एनआरएनएमा पार्टीको कोही आधिकारिक उम्मेदवार छैन, आफ्नो समस्या आफैं समाधान गर्नुहोस् - काँग्रेस नेता सिटौला

एनआरएनएमा पार्टीको कोही आधिकारिक उम्मेदवार छैन, आफ्नो समस्या आफैं समाधान गर्नुहोस् - काँग्रेस नेता सिटौला
युरोपनेपाली खबर २०७८ पुष २ शुक्रबार, 17-12-202


काँग्रेस नेता कृष्णप्रसाद  सिटौलाले गैरआवासिय नेपाली सङ्घको आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताएका छन् । आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफू मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताए। 

‘तपाईँहरू हाम्रो शुभेच्छुक संस्था पनि होइन, भातृ संस्था पनि होइन’सिटौलाले भने,‘नेताहरूको आ आफ्नै इन्ट्रेस्ट हुनसक्छ, त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन, संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’ 

गैरआवासिय नेपाली सङ्घकी वर्तमान उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रबिना थापाले एनआरएनएलाई स्वतन्त्र संस्थाका रूपमा चल्न दिनु पर्ने बताइन। थापाले राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागि रहेको बताइन।

लगानी नेपालमा ल्याउन आग्रह 

कांग्रेस पूर्वमहामन्त्री सिटौलाले संविधानमा गैरआवासिय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताए। ‘केही कमजोरी होला, तपाईँहरूको केही माग सम्बोधन नभएको होला’, सिटौलाले भने,‘त्यसमा क्रमिक रूपमा सम्बोधन हुँदै जान्छ।’

बाहिर गएर उतैको नागरिकता लिए पनि माया नेपालकै हुने सिटौलाले बताए। ‘उताको नागरिकता लिनु तपाईँहरूको बाध्यता होला’,उनले भने,‘यताको माया स्वाभाविक हो, नेचुरल हो।’

उनले बाहिर बसेर कमाएको पैसा नेपालमै ल्याउन सुझाव दिए। नेपालमा लगानी गर्ने पर्याप्त ढोका खोलिदिएको भन्दै सिटौलाले नेपालबाट विदेश गएर उतैको नागरिकता लिए पनि संविधानले राजनीतिक बाहेक सबै अधिकार दिएको बताए। ‘त्यसकारण लगानी चाहिँ यतै ल्याउनुहोस्’,उनले भने,‘उता कमाउने यता ल्याउने।’ उनले विदेशमा बसेका नेपालीले स्वदेशमा लगानी गरे नेपालको भविष्य राम्रो हुने बताए। 

एनआरएनएको विवाद आफै समाधान गर्नुहोस् 

कांग्रेस नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको चुनावमा पार्टीबाट कोही आधिकारिक उम्मेदवार नभएको बताए। कुनै व्यक्तिको सद्भाव भए पनि त्यसलाई पार्टीको उम्मेदवार भन्न नमिल्ने उनले बताए। उनले एनआरएनए भित्रको विवाद आफै सुल्झाउन सुझाव पनि दिए।

एनआरएनए छुट्टै’ संस्था भएको भन्दै सिटौलाले यसमा सकेसम्म राजनीतिक प्रभाव हुन हुँदैन भन्ने आफ्नो मान्यता रहेको सुनाए। उनले एनआरएनएको विवादमा पार्टीको हस्तक्षेपलाई निमन्त्रणा नगर्न सुझाव पनि दिए।

‘राजनीतिक प्रभाव बढ्दै जान्छ, चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, राप्रपा, साना दल जो कोही’,उनले भने,‘यसले संस्थाको एजेन्डा र गन्तव्यमा कहीँ न कहीँ ठेस लाग्छ।’ 

उनले बाह्य हस्तक्षेप नभित्र्याउन र संस्था भित्रको समस्या आफै समाधान गर्न सुझाव दिए। गैरआवासिय नेपालीलाई चाहिने सुविधा, सहयोग, पोलिसिका लागि नेपालका राजनीतिक दल र सरकारलाई भन्न आग्रह गर्दै सिटौलाले भने,‘तर तपाईँहरूको सङ्गठन निर्माण गर्ने कुरामा को ठिक को बेठिक भन्ने कुरामा दलहरूलाई आग्रह नगर्नुहोस्।’ 

उनले कांग्रेसको जनसम्पर्क समिति भए पनि गैरआवासिय नेपाली सङ्घ कुनै पनि राजनीतिक दलको सङ्गठन नभएको बताए। सङ्घमा सबै राजनीतिक आस्था विचार भएका व्यक्तिहरू हुनुहुन्छ’,सिटौलाले भने,‘यो कुनै दलको शुभेच्छुक र भातृ संस्था होइन।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित