रिया दिइसकेका छन् ।कमल थापा पराजित हुनुमा केही महत्वपूर्ण कारणहरु छन् ।

१. कमजोर राजनीतिक भूगोल

कमल थापा राष्ट्रिय राजनीतिमा बलियो रुपमा देखापरेपनि निर्वाचन क्षेत्रमा कमजोर देखिदै आएका छन् । मकवानपुरलाई राजनीतिक भूगोल बनाउँदै आएका उनी बहुदल आएपछि एकपटक मात्र २०५१ सालमा त्यहाँबाट निर्वाचित भएका थिए ।२०६५ सालमा भएको पहिलो संविधानसभा चुनावमा उनी समानुपातिकतर्फको उम्मेदवार बने ।

त्यसपछि भएका दुईवटै निर्वाचनमा थापा पराजित भए । मूलधारको राजनीतिक दलको अध्यक्ष भइकन उनी आफ्नै निर्वाचन क्षेत्रमा पटक पटक पराजित हुनुले कार्यकर्ताले कमजोर ठान्न थाले ।

जबकि राप्रपा देशभर हार्दा राजेन्द्र लिङ्देनले झापाबाट चुनाव जिते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्न सक्नुले लिङ्देन भूगोलमा बलियो देखिए ।

राप्रपा स्थानीय चुनावमा देशभर नगरपालिका तहमा हार्दा धबल शमशेर राणाले जिते । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर जितेका राणाको पनि भूगोल बलियो देखियो ।

राप्रपाका कार्यकर्ताले भूगोल बलियो भएको नेताको चाहना राखे । लिङ्देन र राणा दुवै लोकप्रीय बने । अर्कोतर्फ, गत वर्ष राजाको पक्षमा हजारौं मानिस सडकमा आउँदा झापामा लिङ्देनले शक्ति प्रदर्शन गरेर देखाए ।

।धबल शमशेरले पनि नेपालगञ्जमा त्यस्तै शक्ति देखाए । जसका कारण राप्रपा समर्थक दुवैप्रति आश्वस्त भए ।

लिङ्देन र धबल शमशेर राणालाई चुनाव हराउने प्रयासहरु भएका थिए । तर, सफल भएनन् । कमल थापालाई धबल शमशेरले नेपालगञ्जमा चुनाव प्रचारमा आउनबाट रोके ।

उनले भित्रन पनि दिएनन् । राप्रपामा राजनीतिक भूगोल बलियो भएका सुर्यबहादुर थापा थिए । उनलाई दरबार लागेर हराउन खोज्दा पनि धनकुटाबाट सक्दैनथियो । लिङ्देन र राणाको स्थिति त्यस्तै बन्यो । जुन राप्रपा समर्थकले खोजेका थिए ।

२. अस्पष्ट योजना

कमल थापा पछिल्लो समय अस्पष्ट देखिनथालेका थिए । उनले आफूलाई सुर्यबहादुर थापाको उत्तराधिकारीका रुपमा प्रस्तुत गर्न त खोज्थे तर सकेनन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा उठाए तर त्यसमाथि आशंका पैदा हुने गतिविधि गरे । २०७२ सालमा संविधान जारी हुँदा हस्ताक्षर गरे । जसले हिन्दुराष्ट्र र राजसंस्थाका पक्षधरलाई चिढ्यायो ।

राप्रपाले उठाएको मूल मुद्दाविपरितको संविधान अन्र्तगतको सरकारमा कमल थापा उपप्रधानमन्त्री पाएर गए । प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा क्रमशः स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव सफल पार्न भन्दै गए ।

त्यो पनि आफ्नै नेतृत्वमा यसबाट उनी मुद्दा भन्दा सत्ताका भोका हुन् भन्ने सन्देश गयो । उनले मुद्दा बिर्सिएको सन्देश जाँदा २०७४ सालको निर्वाचनमा नराम्रो धक्का खानुपरेको थियो । लिङ्देनबाहेक सबै नेताहरु चुनाव हारे । यसमा थापाको अस्पष्ट योजना र कमजोर रणनीति नै रहेको आरोप लाग्यो ।

३. सैद्धान्तिक रुपमा विचलन

कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था बोलिरहे । तर, उनले यही मुद्दालाई सत्तामा पुग्ने र शक्तिको अभ्यास गरिरहने कार्यशैली देखाएको सन्देश प्रवाह भयो ।

कमल थापालाई कतिपयले गणतन्त्रमा एउटा खुट्टा र राजसंस्थामा अर्को खुट्टा राखेको सम्म भने । उनको हिन्दुराष्ट्र र राजसंस्थाप्रतिको प्रतिवद्धतामा आशंकाहरु उत्पन्न हुने गतिविधिहरु भए ।

उनमा सुर्यबहादुर थापाको जस्तो जनताको चाहना अनुसारको लाइन समात्ने लोकेन्द्रबहादुर चन्दमा जस्तो एउटै लाइन नछाड्ने शैली पनि देखिएन ।

२०७२ सालमा जारी भएको संविधानलाई थापाले उत्कृष्ट भन्दै सरकारमा सहभागी भए । यसले राप्रपाभित्र उनीप्रति तिव्र असन्तुष्टि बढ्यो । थापाले सैद्धान्तिक रुपमा दरिलो गरी खुट्टा नटेकेको सन्देश गयो ।

कमल थापाप्रति हिन्दु राष्ट्र र राजसंस्थाका पक्षधरले ठूलो भरोसा गरेका थिए । त्यसमाथि २०७२ सालमा घात भएको सन्देश गइसकेको थियो । उनको जीवनशैली र कार्यशैली हिन्दु राष्ट्र र राजसंस्थाका पक्षधरको भन्दा फरक देखिनथाल्यो ।

धर्मको मुद्दा सत्तामा पुग्ने खुड्किलो मात्र बनाएको टिप्पणीहरु हुनथाले । राप्रपा समर्थकहरुले उनमा सैद्धान्तिक विचलन आएको देख्न थाले । यसकारण उनी एकता महाधिवेशनमा राप्रपा कार्यकर्ताबाट नेतृत्वमा अस्वीकृत भए ।

४. परिवार र आफ्नालाई मात्र अवसर

राप्रपाभित्र कमल थापाले आफ्नो दललाई राष्ट्रिय पार्टी बनाएर समानुपातिकमा आफन्त र आफूनिकटस्थलाई मात्र समेट्ने शैली अपनाएको आरोप लाग्यो । उनले भाई र परिवारका अरु सदस्यलाई महत्वपूर्ण अवसरहरु दिए । यसले कार्यकर्तामाझ असन्तुष्टि बढ्यो ।

सरकारमा जाँदा जहिले पनि आफ्नो नेतृत्वमा मात्र जाने गरे । अरु नेता कार्यकर्तालाई मौका दिएनन् । भाईलाई सभासद बनाउने देखि भतिज र छोरीलाई केन्द्रीय कमिटीमा लगे । उनी पारिवारिक घेरामा सिमित हुन थाले । आफूनिकटस्थबाहेक कार्यकर्ताहरुको दूरी बढ्न थाल्यो ।

राप्रपा कार्यकर्ताबाट कहिले अनुमोदित नभएका दिपक बोहराको बढी साथ लिए । उनले राप्रपाभित्रको चुनाव लडेका थिएनन् । राप्रपाभित्र कार्यकर्तामाझ बलियो पकड बनाएकाहरु पेलाईमा परे । यसले पनि राप्रपाभित्र थापाप्रति तिव्र असन्तुष्टि बढ्यो ।

५. नयाँ पुस्ताको छाल

राप्रपाभित्र नयाँ पुस्ता छाल बनेर अगाडि बढे । पछिल्लो समय राप्रपाभित्र ठूलो संख्यामा नयाँ पुस्ता आकर्षित भएको देखिन्छ ।राप्रपाले उठाएको मुद्दामा जुलुस र सभाहरुमा युवाहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । यो छाल बनेर बढिरहेको थियो । कमल थापाले यो छाललाई ठम्याउन सकेनन् ।

युवाहरुले कमल थापालाई विश्वास गर्न सकेनन् । उनीहरुले राप्रपामा परिवर्तन चाहे । फलस्वरुप नयाँ पुस्ताका राजेन्द्र लिङ्देन र धबल शमशेरले छलाङ मारे । कमल थापा युवा मतले नै पराजित भए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित