देउवासँगमात्र प्रतिस्पर्धा गरिरहेका थिएनौः डा.शेखर कोइराला

देउवासँगमात्र प्रतिस्पर्धा गरिरहेका थिएनौः डा.शेखर कोइराला
युरोपनेपाली खबर २०७८ पुष २ शुक्रबार, 17-12-202

 नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान समयमा सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा नगरेको बताएका छन् । कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशन देउवासँगमात्र प्रतिस्पर्धा नभई पार्टीभित्र रुपान्तरण र परिवर्तनको लडाई भएको टिप्पणी गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै सभापतिमा पराजित कोइरालाले पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृत्ति, गलत संस्कृति र संस्कारको विरुद्ध लडेको पनि बताएका छन् । उनले पार्टीभित्र गुट, भागवण्डा र पार्टीको नाममा अध्यारो कोठामा विधान विपरित हुने निर्णय विरुद्ध भएको पनि स्पष्ट पारेका छन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।’

प्रेस बिज्ञप्ति

प्रिय साथीहरु,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रकृया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।

पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत गणना अगाडि बढ्दै छ । मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएका छौं । पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।

मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।

मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आम नेपाली जनता बीच मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ।

पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । बर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध ।

पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।

पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वास थियो । हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरु विपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधी लगायत कैयन ज्ञात अज्ञात शहिदहरुको प्रेरणा थियो । जसलाई हामीले छातिमा राखेर कांग्रेसमा परिवर्तनको लागि नेपालका गाउँ शहर, हिमाल पहाड र तराई ( मधेश गयौं।

हामी कांग्रेस कार्यकर्ता साथीहरुको घर दैलोमा पुग्यौँ । हामी काठमाण्डौँको आराम जीवन छोडेर जब गाउँ घर पुग्यौँ कांग्रेस हुनुको गौरव र भावना बुझ्यौँ । कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पुर्यााएका छौँ ।

म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरुप्रति जसले अनेकन् प्रतिकुलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो । म आभार प्रकट गर्छु ती तमाम सञ्चारकर्मीहरुप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रकृयामा सकृय भै सहयोग र समर्थन प्रदान गर्नुभयो । सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो एजेन्डा सीमित श्रोत र साधनको कारण आम कांग्रेसजन र प्रवुद्ध नागरिकसँग जोडिन सम्भव थिएन । म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनु भएन दबाव पनि दिनुभयो । निर्वाचन समितिले अनेक प्रतिकुल परिस्थितिको सामना गर्दै लामो प्रकृयामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु ।

अन्त्य,

पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरी कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरी हिमाल, पहाड र तराई ( मधेश आउने नै छौं तपाईहरुको घर दैलोमा

हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु । धन्यवाद ।

जय नेपाल

डा. शेखर कोइराला

२ पौष २०७८

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित