चिलीमा बामपन्थी पुनर्जागरणको भित्री कथा– यसरी राष्ट्रपति बने ३५ वर्षीय युवा बोरिच

चिलीमा बामपन्थी पुनर्जागरणको भित्री कथा– यसरी राष्ट्रपति बने ३५ वर्षीय युवा बोरिच
युरोपनेपाली खबर २०७८ पुष ६ मंगलबार, 21-12-202


दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय वामपन्थी नेता गेब्रियल बोरिच राष्ट्रपति पदमा निर्वाचित भएपछि राजनीतिमा पुस्तान्तरणको आकांक्षा राख्ने संसारभरिका मानिसमा उत्साह छाएको छ । 

बोरिचको यो विजय दक्षिण अमेरिकामा वामपन्थी पुनर्जागरणको शृंखलाको नयाँ कडी समेत हो ।

बोरिचले दक्षिणपन्थी नेता होसे एन्टोनियो कास्टलाई आइतवार भएको दोस्रो चरणको निर्वाचनमा परास्त गरेका हुन् । कास्ट चाहिँ उग्रदक्षिणपन्थी नेता हुन् ।

पहिलो चरणमा कास्टले बोरिचभन्दा बढी मत ल्याएका थिए । तर कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । यसमा बोरिचले ५६ प्रतिशत मत ल्याए भने कास्टको पक्षमा ४४ प्रतिशत मत गयो । 

बोरिच चिलीको आधुनिक इतिहासमा सबभन्दा कम उमेरका राष्ट्रपति हुन् । उनले मार्च महिनामा पदको शपथ लिनेछन् । 

क्रोएसियाबाट बसाइँ सरेर चिली पुगेका पुर्खाका सन्तान बोरिच देशको सुदूर दक्षिण क्षेत्रमा रहेको मागालानेसमा जन्मेका हुन् । बाल्यकाल त्यतै बिताएका बोरिच उच्चमाध्यमिक तहमा नै विद्यार्थी राजनीतिमा सक्रिय भइसकेका थिए । 

सन् २०११ मा चिली विश्वविद्यालयमा कानून अध्ययन गर्दै गर्दा उनी विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए । कार्ल मार्क्स र फ्रेडरिक हेगललाई उनले गहिरोसँग अध्ययन गरेका छन् ।

पढाइ पूरा नगरेका बोरिचले चिलीको विद्यमान शिक्षाप्रणाली गुणस्तरहीन भएको भन्दै निकालिएको विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । उक्त आन्दोलनमा सहभागी धेरै नेताहरूसँगै बोरिच पनि सन् २०१३ मा पहिलोपटक सांसद निर्वाचित भएका थिए । उनी आफ्नो संसदीय क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हुन् ।

विद्यार्थी राजनीति गर्दाखेरी निकै उग्र कुरा गर्ने गरेका बोरिच वामपन्थी आन्दोलनका सुपरिचित अनुहार बनेका थिए । फ्रेन्ते एम्प्लियो भनिने वामपन्थी गठबन्धनमा रहेका केही नेताहरूले उग्रवामपन्थलाई प्रोत्साहन गर्ने गरेको भए पनि बोरिच उनीहरूभन्दा अलग रही पछि गएर मध्यमार्गी दृष्टिकोण अपनाउन थालेका थिए । 

राष्ट्रपति निर्वाचनमा बोरिचले देशमा विद्यमान नवउदारवादी आर्थिक व्यवस्थालाई भुइँमा गाड्ने भनी दमदार भाषण गरेका थिए ।

सन् १९७३ देखि १९९० सम्म सेनाका जनरल अगस्टो पिनोसेले अमेरिकाका (कु)ख्यात नवउदारवादी अर्थशास्त्री मिल्टन फ्रीडम्यान र शिकागो बोइज भनी चिनिने उनका चेलाहरूको सल्लाहलाई शिरोपर गर्दै देशमा जबर्जस्ती नवउदारवाद अपनाएका थिए । वामपन्थी नेता साल्भादोर आयेन्देलाई सत्ताबाट हटाएर अगस्टोले बन्दूकको बलमा मानवअधिकारको चरम उल्लंघन गर्दै लादेको नवउदारवादका कारण चिलीमा आर्थिक विभेदको खाडल झन् झन् गहिरिँदै गएको थियो । 

त्यही आर्थिक विभेदका कारण छाएको सामाजिक अशान्तिको विस्फोट चिलीमा दुई वर्षअघि भएको थियो । कोभिडकालअघि सन् २०१९ मा चिलीमा आर्थिक सुधारको माग गर्दै हिंस्रक आन्दोलन चलेपछि नयाँ संविधान ल्याउने सहमति बनेको थियो । पिनोसेकालको संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउन संविधान सम्मेलन (कन्स्टिच्युसन कन्भेनसन) को निर्वाचन गत मे महिनामा गरिएको थियो । लगत्तै संविधान सम्मेलन गठन गरिएको छ जबकि जनताले पूर्ण अधिकारप्राप्त संविधानसभाको माग गरेका थिए । 

नयाँ संविधान आवश्यक छ कि छैन भन्ने विषयमा सन् २०२० मा गरिएको जनमतसंग्रहमा ७८ प्रतिशत मतदाताले पक्षमा मत दिएका थिए । त्यसपछि विज्ञ र राजनीतिकर्मीहरू सहितको १५५ सदस्यीय संविधान सम्मेलन गठन गरिएको हो ।

नयाँ संविधानको मागलाई स्थापित गर्ने जनआन्दोलन तथा त्यसअघिको विद्यार्थी आन्दोलनमा अग्रपंक्तिमा रहेका बोरिचले अब बन्ने संविधानअन्तर्गत रही देशलाई नयाँ दिशामा डोहोर्‍याउनुपर्ने जिम्मेवारी छ । वामपन्थी गठबन्धनको समर्थन पाएका बोरिचले आफ्नो टीममा मध्यमार्गी सल्लाहकारहरूलाई ल्याएका छन् र देशमा क्रमिक परिवर्तन ल्याइने तथा अर्थतन्त्रलाई जिम्मेवारीपूर्ण ढंगले चलाइने प्रतिज्ञा गरेका छन् । 

अहिले दक्षिण अमेरिकामा वामपन्थीहरूको पुनर्जागरण भइरहेको सन्दर्भमा अमेरिकाले उनीहरूलाई अपदस्थ गराउने पहिलेको जस्तो कारवाही शायद नचलाउला । तर ती देशहरूमा रहेका प्राकृतिक खानीबाट हुने नाफालाई जोगाउन उसले वामपन्थी सरकारका नीतिलाई प्रभावित तुल्याउन कोशिश गर्न सक्छ । 

समाजवादी शैलीमा अतिधनाढ्यहरूसँग कर उठाएर सामाजिक सेवामा खर्च गर्ने अनि आर्थिक असमानताविरुद्ध लड्ने बोरिचको कथन छ । उनले वातावरण संरक्षणमा पनि काम गर्ने बताएका छन् । त्यस्तै थप समावेशी सार्वजनिक स्वास्थ्य प्रणाली अपनाउने, विद्यार्थीहरूको ऋण मिनाहा गर्ने र राज्यले दिने पेन्सनमा सुधार गर्ने एजेन्डा पनि उनले अघि सारेका छन् । 

चिलीमा वामपन्थी नेताको जीतलाई समग्र दक्षिण अमेरिकाको राजनीतिक परिवर्तनको विहंगम परिदृश्यमा राखेर हेर्नुपर्ने हुन्छ । पिंक टाइड भनिने यस लहरले उक्त महादेशमा नवउदारवादबाट वामपन्थी राजनीतितर्फको यात्रालाई इंगित गरेको छ ।

द गार्डियन पत्रिकामा प्रकाशित लरेन्स ब्लेयरको रिपोर्टमा उल्लेख भएअनुसार, चिलीका छिमेकी मुलुक र दक्षिण अमेरिकामा नै वामपन्थी राजनीतिको पुनरागमन भएको छ । ब्राजिलमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले आगामी निर्वाचन जित्ने सम्भावना छ भने कोलम्बियामा पूर्व कम्युनिस्ट गुरिल्ला गुस्ताभो पेत्रोले आगामी मे महिनामा हुने निर्वाचनमा विजय पाउने आकलन गरिएको छ ।

पेरुमा गत जुलाई महिनामा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी शिक्षक पेड्रो कास्टिलो विजयी भएका छन् । उता अर्जेन्टिनामा वामपन्थी नेता अल्बर्टो फर्नान्डेज सन् २०१९ देखि राष्ट्रपति छन् । त्यस्तै होन्डुरसमा वामपन्थी नेत्री सियोमारा कास्ट्रो राष्ट्रपति निर्वाचित भएकी छन् भने बोलिभियामा समाजवादी नेता लुइस आर्से सन् २०२० देखि राष्ट्रपति छन् ।

अमेरिकाले दक्षिण अमेरिकामा वामपन्थीहरूको प्रभावलाई रोक्न शीतयुद्धकालमा र त्यसपछि पनि भरमग्दूर प्रयास गरेको हो । शीतयुद्धको समयमा आफ्नो भूरणनीतिक स्वार्थका लागि अमेरिकाले वामपन्थी सरकारहरूलाई अपदस्थ गर्न भूमिका खेलेको थियो । 

आफ्नो ब्याकयार्डमा कम्युनिस्ट सरकारहरूको खेमा बनेमा सोभियत संघले लाभ उठाउन सक्ने भय अमेरिकालाई थियो ।

अमेरिकाको अपरेसन कोन्डोर अन्तर्गत सन् १९५४ मा ग्वाटेमाला, सन् १९६४ मा ब्राजिल, सन् १९७३ मा चिली र सन् १९७६ मा अर्जेन्टिनामा अमेरिकीसमर्थक शक्तिहरूले वामपन्थी सरकारविरुद्ध कू गरेका थिए । कूपछि शक्तिमा पुगेका दक्षिणपन्थी सैन्य तानाशाहहरूले तत्तत् देशमा मानवअधिकारको चरम उल्लंघन गरेका थिए अनि नवउदारवादी आर्थिक प्रणाली अपनाएर वर्गीय विभेदको खाडललाई गहिरो बनाएका थिए । 

अहिले दक्षिण अमेरिकामा वामपन्थीहरूको पुनर्जागरण भइरहेको सन्दर्भमा अमेरिकाले उनीहरूलाई अपदस्थ गराउने पहिलेको जस्तो कारवाही शायद नचलाउला । तर ती देशहरूमा रहेका प्राकृतिक खानीबाट हुने नाफालाई जोगाउन उसले वामपन्थी सरकारका नीतिलाई प्रभावित तुल्याउन कोशिश गर्न सक्छ । 

चिली र पेरुमा संसारको ६० प्रतिशतभन्दा बढी तामाखानी छ । उनीहरू तामा निर्यात गर्ने प्रमुख दुई मुलुक हुन् । त्यस्तै अर्जेन्टिना, बोलिभिया र चिलीमा संसारको ८० प्रतिशतभन्दा बढी लिथियम छ । लिथियम भनेको जीवाष्म इन्धनबाट चल्ने वाहनहरूलाई विद्युतीय वाहनले विस्थापित गर्नका लागि उपयोग गरिने सर्वाधिक महत्त्वपूर्ण पदार्थ हो । धेरै विद्युतीय सामग्रीहरूमा यसको उपयोग हुन्छ । 

अहिले तामाखानी र लिथियम उत्खनन निजी क्षेत्रले गरिरहेको छ र अकूत नाफा कमाइरहेको छ । वामपन्थी सरकारहरूले खानीहरूलाई राष्ट्रियकरण गराउन चाहेका छन् । खानी भएका देशले गठबन्धन बनाएर यी प्राकृतिक स्रोतहरूको व्यवस्थापन तथा औद्योगिकीकरण गर्दै तिनलाई सरकारको मातहतमा ल्याउन सक्छन् । त्यसमा उनीहरूले सफलता पाएमा त्यसको नाफा राज्यले नै प्राप्त गरी बलियो बन्ने दिशामा योगदान गर्नेछ । त्यसरी बलियो बनेका राज्यहरूको समूहमार्फत दक्षिण अमेरिका बहुध्रुवीय विश्वको एक महत्त्वपूर्ण ध्रुव बन्न सक्छ । त्यसले उक्त महादेशलाई भूराजनीतिक तथा आर्थिक गरिमा प्रदान गर्नेछ ।

सन् १९७३ अघि चिलीमा आयेन्देले तामाखानीलाई राष्ट्रियकरण गरेपछि नै अमेरिकाले पिनोसेलाई कू गर्न उक्साएको इतिहास आयेन्देका नाति सेपुलभेदा आयेन्देले द ग्रे जोन नामक वेबसाइटका बेन नोर्टनसँगको कुराकानीमा खोतलेका छन् । 

अमेरिका र एनाकोन्डा कर्पोरेसनले चिलीको तामाखानीमा नियन्त्रण लिनका लागि उक्त कू गराएका हुन् र त्यसपछि तामाखानीलाई निजीकरण गरिएको थियो । पिनोसेले नयाँ संविधान र नियमावलीहरू ल्याएर निजीकरणमा जोड दिएका थिए । त्यस्तै लिथियम उत्खनन गर्ने कम्पनीमा पनि पिनोसेका ज्वाइँको नियन्त्रण छ ।

अहिले चिलीका वामपन्थी नेता बोरिच राष्ट्रपति निर्वाचित भएको र उनले पिनोसेको नवउदारवादी नीतिलाई अन्त्येष्टि गर्ने भनिरहेको सन्दर्भमा अमेरिकाले त्यसो हुन नदिनका लागि प्रयास गर्न सक्छ । शीतयुद्धकालमा झैं सरकार अपदस्थ नगरे पनि देशमा अशान्ति मच्चाउनका लागि उसले कोशिश गर्न सक्ने सम्भावना छ ।

विन्देश दहाल, लोकान्तर ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित