काँग्रेस महामन्त्री विजयी को हुन् गगन र विश्वप्रकाश ?

काँग्रेस महामन्त्री विजयी को हुन् गगन र विश्वप्रकाश ?
युरोपनेपाली खबर २०७८ पुष १ बिहीबार, 16-12-202


नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन  र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् । 

भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे । 

गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भएपनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाशचाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए । 

गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लडेका महत र पौडेल पराजित बन्न पुगे । 

अन्तिम मतपरिणाम

थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका छन् । खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे । यसैगरी पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे । ४३ मत भने बदर भएको थियो । 

को हुन् गगन थापा ?

कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।

२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।

०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।

संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।

उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।

महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका हुन् । 

को हुन् विश्वप्रकाश शर्मा ?

प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।

२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ ।

उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्छन् । शर्माको व्यक्तित्व बहुआयमिक छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित