नेपालमा वातावरण बनेको छ, एनआरएनएले लगानी भित्र्याउन सकारात्मक भूमिका खेल्छ : गौरीराज जोशी

नेपालमा वातावरण बनेको छ, एनआरएनएले लगानी भित्र्याउन सकारात्मक भूमिका खेल्छ : गौरीराज जोशी
युरोपनेपाली खबर २०७८ मंसीर २५ शनिबार, 11-12-202


पोर्चुगल। अमेरिकामा व्यवसाय गर्दै आइरहेका गैरआवासीय नेपाल संघ (एनआरएनए) का सचिव तथा आगामी कार्यकालका लागि महासचिवका प्रत्यासी गौरीराज जोशीले नेपालमा विस्तारै लगानीको वातावरण सिर्जना हुँदै गएको तर, त्यो अपुग भएको बताएका छन्।

एनआरएनएको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका जोशीले देशभित्र सहज किसिमले वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपालीले सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।

लगानी सम्बन्धि भर्चुअल गोष्ठीलाई शनिबार सम्बोधन गर्ने क्रममा उनले देशमा विदेशी लगानी भित्र्याउने सम्बन्धमा सरकारले नीति बनाउँदा एनआरएनएले आफ्नो आवाजलाई दह्रो किसिमले राख्नुपर्ने औलाए।

उनले विगतको मूल्यांकन गर्दै भने, ‘सन् २०१४ भन्दा अगाडि गैरआवासीय नेपालीको देशमा लगानी २९ अर्बको थियो। हामीले ८ हजार ८ सय व्यक्तिलाई जागिर दिन सफल भएका थियौं र हाम्रो लगानी २९ जिल्लामा फैलिएको थियो।’

हाल यो लगानी बढेर १ सय ५० अर्बभन्दा बढी भएको र देशभित्र ७५ हजार व्यक्तिलाई जागिर दिन सफल भएको बताउँदै उनले भने, ‘वैदेशिक लागानी भित्र्याउने सम्बन्धमा नीति–नियम खुकुलो र लगानी मैत्री भए अझै धेरै पैसा भित्र्याउन सकिन्छ।’

उनले गैरआवासीय नेपालीको लगानी देशभित्र ० दशमलव ३७ प्रतिशत मात्र भएको जानकारी दिँदै भने, ‘सार्क राष्ट्रमा लगानीको हिसाबले नेपालमा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ। त्यसैले धेरै लगानीकर्ता आकर्षित पनि भएका छन्।’

तर, यहाँको कानुनी जटिलताले गर्दा मानिसहरू हत्तपत्त लगानी गर्न हिच्किने गरेको उनको भनाई थियो। ‘लगानीमा सहजता र प्रतिफल सहज रुपमा लान पाउने व्यवस्था भएको खण्डमा नेपालमा वैदेशिक लगानीको बाढी आउन सक्छ,’ उनले भने।

नेपालमा एफडिआईमार्फत ५ करोडभन्दा तल लगानी गर्न नपाइने नियमका कारण त्योभन्दा कम पूँजी लगानी गर्न चाहने व्यक्तिलाई गाह्रो परिरहेको बताए। ‘केही समयअगाडि यस विषयमा सम्बन्धित निकायका पदाधिकारीसँग कुराकानी भएको थियो। उहाँहरू यसलाई १ करोडमा झार्ने गृहकार्यमा काम गरिरहनु भएको रहेछ। यो सम्भव भए थप लगानी भित्रिने छ,’ उनले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित